विराटनगर । विराटनगरमा आयोजना हुन लागेको धार्मिक कार्यक्रम राशलीलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । आयोजक श्रीहरि सत्संग समिति नेपालले आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
भगवान श्रीकृष्णको चरित्रमा आधारित धार्मिक कार्यक्रम राशलीला चैत ५ देखि ९ गतेसम्म विराटनगरको अतिथि सदनमा आयोजना हुन लागेको हो ।
श्रीहरि सत्संग समिति नेपाल विराटनगर सम्भागको आयोजनामा ‘होलीको रंग रासलीलाको संग’ शिर्षकमा राशलीला आयोजना हुन लागेको हो ।
राशलिलाको कोशी प्रदेश प्रमुख परशुराम खापुङले चैत ५ गते उद्घाटन गर्ने संयोजक महेश स्वर्णकारले बताए ।
श्रीहरि सत्संग समिति नेपालका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरलले समितिले गैरकानुनीरुपमा भइरहेको धर्मपरिर्वतन रोक्न तथा सनातन धर्मको संरक्षणको क्षेत्रमा काम गर्दै आएको बताए ।
उनले समितिले देशको १७ जिल्लामा समितिका ६४ जना पूर्णकालीन सेवावर्ती कार्यकर्ताहरुले सत्संग,भजनकीर्तन,प्रवचन तथा झाँकी र पूजा आरतीको माध्यमबाट अभियान चलाउँदै आएको बताए ।
सरलले तीन दशक अघिसम्म विराटनगरमा राशलिला आयोजना गर्ने गरिएपछि त्यसयता रोकिएकोले समितिले फेरि पनि सो कार्यक्रमलाई शुरु गर्न लागेको बताए ।
पाँच दिनसम्म चल्ने कार्यक्रममा बृन्दावनबाट आमन्त्रित २१ जना कलाकारहरुको टिमले राशलिला प्रस्तुत गर्नुका साथै स्थानीय कलाकारहरुले दैनिक आधा घण्टा मैथिली, थारु, मारवाडी र सन्थाल भाषा संस्कृतिको कार्यक्रम प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।
स्थानीय धर्मानुरागी दाताहरुबाट स्वेच्छिक दान रकमबाट कार्यक्रम आयोजना गरिने आयोजक समितिले जनाएको छ । राशलिला कार्यक्रम सम्पन्न गर्न ५ सय ५५ जना सम्मिलित मूल समिति गठन गरिएको छ भने ३१ सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरिएको छ ।
View : 188
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved