Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराट गोल्डकप आजदेखि

फ्लडलाइटको उज्यालोमा चम्किनेछ फुटबल माहोल

उद्‌घोष सम्वाददाता
१९ फागुन २०८१, सोमवार

विराटनगर । ढल्किदो साँझमा विराटनगरस्थित सहिद रंगशाला फ्लडलाइटको उज्यालोमा चहकिलो बनेको हुनेछ । फुटबलप्रेमी दर्शकको उपस्थितिमा जब मैदानमा रेफ्रीले ‘किक अफ’ को संकेत दिने सिटी फुक्नेछन्, सोमबार साँझ विराट गोल्डकप फुटबलको नवौं संस्करण औपचारिक रूपमा थालनी हुनेछ ।

‘विराटनगरको साथ फुटवलको विकास’ भन्ने मूल नारासहित सोमबारबाट सुरू हुन लागेको गोल्डकपले मोफसलको फुटबल गतिविधिलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा आयोजक समितिले लिएको छ । 

संयोजक नवीन रिजालका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । उद्घाटन खेलमा घेरेलु टोली रिजालको फुटबल एकेडेमी मोरङ  र पाहुना टोली भारत कोलकाता र रिजालको टिम प्रतिष्पर्धामा उत्रदैछन् । 

विराट गोल्डकपको सुरूआत विक्रम सम्वत् २०१८ सालमै भएको थियो । तत्कालीन राजा महेन्द्रकै नाममा ‘श्री ५ महेन्द्र गोल्डकप’ का नाममा सुरू भएको प्रतियोगिता लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा विराट गोल्डकपमा रूपान्तरण भएको हो । 

सुरूआतको ३९ वर्षसम्म नियमित रहेको प्रतियोगिता द्वन्द्वकालमा भने ११ वर्ष आयोजना हुनै सकेन । २०५७ सालदेखि रोकिएको प्रतियोगिता २०६८ साल पुनः ब्यूँतियो । २०७० मा हुन नसकेको प्रतियोगिता २०७१ बाट पुनः सुरू भयो । 

२०७४ मा पहिलोपटक फ्लडलाइटमा फुटबल प्रतियोगिता सुरू भएपछि भने विराट गोल्डकपको कायाकल्प भएको मान्नेहरू धेरै छन् ।

त्यसबेलासम्म काठमाडौंको  दशरथ रंगशालामा मात्रै सम्भव हुँदै आएको रात्रीकालीन फुटबलको २०७४ मा विराटनगरले आयोजना गरेर नयाँ सम्भावना देखाएको थियो । 

अरूबेला सिला खोजेको झैं भन्न मिल्ने दर्शक सहभागितामा हुने विराटनगरको फुटबलमा २०७४ को रात्रीकालीन विराट गोल्डकपले नयाँ आशा सञ्चारित गरेको थियो । व्यवस्थापन गर्नसमेत हम्मे पर्ने दर्शकको उपस्थितिले मोफसलको फुटबललाई नयाँ उचाइ दिएको थियो ।

यसरी हजारौं दर्शकलाई रंगशालासम्म डो¥याउन सफल मानिएको विराट गोल्डकप रात्रीकालीन फुटबल सोमबारबाट फेरि सुरू हुँदैछ । अबको एक साता विराटनगरको रात्रीकालीन माहोल फुटबलमय बन्ने आशा यहाँका फुटबलकर्मीको छ । 

जाडोमा ज्यादै जाडो र गर्मीमा उस्तै हपहपी विराटनगर जस्तो सुदूर दक्षिण–पूर्वी शहरको मौसमी विशेषता हो । अझ उद्योगन्दाको भीड, यातायातका साधन र मानव आवादीको सघन उपस्थितिले गर्मी  महिनामा विराटनगर खपिनसक्नुगरी तातिन्छ । 

यस्तो उखुमै गर्मी हुने ठाउँमा गर्मी यामको चर्को घाममा हुने फुटबलले खेलाडी र दर्शक दुवैलाई सताउँथ्यो । तर, रात्रीकालीन फुटबलले विराटनगरको फुटबल इतिहासलाई नयाँ दिशा दिएको थियो ।

साँझमा हुने प्रतियोगिताले दर्शकलाई सबैभन्दा सजिलो हुने गरेको अनुभव विगतले पस्केको छ । ‘वर्किङ आवरमा फुटबल प्रतियोगिता आयोजना हुँदा दर्शक सहभागिता ज्यादै कम हुने दृष्टान्त पहिले  प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो’,  गोल्डकप संयोजक रिजालको भनाइ छ ‘तर, राति आयोजना गर्दा  सामान्य रूची भएका दर्शक पनि मैदानसम्म आउने रहेछन् । 

अधिक दर्शकको सहभागिताले खेलाडी, आयोजक र खेल पर्यटनमा ठूलो टेवा पुग्नेरहेछ । यसपटक पनि दर्शकको त्यस्तै साथ र सहयोग अपेक्षा गरेका छौं ।’ गोल्डकपको नवौं संस्करणमा  भारतका दुई वटासहित जम्मा १० टोलीले खेल्ने छन् ।

प्रतियोगितालाई सफल बनाउन सामाजिक सञ्जालमार्फत भव्य प्रचार–प्रसार गरिएको प्रतियोगिताका संयोजक नवीन रिजालले बताए ।

त्यसैगरी विराटनगर आसपासका क्षेत्रहरूमा सिटी रिक्सामार्फत प्रचार प्रसार तीव्र पारिएको उनले बताए । विराटनगरका १८ स्थानमा एल आकारको गेट, ६ वटा होर्डिङ बोर्डसमेत लगाइएको उनले बताए । 

गोल्डकपकै प्रचार र प्रवद्र्धन गर्न विराटनगरका १० वटा विद्यालय कलेजहरूमा कार्यक्रम सम्पन्न भएको बताए ।

संयोजक रिजालले सरकारी तहबाट कमै सहयोग प्राप्त भए पनि विराटनगरको महत्वपूर्ण खेल उत्सवका रूपमा विराट गोल्डकपलाई अघि बढाइएको बताए । 

उनले विभिन्न ठाउँमा पार्टीका नेताहरूकै नाममा खेलकुद प्रतियोगिता आयोजना हुने गरे पनि विराट गोल्डकपका लागि सरकारबाट पर्याप्त सहयोग हुन नसकेको गुनासो गरे ।

प्रतियोगिता सम्पन्न गर्न कोशी प्रदेश सरकारले ६ लाख रूपैयाँ र विराटनगर महानगरपालिकाले १५ लाख रूपैयाँ प्रदान गरेको जनाइएको छ । 

रात्रिकालिन गोल्डकप प्रतियोगिताको मुख्य सहयोगीका रूपमा रमपम तयारी चाउचाउ रहेको छ । प्रतियोगिताका लागि १ करोड ३५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरेर तयारी अघि बढाइएको संयोजक रिजालले बताए । हालसम्म एक करोड रूपैयाँको स्रोत सुनिश्चित भएको जानकारी दिंदै उनले बाँकी रकमका बारेमा भने अन्योल कायमै रहेको बताए ।

प्रतियोगिताका सवै खेल फ्लडलाइटमा खेलाइने जनाइएको छ ।

विजेता टोलीले नगद ११ लाखसहित पदक र ट्रफी प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख पाउने छन् । उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १५ हजार, सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई नगद ५१ हजार रूपैयाँ पुरस्कार दिइने जनाइएको छ ।

प्रतियोगितालाई भव्य बनाउन हरेक दिन चर्चित कलाकारले साँस्कृतिक प्रस्तुति दिनेछन् ।

View : 189

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved