सन्दर्भ : वीरेन्द्रको ८० औं जन्मोत्सव
दिवङ्गत राजा वीरेन्द्रलाई विकासप्रेमी राजाको रुपमा ब्याख्या गर्ने गरिएको छ । हुन पनि उनले युवराज हुँदादेखि नै मुलुकको विकासबारे चासो र चिन्ता राख्ने गरेको कुरा देशका कुनाकाप्चामा उनले गरेका छद्मभेषी भ्रमणबाट पनि ज्ञात हुन आउँदछ ।
२०२३–२४ सालतिर उनको पूर्वी नेपालको पैदल भ्रमण उक्त समयमा खुबै चर्चाको विषय रह्यो । केही सेनाको साथमा कसैले नचिन्ने गरी सामान्य नागरिकको भेषमा उनी पूर्वी तराईको बाटो हुँदै चतरा भएर भोजपुरतर्फको पैदल याक्राको त्रममा उनी अरुण र तमोरको संगम त्रिवेणी पुगे ।
त्रिवेणी जाने त्रममा त्यहाँको परिस्थिति बुझ्न तमोरको पूल तर्नका लागि आफूसँग पैसा छैन, के गर्ने भनी पैसा उठाउने मानिसलाई सोधे । पैसा छैन भनेपछि पूलको कर उठाउने ठेक्का पाएका सोझा त्रिवेणी निवासी मझिनीका मानिसले पूल पार गरे बापत एक ठाउँबाट एउटा दाउराको एउटा मुढा अर्को ठाउँमा ओसार्न लगाए । उनले यो काम खुशीसाथ गरे । केही समयपछि यो घटना डडेलो झै सबैतिर फैलियो र खुबै चर्चामा रह्यो । जब दाउरा बोक्ने मानिस देशको युवराज भनी थाहा पाए ।
राजा भएपछि वीरेन्द्र्रले पछि मझिनीलाई तमोर तथा अरुण नदीको अक्कर भीरको जोखिमपूर्ण कष्टकर पैदल यात्रामार्गलाई सहज बनाउन पुलबाट आएको आम्दानी उपयोग गर्ने गरेको र उक्त क्षेत्रमा गरेको अन्य योगदानका लागि गोरखा दक्षिण बाहु तृतीयबाट सम्मानित गरेका थिए ।
२०२८ सालमा तत्कालीन राजा महेन्द्रको देहावशान पश्चात् राजगद्दी आरोहण गरेका राजा वीरेन्द्रको मुलुकको सबै क्षेत्रमा समान रुपले सर्वपक्षीय विकास हेर्ने चाहना बढ्दो देखिएको उनको काम कार्यबाहीबाट प्रष्ट झल्कन्थ्यो । उनले केन्द्रीकृत प्रशासनलाई विकेन्द्रीकृत गरी देशभर समानुपातिक विकासको अवधारणा ल्याएर मुलुकलाई भूगोलको आधारमा पाँच विकास क्षेत्र, चौध अञ्चल र पचहत्तर जिल्लामा विभाजन गरी क्षेत्रगत रुपमा जनतालाई प्रशासनिक सर्वसुलभता प्रदान गर्ने प्रयाश गरेका थिए ।
मुलुकको यथार्थ अवस्थाबारे जानकारी प्राप्त गर्न उनले राज्यारोहण गरेपछि देशका पाँचै विकास क्षेत्रका जिल्लाहरुको भ्रमण गर्ने सिलसिला शुरु गरे । यस क्रममा जिल्लाका सदरमुकामहरुमा जिल्ला पञ्चायतको सभापतिको अध्यक्षतामा जिल्लाका गाउँदेखि केन्द्रसम्म सबै तहका राजनीतिक नेतृत्ववर्ग, सामाजिक, शैक्षिक, बुद्धिजीवी, ब्यापारी लगायतको प्रतिनिधित्व रहेको स्वागत समिति गठन गरिन्थ्यो ।
वि सं २०२९ देखि देशका पाँचै विकास क्षेत्रको सदरमुकाममा सवारी शिविर स्थापना गरी सोही शिविरबाट निश्चित कार्यक्रम बनाई जिल्लाहरुको भ्रमण गर्न थाले । यस क्रममा जिल्ला सदरमुकामका टुँडिखेलमा भब्य मञ्च बनाई जिल्लाबासीहरुको तर्फबाट अभिनन्दन गर्ने प्रचलन थालियो । राजा विष्णु भगवानको अवतार हुन् भन्ने मानसिकता बोकेका जनसमुदायको अपार भीड राजदम्पत्तिको दर्शनार्थ सुरक्षित घेराभित्र टुँडिखेलमा भेला भएर राजारानीको जयजयकारको नाराले आकाश गुञ्जायमान गर्थे । राजारानीप्रति श्रद्धाभाव प्रकट गर्थे । नजिकबाट प्यारा राजारानीको दर्शन गर्न, स्वागत गर्न पाउँदा जनता हर्षले गद्गद् हुन्थे ।
टुँडिखेलमा बिशेष रुपले सजाइएको मञ्चमा राजदम्पत्तिको आशन ग्रहणपछि पूर्व निधारित कार्यक्रम अनुसार राजदम्पत्तिलाई शब्द, संगीतबाट स्वागत, सुरक्षा निकायको तर्फबाट शाही सलामी, जिल्लाबासीहरुको तर्फबाट अभिनन्दन पत्र वाचन तथा विभिन्न संघसंस्थाहरुबाट सम्बन्धित संस्था प्रमुखबाट अभिनन्दन पत्र हस्तान्तरण गरिन्थ्यो र अन्तमा राजाबाट जनतालाई सम्बोधन गरिन्थ्यो । मञ्चको सम्पूर्ण कार्यक्रम सम्पन्न भएपछि जनसमुदाय प्रसन्न मुद्रा लिई घर फर्कन्थे ।
आम जनसमूहबाट खुला टुँडिखेलमा स्वागत तथा अभिनन्दनको कार्यक्रम पश्चात् राजारानीलाई जिल्लाभित्रको विकासात्मक गतिविधिबारे जानकारी गराउने उद्देश्यले जिल्ला पञ्चायतको समीक्षालय कक्षमा सवारी चलाई त्यहाँ सजाइएको जिल्लाभित्रका सबै कार्यालयहरुका लक्ष र प्रगतिको चित्रात्मक तथा रेखात्मक विवरण, तथ्याङ्क, जिल्लाभित्र विभिन्न क्षेत्रका सञ्चालित आयोजना आदि सम्बन्धित कार्यालयका प्रमुखबाट आफ्नो आफ्नो क्षोत्रगत विषयको जानकारी गराउने, राजाबाट जिज्ञासा राखिएका कुराहरु बोध गराउने कार्य हुन्थ्यो । राजा हरेक विषय गम्भीरतापूर्वक सुन्थे ।
त्यसपछि जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई व्यक्तिगत वा सामूहिक दर्शनभेट गराई जिल्लाको समस्याहरुबारे जानकारी लिने कार्य हुन्थ्यो । सो कार्यक्रममा सामाजिक, शैक्षिक, राजनीतिक सबै क्षेत्रका प्रतिनिधिमूलक छुट्टाछुट्टै समूहको भेटघाटमा प्रतिनिधिहरु प्रत्यक्ष रुपमा आफ्ना समस्याहरु राख्थे जसलाई सँगै रहेका सवारी मन्त्रीले टिपोट गर्ने गर्थे । यिनै जानकारीहरुको आधारमा र तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यहरुबाट प्रस्तुत जिल्लाबारेका विविध पक्षको आधारमा योजना तर्जुमा गर्ने बजेट ब्यवस्था गर्ने कार्य गरिन्थ्यो ।
बेइमान र भ्रष्टहरुको अस्तित्व जुनसुकै समाज र कालमा रहेको र रहने हुनाले नै यी शब्दहरु शब्दकोशमा रहँदै आएका हुन् । समीक्षालयमा प्रदर्शित तथ्याङ्कहरु आकर्षक ढंगमा तयार गरिएका भएता पनि कतिपय देखाउन र राजालाई भुल्याउनका लागि हुने गरेको तत्कालीन अवस्थामा पनि सुन्नमा आउँथ्यो । वर्तमानमा जस्तो विश्वस्त तथा सञ्चारको सहज सुलभता नभएको अवस्थामा अधिकांश कुराहरु सम्बन्धित ब्यक्तिहरुले बताएको कुरामा नै विश्वास नगरी नहुने अवस्था रहेकोले राजाले पनि सुनेकै भरमा देशको विकासमा चित्त बुझाउनु वाध्यता रहेको अनुमान गर्न सकिन्छ ।
बिजुली नबलेको ठाउँमा झिलिमिली बत्ती बलेको, बाटो नपुगेको ठाउँमा कालोपत्रे गरिएको जस्ता समीक्षालयमा प्रदर्शन गरिने केही चित्रात्मक तथ्याङ्क (मिथ्याङ्क)देखाएर केही जिल्लाका सरोकारवालाहरुको राजाको आँखामा छारो हाल्ने काम केही उदाहरण हुन् जसले गर्दा राजसंस्थाप्रति द्वेषभाव भएकाहरुलाई आफ्नो अनुकूल प्रचारवाजी गर्ने अवसर प्रसस्तै प्राप्त हुन्थ्यो ।
राजा वीरेन्द्र जनताको सुखदुःखमा सदा चिन्तित रहे पनि र देश विकासका लागि प्रयत्नशील रहे पनि घुसपैठीहरु र ब्यक्तिगत लाभका लागि इमान बेच्ने सहयोगीहरुका कारण उकालोतिर लाग्न लागेको मुलूकबाट आफै विलिन हुनुपर्यो । देश उद्योगधन्दामा आत्मनिर्भर हुँदै गएको अवस्थामा, विकासले गति लिन थालेको बेलामा लोभीपापी, मतिभ्रष्ट दुष्टहरुको कुत्सित नजर उनीमाथि पर्यो । देशको दुर्भाग्य हो कि यो देशले एकजना लोकप्रिय, विकासप्रेमी, प्रजातन्त्रवादी राजालाई सपरिवार गुमाउन परेको छ ।
ब्यवस्था आफैमा खराब हुँदैन । जब नेतृत्व स्वयं वा सहयोगी शासन संयन्त्रमा बाँदरे प्रवृति हावी हुन्छ तब व्यवस्था असफलतातर्फ लम्कन्छ । त्यस्तो अवस्थामा राजा वीरेन्द्र मात्र होइन जो कोही असल नेताहरुले यस्तै हालत ब्यहोर्नु पर्ने हुन्छ । भनाइ पनि छ :
दुष्टा भार्या, सठं मित्रं भृत्यऽस्चोत्तरदायक,
मृत्युरेव नसंशय विषकुम्भम् पयोमुखम् ।
अहिले लोकतन्त्र, गणतन्त्रको श्रीफेच लगाएर सयौं राजाहरु बेलगाम मुलुकलाई टुक्रा टुत्रामा भागवण्डा गरी यथासक्य दोहन गरिरहेका छन् । जुन कुराको असन्तुष्टीबाट पुरानो ब्यवस्था फालियो, तिनै कुरा चरम उत्कर्षमा रहेको जनताले महसुस गरिरहेका छन् । नातावाद, कृपावाद, फरियावाद, धनवाद, डनवाद सबैप्रकारको वाद हावी छ वर्तमान व्यवस्थामा । नैतिकताको खडेरी लागेको छ ।
भ्रष्टाचारको त लेखाजोखा नै छैन । गणतन्त्र ठगी र लुटतन्त्रमा परिभाषित हुन थालेको छ । सुरक्षा संयन्त्र कसको लागि भन्ने प्रश्नचिन्ह खडा भएको छ । हत्या, हिंसा, बलात्कार बढ्दो छ । न्याय राजनीतिको पकडमा छ । इमान्दारिता, विशेषज्ञता र योग्यताको कुनै कदर छैन । देशको मुख्य शक्ति युवाहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य बस्तु जस्ता आधारभूत कुरा महंगाइको उचाइमा छ । अर्थतन्त्र तहसनहस भई क्षयीकरणको मार्गतिर मुलुक लम्किरहेछ । समस्यै समस्याको दलदलमा देश भासिरहेछ ।
अहिले जनता व्यक्ति तथा प्राकृतिक प्रकोपबाट पीडित छन् । समस्या समाधानका भरोसामन्द र ठोस कदम चालेको सुनिदैन, देखिदैन । सरकार गैरजिम्मेवार निर्लज्ज अभिब्यक्तिमा रमाइरहेको छ । स्वार्थकै लडाइमा नेताहरु मस्त छन्, मानौ उनीहरुको विकास कुर्सी प्राप्त गर्नु हो र सक्दो दोहन गरी मुलुकलाई कंगाल बनाउनु हो । अनि अन्ततः सत्ताको बागडोर विदेशीको हातमा सुम्पनु हो । सायद वर्तमानको विकास र सुशासनको परिभाषा यही हो । धन्य भगवान पशुपतिनाथले श्रीलङ्का र बंगलादेशको अवस्था आउनबाट देशलाई बचाइरहेको छ । तर कहिलेसम्म ? समयले नै बताऊनेछ । अस्तु bajragb60@gmail.com
View : 281
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved