Biratnagar, Morang, Nepal
१ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

आन्दोलनकारी सडकमा, प्रधानमन्त्री पनि सडकमै

उद्‌घोष सम्वाददाता
३१ चैत २०८१, आइतवार

विराटनगर । १० दिनभन्दा लामो समयदेखि शिक्षकहरु सडकमा छन् ।  सहकारी पीडितहरु राजधानीसहित देशैभरी आन्दोलनमा छन् । तिनको आन्दोलन गन्तव्य पनि सडक नै हो ।

मिटरब्याज पीडित हुन् वा द्वन्द्वपीडित लामो समययता सडकमै छन् । पछिल्लो समय राजावादीहरुले रोजेको गन्तव्य पनि सडक नै भएको छ । विपक्षमा रहेका दलहरु त सदा सडकमै छन् ।

यसरी धेरै समूहले आन्दोलन गरेर सडक तताइरहदा प्रधानमन्त्रीकै दल नेकपा एमाले पनि सडकमै ओर्लेको छ ।  

शुक्रबार वुटवलमा शक्ति प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमै उपस्थित गराएको एमालेले शनिबार झापाको दमकमा पनि जनजागरण सभा गरेर प्रधानमन्त्रीलाई उपस्थित गराएको छ । 

गणतन्त्रका पक्षमा जनजागरण अभियान चलाएको भन्दै एमालेले देशका विभिन्न ठाउँमा यस्तै सभाहरु गर्दैछ । 

व्यवस्थाका पक्षमा भन्दै प्रधानमन्त्री र उनको दल आफै सडकमा आएका बेला गृहनगर दमकमा ओलीले ‘सडकछाप’ हरू भन्दै उनीहरूको तीखो आलोचना गरेका छन् । 

झापा, मोरङ, इलामसहितका जिल्लाबाट आएका कार्यकर्ता र समर्थकको बाक्लो उपस्थितिमाझ प्रधानमन्त्रीले राजावादीहरुलाई सडकछाप भन्दै लल्कारे ।

आफूलाई विगतमा सत्ताच्युत गराउन आफ्नै दलका (माधव नेपालहरु) लागेको रोष दोहोर्‍याए । अनि, सधैं झैं उनले आफनो कार्यकालमा  देशमा विकासको मुल फुटेको दाबी गरे, मुलुक प्रगतिपथमा लम्किरहेको ठोकुवा गरे । 

उनले दमकमा पनि तिनै दाबीहरु अघि सारे, जुन उनले अघिल्लो दिन बुटवलमा भनेका थिए । विगतमा आफैले टपक्क टिपेर पार्टीको केन्द्रमा पुर्‍याएका दुर्गा प्रसाईंको आलोचना गर्न पनि उनले भुलेनन् । 

यसरी  ओलीकै शब्दमा ‘सडकछाप’ हरुलाई जवाफ दिन सडकमै दौडधुप गरिरहेका प्रधानमन्त्रीको यस्तो व्यस्तता कति फलदायी होला ? राजनीतिशास्त्रका अध्येताहरु हुन् वा विपक्षी दल नै किन नहुन्, उनीहरुले प्रधानमन्त्री र उनको दल यतिबेला सडकमा उत्रेको घटनालाई निको मानेका छैनन् ।

झापाको अर्जुनधाराका शिक्षक पुण्य सुवेदी दलीय रुपले मात्रै होइन, दलभित्रको गुटको हिसाबले पनि प्रधानमन्त्री ओली पक्षका व्यक्ति हुन् ।

ओलीले विगतमा प्रतिनिधि सभा विघटन गर्दा पनि उनी ओलीको कदमको पक्षमा लेख लेख्नेदेखि सामाजिक सञ्जालमा ओलीविरोधीहरुसंग भिड्ने काम गरेका कार्यकर्ता पनि हुन् ।

तर, अहिले शिक्षक आन्दोलनमा रहेका उनी ओलीको सबैभन्दा ठूलो आलोचक जसरी सार्वजनिक रुपमा पेश भइरहेका छन् ।

केहीदिन अघि अर्घाखाँची पुगेर प्रधानमन्त्रीले पाणिनी ऋषि  त्यही जन्मेको हावादारी गफ दिएका थिए ।

लगत्तै ओलीका पुराना झापाली कार्यकर्ता सुवेदीले सार्वजनिक रुपमै लेखे ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, कतिचोटि हेलिकप्टर चढ्दा तपाईको घुम्ने रहर पूरा हुन्छ ?

पाणिनी पाकिस्तानमा हैन अर्घाखाचीमै जन्मेका हुन्, मान्दिउँला । भगवान श्रीराम भारतको अयोध्यामा हैन चितवनको ठोरीमै जन्मेका हुन् त्यो पनि मान्दिउँला ।

तर, सम्माननीयज्यू, शिक्षा ऐन माग्दै सडकमा दिनदिनै प्रदर्शन गरिरहेका शिक्षकहरू, सहकारीमा डुबेको बचत फिर्ताको माग गरेर प्रदर्शन गरिरहेका सहकारी पीडितहरूको मुद्दा सम्बोधन गर्ने दायित्व तपाईकै हो भनेर मान्नुहुन्छ कि हुन्न ?

प्रधानमन्त्रीको बाल मतलब स्टाइलले देश हैरान –हैरान भैसक्यो  भन्दै उनले एमालेका दोस्रो तहका नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवालीहरुलाई विष्णु रिमालको अवरोध छिचोलेर प्रधानमन्त्री भेट्न र आँखाको माथिल्लो ढकनी उघारै राखेर प्रधानमन्त्रीलाई कर्तव्य सम्झाइदिन आग्रह गरेका छन् ।

आफ्नै जिल्लावासी पुराना कार्यकर्ता आजित भैसकेको गरी अभिव्यक्ति दिने तहमा कसरी पुगे ? के यो ओलीसित बढेको आक्रोशको परिणाम हो ?

ओली व्यक्तिसँग भन्दा पनि प्रधानमन्त्रीसंग सबैको आशा हुन्छ, भरोसा हुन्छ । तर, प्रधानमन्त्री ओलीले कसको भरोसा पूरा गर्ने गरी काम गरिरहेका छन् ?, झापाकै एमाले कार्यकर्ता दीपक सिग्देल भन्छन्, ‘देशमा एक हिसाबले आगो बलेको अवस्था छ । 

यस्तो बेलामा डेलिभरी दिने, केही परिवर्तन गर्ने गरी अगाडि बढ्नु पर्ने प्रधानमन्त्री आफै मेची महाकाली भाषण गर्दै हिडिरहेका छन् । 

अनि शिक्षकलाई गाली गर्यो, पेशाकर्मी, बौद्धिक, विपक्षी सबैलाई तीखो वचन गर्यो, काम केही नगर्यो । यसो गरेपछि जसलाई पनि झ्वाँक चल्छ । अहिले देशलाई झ्वाँक चलाउने काम प्रधानमन्त्रीले गरिरहेका छन् ।

मोरङ एमालेकै एक जना पदाधिकारी पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको शैलीसँग दिक्क छन् । केही अघि सम्पन्न जिल्ला अधिवेशनमा ओली समूहको घेराबन्दी तोडेर चुनाव जितेका ती पदाधिकारी पनि प्रधानमन्त्रीले राजकीय काम छाडेर सडक तताउँदै हिंड्न नमिल्ने बताउँछन् । तर, उनलाई  भन्ने साहस कसको, उनी भन्छन्  सरकारको नेतृत्व गरेको दलले ड्याङका ड्याङ काम गर्ने हो । 

प्रधानमन्त्रीले अगुवाई गर्ने हो । यस्ता सभाहरुमा अरु नेता दौडेर प्रधानमन्त्री आफ्नै काममा केन्द्रित हुनु राम्रो हो ।

आफ्नै दलको तल्लो तहसमेत सन्तुष्ट नहुने गरी देश दौडाहामा रहेका प्रधानमन्त्रीले मुलुकका ज्वलन्त समस्याहरुलाई कम ठानिरहेकोे आरोप विपक्षीहरुले लगाइरहेका छन् । 

माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बो प्रधानमन्त्रीले अहिले देखाइरहेको रवैयाले समस्या झनै बढाउने बताउँछन् । दुई तिहाइको वर्तमान सरकारको असफलताले जनता निराश छन् । 

सडकमा आन्दोलन नै आन्दोलन छ, प्रतिगामीहरु सलबलाइरहेका छन्, उनले भने ‘प्रधानमन्त्रीले  आफ्नो तागत र सामाथ्र्य सडकमा होइन सत्ता सञ्चालनमा देखाउनु पर्छ, जनतालाई बिकाश र सेवा प्रवाहमार्फत सन्तुष्ट पार्नु पर्नेमा उनी नै सडकमा ओर्लनु टाउको दुखेको ओखती नाइटोमा लगाउनु जस्तै भयो ।

अर्को विपक्षी दल एकीकृत समाजवादीका नेताहरु पनि प्रधानमन्त्री ओली प्राथमिकताहीन बनेको बताउँछन् ।

‘प्रधानमन्त्रीले सडक कब्जा गर्दै हिड्ने होइन, सिंहदरबारमा बसेर देश हाक्ने हो, एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य अशेष घिमिरे भन्छन् सडकमा उठेका असन्तोषका आवाज किन उठे ? तिनको समाधान कसरी गर्ने उपाय खोज्ने हो ।

तर, प्रधानमन्त्री ओली आफ्नो प्राथमिकता भुलेर जनसभा र शक्ति प्रदर्शन गर्दै हिडिरहेका छन् । असन्तुष्टिको आगोमा झन घिउ थप्ने काम गरिरहेका छन् । उनले हिंडेको यो बाटो बिल्कुल उल्टो छ ।

एमाले र विपक्षसँगै सत्ता साझेदार दल कांग्रेस पनि प्रधानमन्त्रीसग दिक्क सुनिन थालेको छ । 

शुक्रबार कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीले सडकमा भन्दा सरकारमा ध्यान दिनुपर्ने बताएका थिए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि शनिबार उस्तै अभिव्यक्ति दोहोर्‍याएका छन् ।

‘प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यानकेन्द्रित गर्न जरुरी छ,’ उनले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपथ्र्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नु भो ।’

View : 93

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved