Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कानुन मिच्न झन् अग्रसर बन्दै ग्रामथानका अध्यक्ष माझी

अध्यक्षमा निर्वाचित भएलगत्तै एकपछि अर्को विवादमा मुछिएका अध्यक्ष माझीले अहिलेसम्म पनि कार्यपालिका बैठक सौहार्दपूर्ण रुपमा बसाउन सकेका छैनन् । माझीले बिहीबार बोलाएको गाउँसभाको अधिवेशन कानुन विपरीत भएको भन्दै प्रश्न उठाएपछि स्थगित गर्न बाध्य बनेका हुन् ।
उद्‌घोष सम्वाददाता
१५ चैत २०८१, शुक्रवार

बिहीबार आयोजित ग्रामथान गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशनमा अध्यक्ष माझीलाई कानुन सम्झाउँदै अन्य जनप्रतिनिधीहरु ।

विराटनगर । कार्यपालिका बैठक समेत बसाउन नसकेका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कानुन विपरीत गाउँसभा बोलाएका कारण विरोध भएपछि आफैंले बैठक स्थगित गरेका छन् । 

निर्वाचित भएलगत्तै एकपछि अर्को विवादमा मुछिएका अध्यक्ष माझीले अहिलेसम्म पनि कार्यपालिका बैठक सौहार्दपूर्ण रुपमा बसाउन सकेका छैनन् । माझीले बिहीबार बोलाएको गाउँसभाको १६ औं अधिवेशन कानुन विपरीत भएको भन्दै सभाका सदस्यहरूले प्रश्न उठाएपछि स्थगित गर्न बाध्य बनेका हुन् ।

माझीले कार्यपालिका बैठकमार्फत गाउँ सभाको अधिवेशनमा प्रस्तुत गर्ने साझा प्रस्ताव ल्याउनु पर्नेमा कुनैपनि छलफल नगरी प्रमुख प्रशासकीय अधिकृतमार्फत प्रस्तुत गरेपछि गाउँपालिकाका सदस्यहरूले विरोध जनाएका थिए । सदस्यहरूले ‘कार्यपालिका बैठकमा छलफल नगरी प्रस्ताव ल्याउने हो भने कार्यपालिकाको औचित्य के रह्यो ? किन बस्नु पर्यो ?’ भन्दै प्रश्न गरेका थिए । 

अध्यक्ष माझीको निर्देशनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार भण्डारीले गाउँपालिकाको बार्षिक आयव्यय प्रस्तुत गरेपछि गाउँसभाका सदस्यहरूले विरोध जनाए । त्यसपछि बैठक झन् असहज बनेको थियो ।

‘प्रमुख प्रशासकीयले बजेट र आयव्यय प्रस्तुत गर्ने हो कि उपाध्यक्षले गर्ने हो ?’ गाउँसभाका एक सदस्यले भने, ‘अवैधानिक तरिकाले गाउँसभा सञ्चालन भएका कारण स्थगित गरेर फेरि बैधानिक तरिकाले आउनु पर्छ । जबसम्म बैधानिक रुपमा प्रस्ताव आउँदैन तबसम्म स्थगित हुनुपर्छ ।’

गाउँसभा बैठकमा अध्यक्ष माझीले आचारसंहिताका नाममा सदस्यहरूलाई बोल्न निरुत्साहित गर्ने प्रयास गरेपनि उनी सफल भएनन् । 

अधिवेशन नै अवैधानिक रुपमा सञ्चालन गरेका कारण उनी पछि हट्न बाध्य बने ।

अध्यक्ष माझीले अरुलाई मात्रै कानुन र सिस्टम सिकाउने गरेको भन्दै कार्यपालिकाका एक सदस्यले आलोचना गरेका थिए । यसअघि कार्यापालिकाको बैठकको निर्णय बिनै अध्यक्ष माझीले माओवादी कार्यकर्ताहरू समेत परिचालन गरेर उपाध्यक्ष गुणावती धामीले चढ्दै आएको गाडी र वडाध्यक्षहरूले प्रयोग गर्ने मोटरसाइकल जबरजस्ती खोसेका थिए । त्यसको कानुनी प्रक्रियाबारे गाउँसभामा प्रश्न उठेपछि अध्यक्ष माझी नाजवाफ बनेका थिए ।

आलोचना चर्किएपछि अध्यक्ष माझीले बैठक स्थगनको माग पनि गर्ने तर बोल्न पनि नछाड्ने ? भन्दै गाउँसभाका सदस्यहरूलाई बैठक स्थगित गर्न उत्तेजित पारेका थिए । माझी आफैंले गाउँसभाका सदस्यहरूलाई आफ्नो आसनबाट उठेर बैठक स्थगितको माग गर्न आग्रह गरेका थिए । 

स्थगित नभएको बैठकमा गाउँसभाका सदस्यले बोल्न पाउनुपर्ने अडान राखेका थिए । त्यसपछि अध्यक्ष माझी आफैंले ‘तपाईँहरुले माग गर्नुपर्‍यो नि त’ भनेर बैठक स्थगित गर्ने माहौल बनाए । 

‘तपाईँहरू नै सार्वभौम सम्पन्न हुनुहुन्छ, ल ल सबैजना उठ्नुस् त ल, स्थगन गर्नुहुन्छ भने सवै उठिदिनुस्’ अध्यक्ष माझीले भनेका थिए । त्यसपछि कानुन विपरीत गाउँसभाको अधिवेशन भएको भन्दै सदस्यहरूले ‘ल अब हेर्नुहोस्’ भन्दै उठेर बहुमत रहेको जनाउ दिएका थिए । अध्यक्ष माझी ‘आजको सभा बहुमतद्वारा स्थगन हुन्छ ल’ भन्दै सभाहलबाट बाहिरिए ।

View : 218

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved