हृदयघात भएका डा. मदन कोइरालाको डिस्चार्ज
विराटनगर । विराटनगर–१० स्थित न्यूरो तथा कार्डियो मल्टी स्पेसियालिटी अस्पतालमा मुटुको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ ।
हृदयघात भएर सोमबार विहान न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा मदन कोइरालाले आफूले न्यूरोमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाएर स्वास्थ्यलाभ गरेको बताए । डा कोइराला बुधबार बेलुकी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डा कोइरालाले भने ‘गंगालाल (काठमाडौं) या अमेरिका या अस्ट्रेलियामा या सिंगापुरमा जुन फेसिलिटी (सुविधा) छ, त्यो न्यूरोमा पनि छ । म धेरैमा देशमा गएको, घुमेको, हेरेको पनि छु, त्यहाँ टेर्निङमा पनि गएकोले त्यहाँको क्याथल्याव मलाई थाहा छ ।’
अमेरिका वा विकसित देशको जस्तो न्यूरो अस्पतालमा ‘हाइल्ली सोफिस्टिकेटेड क्याथल्याव’ छ, त्यहाँ मुटुमा ब्लक भएको आर्टरीमा स्टाण्ड हाल्ने काम (एन्जियोप्लाष्टी) सफल भएको उनले बताए ।
आफ्ना छोरा, बुहारी, छोरीसमेत चिकित्सक नै रहेकोले उनीहरुले उपचारका लागि विमानबाट लैजाने कुरा समेत भएको थियो ।
तर आफूले यहाँको क्याथल्याव र वरिष्ठ इन्टरभेन्सन कार्डियोलोजिष्ट डा निकेशराज श्रेष्ठसमेतको विज्ञता थाहा भएकोले यहीँ उपचार गर्ने भनेको बताए । सो अनुसार सहज रुपमा कुराकानी गर्दै एञ्जियोप्लाष्टी भएको बताए ।
६७ वर्षीय डा कोइरालाले आफूलाई यसभन्दा अगाडि कुनै गम्भीर रोग नलागेको तर सोमबार विहान चिउँडो, छाती र पछाडी ढाडको भाग बाउँडिन खोजेको अनुभूति भएपछि अस्पताल भर्ना भएको बताए ।
कोरोनरी सरकम्प्लेक्स आर्टरी ब्लक भनिने यो हृदयघातको उपचार डा श्रेष्ठको टोलीले उपचार गरेको हो ।
यस सम्वन्धमा डा श्रेष्ठले विरामी समयमा नै उपचारका लागि अस्पतालमा सम्पर्क गरेर चाँडै नै एन्जियोग्राफी गर्न सकेमा हृदयघात भएका विरामीलाई बचाउन सकिने बताए ।
हृदयघात भएका विरामीलाई औषधि दिएर उपचार गर्दा समस्या रहिरहने भएकोले तुरुन्त एन्जियोप्लाष्टीको विकल्प नभएको बताए ।
हृदयघात भएको पहिलो दुई घण्टा ‘गोल्डेन पिरियड’ भएकोले सो समयमा जतिसक्दो चाँडो अस्पताल पुगिसकेमा मृत्युदर घट्ने डा कोइरालाको भनाई थियो । डा श्रेष्ठले पनि डा कोइराला समयमा नै अस्पतालमा आएकोले उपचार सहज भएको बताए ।
अस्पतालमा उपचारपछि डिस्चार्ज भएका डा कोइरालालाई अस्पतालका प्रमुख डा वीरेन्द्रकुमार विष्टले बुके दिएर विदाइ गरेका थिए ।
दुई दाजुभाइलाई एकैदिन हृदयघात
डा मदन कोइरालालाई हृदयघात भएको दिन र समयमा नै उनको ठूलदाजु ७९ वर्षीय ई. हरिहर कोइरालाको तीनवटै आर्टरी ब्लक भएर हृदयघात भएको थियो ।
काठमाडौंमा रहेको उनको गंगालाल अस्पतालमा उपचार भएको छ । छ जना दाजुभाइमा डा कोइराला काइला हुन् उनको भने एउटा मात्र आर्टरी ब्लक भएको थियो ।
View : 274
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved