Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

निजी विद्यालयका गाडीलाई पालिकामा प्रवेश निषेध

उद्‌घोष सम्वाददाता
९ वैशाख २०८२, मङ्गलवार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले निजी विद्यालयका गाडीलाई आफ्नो नगरमा प्रवेश रोक लगाएको छ । 

विद्यार्थीलाई नगरकै सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियानलाई सफल पार्न पालिकाले निजी विद्यालयको गाडीलाई नगर प्रवेशमा रोक लगाएको हो ।

महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायाले सोमबार सूचना जारी गर्दै अब कुनै पनि निजी स्कुलका सवारी साधनलाई विद्यार्थी ओसार्न नगर क्षेत्रमा प्रवेश नदिइने उल्लेख गरेका छन् । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै निजी स्कुलको भन्दा राम्रो शिक्षा प्रदान गर्ने उद्देश्यसहित सबै विद्यार्थीलाई सामुदायिक विद्यालयमै पढाउने वातावरण निर्माण गर्न खोजिएको मेयर रायाको भनाइ छ । 

‘हामीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम गरिरहेका छौं । सरकारी स्कुलमा पनि बोर्डिङ स्कुलको जत्तिकै राम्रो पढाइ हुनुपर्छ भनेर लागिरहेका छौं,’ मेयर रायाले भने, ‘महालक्ष्मीका सबै विद्यार्थी सामुदायिक विद्यालयमै पढून् र सुलभ रुपमा राम्रो शिक्षा पाउन भन्ने हाम्रो चाहना हो ।’

नगरपालिकाले सञ्चालकहरूसँगै समन्वय गरेर नगर क्षेत्रका अधिकांश निजी स्कुल बन्द गराइसकेको छ । अब, महालक्ष्मी नगर क्षेत्रभित्र लेगुवामा मात्र एउटा निजी स्कुल बाँकी छ । त्यो पनि आगामी वर्षभित्र बन्द हुने र सबै विद्यार्थीलाई सामुदायिक विद्यालयबाटै गुणस्तरीय शिक्षा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

छथरजोरपाटीको सिधुवा लगायत क्षेत्रका बोर्डिङ स्कुलहरूले महालक्ष्मीको मुर्तिढुंगासहित आसपास क्षेत्रका विद्यार्थीहरूलाई गाडीमा लैजाने गरेको पाइएपछि नगरपालिकाले निजी क्षेत्रका गाडीलाई प्रवेशमा रोक लगाउने निर्णय लिएको हो ।

View : 82

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved