विराटनगर । जब आकाशमा कालो बादलले साम्राज्य फैलाउन थाल्छ, खोला किनाराका बासिन्दाको रात अनिदै बित्छ ।
जब लगातारको वर्षाले माटोलाई ओसिलो बनाइदिन्छ पहिरो खस्ने चिन्ताले हजारौं सर्वसाधारणको भोकतिर्खा र निद्रा बिथोलिन्छ ।
पहाडमा पहिरो र तराईमा बाढीको कहरले बर्सेनि सताउने कोशी प्रदेशमा यसवर्ष मनसुनको सुरुबाटै विपद्ले झस्काउन थालिसकेको छ । यसरी बाढी र पहिरोको जोखिममा पर्ने कोशी प्रदेशवासीको संख्या ठूलो छ ।
कोशी प्रदेश सरकारका अनुसार यहाँका १४ जिल्लाका १ लाख १६ हजार ८ सय १८ घरपरिवार विपद्को उच्च जोखिममा छन् ।
बाढीपहिरो, डुबान, कटानलगायतका मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको यो ठूलो संख्या जुनसुकै बेला ठूलो दुर्घटनाको सम्मुखमै रहेको अध्ययनले देखाएको छ ।
कोशी प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका सदस्यसमेत रहेका विपद् विज्ञ रामकुमार दाहाल सहितको एक टोलीले केही समय अघि गरेको अध्ययनअनुसार कोशीमा २ हजार ४ सय ६६ घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ ।
यद्यपि विपद्को उच्च जोखिममा रहेका ती परिवार अहिले पनि त्यही जोखिमयुक्त थातथलोमै दैनिकी बिताइरहेका छन् ।
अघिल्ला वर्षहरूको अनुभवका आधारमा तराईका जिल्लाहरू बाढी र डुवानको उच्च जोखिममा पर्ने गरेका छन् । मोरङ, सुनसरी, झापा र उदयपुर बाढी र डुबानको उच्च जोखिम भएका क्षेत्र हुन् ।
यसमध्ये सबै भन्दा बढी मोरङ जिल्लामा मात्र बाढी र डुवानका कारण ४२ हजार ९ घरपरिवार प्रभावित हुने अध्ययनको निष्कर्ष छ । विराटनगर महानगर पनि बाढी र डुवानको समस्याले पिरोलिने सूचीमै पर्छ ।
अध्ययन टोलीका सदस्य समेत रहेका दाहालले पहिरोबाट झापासहित पहाडी तथा हिमाली जिल्ला सबैभन्दा बढी प्रभावित हुने देखिएको बताए ।
पहिरोबाट पूर्वी पहाडी जिल्ला पाँचथरमा मात्र ३ हजार ५ सय ४० घरपरिवार उच्च जोखिममा छन् ।
सोलुखुम्बुमा ३ हजार ६ सय ३७, संखुवासभामा २ हजार ६ सय ५० घरपरिवार उच्च जोखिममा छन् ।
संखुवासभा जिल्लामा मात्रै तत्कालै ७ सय ८ घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ ।
त्यसैगरी इलाममा १ हजार २ सय ४३ परिवार पहिरोको जोखिममा हुँदा ३ सय ५५ परिवार अत्यधिक जोखिमयुक्त क्षेत्रमा छन् ।
ता
प्लेजुङमा २ हजार ४ सय ३० परिवार जोखिममा छन्, जसमध्ये २ सय ८५ परिवारलाई तत्कालै स्थानान्तरण आवश्यक रहेको अध्ययनको ठहर छ ।
खोटाङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, उदयपुर, मोरङ, सुनसरी, झापालगायत जिल्लामा पनि सयौं परिवार पहिरोको जोखिमसँग जुधिरहेका छन् ।
त्यसो त कोशीमा हिमताल विष्फोटको जोखिम पनि उत्तिकै रहेको अध्ययनको ठहर छ । बिष्फोटको उच्च जोखिममा रहेका हिमताल बिष्फोट भएको खण्डमा प्रदेशमा १२ हजार ७ सय ६ घरधुरी ताल बिष्फोटसँगै आउने बाढीको उच्च जोखिममा रहेको दाहाल बताउँछन् ।
इसिमोड र युएनडिपी जस्ता गैरसरकारी संस्थाले गरेको एक अध्ययनले मुलुकभर रहेका ४७ वटा बिष्फोटको उच्च जोखिममा रहेका ताल मध्ये कोशी प्रदेशमा मात्र ४२ वटा रहेकाले ती कुनै बेला पनि बिष्फोट हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।
विज्ञसहितको टोलीले कोशी प्रदेश विपद् जोखिमको दृष्टिले ‘रेड जोन’ का रुपमा रहेको बताइरहँदा प्रदेश सरकारको तयारी भने फितलो देखिएको छ ।
खासगरी प्रदेश सरकारले विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न जनचेतना, पूर्वतयारी, समयमै सतर्कता र जोखिमयुक्त क्षेत्रको पुनःस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिएको छ ।
प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सरकारले विपद् अघि र पछिको अवस्थालाई मध्यनजर गरेर आवश्यक तयारी गरिरहेको बताए ।
यो सँगै प्रदेशमा मुख्यतः बाढी, पहिरो जस्ता विपद्को जोखिम रहेका स्थलको पहिचान गरी नक्साङ्कन गर्ने लगायतका काम सम्पन्न भइसकेको उनको भनाइ छ । प्रदेश सरकारले विपद् व्यवस्थापनाका लागि चालु आर्थिक वर्षमा १९ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
विनियोजित रकममध्ये विपद्पछि आवास निर्माणका लागि ४ करोड छुट्याइएको छ भने उद्धार, राहत र उपकरण खरिदका लागि बाँकी बजेट खर्च हुने सरकारको भनाइ छ ।
View : 176
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved