Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशस्तरीय गणतन्त्र दिवसको तयारी :

बिहान नेताहरूबीच अन्तरक्रिया, दिउँसो राष्ट्रिय गीतहरूको ‘कन्सर्ट’

उद्‌घोष सम्वाददाता
१३ जेठ २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा अन्तरक्रियादेखि कन्सर्टसम्मका कार्यक्रम तय गरेको छ। मुख्यमन्त्री हिकमत कुमार कार्कीको अध्यक्षतामा गठित गणतन्त्र दिवस मूल समारोह समितिले बुधबार बिहान राजनीतिक पार्टीका नेताहरूको उपस्थितिमा विशेष अन्तरक्रिया कार्यक्रम र बिहीबार दिउँसो विराटनगरस्थित महेन्द्र चोकमा राष्ट्रिय भावनाले ओतप्रोत गीत–संगीतयुक्त कन्सर्ट आयोजना गर्ने भएको हो ।

बुधबार बिहान ११ बजेदेखि ‘संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम गरिने जनाइएको छ ।

उक्त अन्तरक्रियामा संविधानसभाका पूर्व सदस्य एवं एमाले नेता प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ। उक्त कार्यपत्रमा कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल र माओवादी नेता तथा संविधानसभा सदस्य हरिबोल गजुरेलले टिप्पणी गर्ने जनाइएको छ ।

उनीहरूले संविधानसभाको अनुभव, गणतन्त्र स्थापनाको यात्रा, वर्तमान राजनीतिक परिदृश्य र संघीयताले ल्याएका अवसर–चुनौतीहरूबारे आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।

यसैगरी, गणतन्त्र दिवसकै अवसरमा बिहीबार विराटनगरको महेन्द्र चोकमा ‘राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत–संगीतहरूको कन्सर्ट’ आयोजना गरिने भएको छ ।

दिउँसो ३ बजेदेखि सुरु हुने कन्सर्टमा गायिका रचना रिमालसहित अञ्जु गौतम, गंगा गौतम, सृष्टि हिङ्माङ, सुमित खड्का लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने जनाइएको छ । उनीहरूले देशभक्तिपूर्ण गीत–संगीत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा नेपाल प्रहरी ब्याण्ड तथा गरिमा डान्स सेन्टर, धरानतर्फबाट थप सांस्कृतिक प्रस्तुतिहरू पनि रहने जनाइएको छ ।

गणतन्त्र दिवस २०८२ मूल समारोह समिति, कोशी प्रदेशको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको सह–आयोजनामा कन्सर्ट हुने भएको हो ।

राष्ट्रिय भावना समेटिएका गीत–संगीत र नृत्यका माध्यमबाट नागरिकमा गणतन्त्रप्रतिको सम्मान, राष्ट्रिय एकता र देशप्रेमको भावना थप जागृत गराउने उद्देश्य रहेको छ ।

प्रदेश सरकारले युवा पुस्तालाई देशको समृद्ध भविष्य निर्माणमा प्रेरित गर्ने उद्देश्यसहित पहिलो पटक सांगीतिक कार्यक्रममार्फत गणतन्त्र दिवस मनाउन लागेको हो ।

View : 387

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved