Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

पहिचानका पक्षमा शेखरले दोहोर्‍याए प्रतिबद्धता

उद्‌घोष सम्वाददाता
१८ जेठ २०८२, आइतवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पहिचानको पक्षमै रहेको बताएका छन् । यसअघि पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । यद्यपि उनको दल कांग्रेसले नामकरणका बेला भने कोशीको पक्षमा मतदान गरेको थियो । 

कोशी नामकरण भएयता प्रदेशमा सानो–ठूलो आकारमा यसकाविरूद्ध आन्दोलन चलिरहेको छ । आफूलाई पहिचानवादी बताउने समूहले कोशी प्रदेश र संघीय राजधानी काठमाडौंमा पनि आन्दोलन गरिरहेका छन् ।

यहीबेला खोटाङ पुगेर कांग्रेस नेता कोइरालाले आफू पहिचान पक्षधर नै नभएको दाबी दोहोर्‍याएका छन् ।

‘पहिचान, पहुंच र प्रतिनिधित्वको लडाइँमा म सधैँ किरात समुदायसँगै रहेको छु, उभिएको छु’, तुवाचुङ् जायजुम संरक्षण समितिले किरातहरूको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको तुवाचुङ दिवसको शनिबार उद्घाटन गर्दै कोइरालाले भने ‘कांग्रेसले सधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गरेको छ । त्यही गर्नेछ ।’

संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत उनले सुनाए । 

उनले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्न सक्दो पहल गर्ने समेत बताएका थिए । 

यसअघि कोशी प्रदेशमा आफ्ना विश्वासपात्र केदार कार्की मुख्यमन्त्री रहेका बेला नेता कोइरालाले कोशीका पहिचानवादी आन्दोलनका एक दर्जन अगुवा नेताहरूलाई विराटनगरस्थित निवासमै डाकेर लामो छलफल गरेका थिए । 

त्यसबेला उनले आन्दोलन छाडेर वार्तामा आउन उनीहरूलाई आग्रह गरेका थिए । यद्यपि कार्की मुख्यमन्त्रीबाट हटेर एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेपछि भने पहिचानवादी आन्दोलनकारीसँगको वार्ता प्रक्रिया अवरूद्ध छ ।

View : 185

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved