जीवनको यात्रामा हामी विभिन्न सम्बन्धहरूबाट घेरिएका हुन्छौं । तीमध्ये सबैभन्दा पवित्र, निस्वार्थ र अटल सम्बन्ध हो बा–आमासँगको । उहाँहरूले हामीलाई यो संसारमा ल्याउनुहुन्छ, हुर्काउनुहुन्छ, पढाउनुहुन्छ र जीवनका हरेक मोडमा साथ दिनुहुन्छ । बा-आमाको माया र त्यागको कुनै मोल हुँदैन । उहाँहरू हाम्रो लागि भगवानको रूप हुनुहुन्छ, जसले बिना कुनै स्वार्थ सधैं हाम्रो भलो चिताउनुहुन्छ ।
तर, समयको चक्र घुम्दै जान्छ र एक दिन हामीले उहाँहरूलाई गुमाउनुपर्ने तितो सत्यको सामना गर्नुपर्छ । यो पीडा असैह्य हुन्छ, मनमा गहिरो घाउ बस्छ जुन कहिल्यै निको हुँदैन । जब बा–आमा हुनुहुन्थ्यो, हामीले उहाँहरूको महत्वलाई त्यति बुझेनौं होला । कहिलेकाहीं उहाँहरूको कुरामा ध्यान दिएनौं होला, रिस उठायौं होला वा आफूखुसी गर्यौं होला । तर, जब उहाँहरू सदाका लागि बिदा हुनुभयो, तब मात्र उहा“हरूको अनुपस्थिति महसुस हुन्छ र मनमा पछुतोले घर गर्छ ।
यति बेला पनि मेरा कतिपय समकालिन मित्रहरुले आफ्ना जन्मदिने एवं कर्म दिने भगवानरूपी आमा बुबा गुमाउनु भयो, मित्रहरुले आफ्ना बाआमा गुमाएको असाध्यै दुःख लाग्यो । यो अवस्थाले उहा“हरूलाई कति पीडा भएको होला भन्ने कुराको म सहजै अनुमान लगाउन सक्छु । मैले आफैं पनि बा–आमा दुवै गुमाएर यो पीडा कस्तो हुन्छ भन्ने कुरा भोगिसकेको छु ।
बा–आमाको अभाव र आत्ममूल्याङ्कन
जब बा–आमा साथमा हुनुहुन्न, तब मात्र हामीले उहाँहरूप्रति के गर्याै, कति गर्यौ, गर्न सक्यौं कि सकेनौं भनेर आत्ममूल्याङ्कन गर्न थाल्छौं । यो स्वाभाविक हो । हामीले उहाँहरूलाई पर्याप्त समय दिन सक्यौं कि सकेनौं ? उहाँहरूको कुरा सुन्न सक्यौं कि सकेनौं ? उहाँहरूको इच्छा पूरा गर्न सक्यौं कि सकेनौं ? यस्ता प्रश्नहरूले मनमा घर गर्छन् । उहाँहरू सधैं साथमा रहन पाउनु र कहिलेकाहीं मात्र भेट्ने अवसर पाउनुमा धेरै फरक हुन्छ । तर, जतिसुकै टाढा भए पनि, जब उहा“हरू हुनुहुन्थ्यो, उहाँहरूको आशीर्वाद र साथ सधैं थियो । गुमाएपछि मात्र त्यो अभाव झन् खड्किंदो रहेछ ।
आफन्तजन र साथीहरूले सम्झाउँछन्, ‘यस्तै हो, चित्त बुझाउनुपर्छ ।’ ‘दैवको लीला हो, एक दिन सबैले छोडेर जानैपर्छ ।’ यो कुरा हामीले अरूलाई पनि भनेका हौंला । तर, जब आफूलाई पर्छ, तब मन मान्दैन । आँसु थामिनसक्नु हुन्छ र हृदयमा गहिरो घाउ बस्छ । यो पीडा शब्दमा वर्णन गर्न सकिंदैन । यो यस्तो चोट हो, जुन समयसँगै केही कम भए पनि पूरै निको हुँदैन ।
सम्बन्धको गहिराइ र मायाको शक्ति
बा–आमासँगको सम्बन्ध केवल रगतको सम्बन्ध मात्र होइन, यो एउटा गहिरो भावनात्मक बन्धन हो । उहाँहरूले हामीलाई निस्वार्थ माया दिनुहुन्छ, हामीलाई हरेक दुःखमा साथ दिनुहुन्छ र हाम्रो खुसीमा खुसी हुनुहुन्छ । उहाँहरू हाम्रो पहिलो शिक्षक, पहिलो साथी र पहिलो मार्गदर्शक हुनुहुन्छ । उहाँहरूको उपस्थिति मात्रले पनि हामीलाई सुरक्षित र पूर्ण महसुस गराउँछ ।
जब उहाँहरू हुनुहुन्न, तब संसार नै रित्तो लाग्छ । आमा भएको घरमा सबै थोक भएजस्तो लाग्छ । टाढा भए पनि चुम्बकलेझैं चुम्बकीय शक्तिले तानेजस्तै लाग्छ । आमा नभएको घर जति मान्छे भए पनि रित्तो हुने रहेछ । खुसीका क्षणमा वा दुःखमा, उहाँहरूको अभाव झन् बढी खड्किन्छ । उहाँहरूको न्यानो स्पर्श, मीठो बोली र अमूल्य सल्लाहहरू हामीले सधैंका लागि गुमाएका हुन्छौं । यो अभावले जीवनमा एउटा ठूलो रिक्तता सिर्जना गर्छ जुन अरू कसैले भर्न सक्दैन ।
पीडा व्यवस्थापन र अगाडि बढ्ने प्रयास
यस्तो पीडाबाट मुक्त हुन सजिलो छैन । यो समय लाग्ने प्रक्रिया हो । यसमा आफूलाई दुःखी हुन दिनु र आफ्ना भावनाहरू व्यक्त गर्नु महत्वपूर्ण हुन्छ । रोएर वा कसैसँग कुरा गरेर मन हल्का गर्न सकिन्छ । आफ्ना बा–आमाका राम्रा सम्झनाहरूलाई सङ्गालेर राखौं । उहाँहरूले दिएका मूल्यमान्यताहरूलाई जीवनमा उतार्ने प्रयास गरौं ।
उहाँहरूको अभावलाई शक्तिमा बदल्ने प्रयास गर्नु पर्छ । उहाँहरूले हामीलाई सधैं खुसी र सफल भएको हेर्न चाहनुहुन्थ्यो । त्यसैले, उहाँहरूको सपना पूरा गर्न र उहाँहरूलाई गर्व महसुस गराउनका लागि हामीले आफ्नो जीवनलाई अगाडि बढाउनुपर्छ ।
यो सत्य हो कि बा–आमालाई गुमाएपछि मनमा सधैं उहाँहरूको सम्झना रहिरहन्छ । उहाँहरूको माया र आशीर्वाद सधैं हामीसँग हुन्छ, अदृश्य रूपमा भए पनि । उहाँहरूले हामीलाई दिएका शिक्षा र संस्कारहरू हाम्रो जीवनको आधारशिला हुन् । उहाँहरूको अनुपस्थितिमा पनि, उहाँहरूले हामीलाई सिकाएका कुराहरूले हामीलाई मार्गनिर्देशन गरिरहन्छन् ।
गएका महिना र यो महिनामा आमा–बा गुमाउनुहुने मेरा बन्धुहरू एवं साथीसंगीलाई यो दुःखको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् । र, यो पीडाबाट बाहिर निस्कन र जीवनलाई अगाडि बढाउन सक्नुहोस् भन्ने कामना गर्दछु । बा–आमाको भौतिक उपस्थिति नभए पनि, उहाँहरू हाम्रो मनमा, हाम्रो हरेक सास फेराइमा, र हाम्रो हरेक खुसी र दुःखमा सधैं जीवित रहनुहुनेछ । हजुरहरूको आत्माले शान्ति पाओस् ।
View : 178
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved