विराटनगर । नेपालको बामपन्थी राजनीतिमा माक्र्सवादको नविन प्रयोग गर्दै ‘जनताको बहुदलीय जनवाद सिद्धान्त’ का प्रमुख विचारक एवं प्रवर्तक जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी गरिने भएको छ । फोटो प्रदर्शनीका लागि मदन भण्डारी फाउण्डेशनले फोटो संकलन कार्य अघि बढाएको जनाएको छ ।
फाउण्डेशनले आफूसँग भएका मदन भण्डारीको फोटो तथा अन्य कागजात उपलब्ध गराईदिएर सहयोग गर्न अपिल समेत गरेको छ ।
प्राप्त भएका फोटो र सामग्रीहरूलाई मदन भण्डारी फाउण्डेशनको केन्द्रीय कार्यलयमा सुरक्षित गरिने फाउण्डेशनकी मीना भण्डारीले जानकारी दिइन् । फोटो उपलब्ध गराउने व्यक्तिहरूको आधिकारिक सौजन्यसहित फाउण्डेशनको वेवसाईटमा समेत विवरण उल्लेख गरिने उनले बताइन् ।
नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीको २०५० जेष्ठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा चितवनको दासढुंगामा रहस्यमय दुर्घटना हुँदा निधन भएको थियो । उनीसँगै संगठन विभाग प्रमुख जीवराज अश्रितको समेत उक्त दुर्घटनामा परी निधन भएको थियो ।
भण्डारीको निधनपछि उनको नाममा स्थापित फाउण्डेशनले राष्ट्रिय व्यक्तित्व र प्रतिभाहरूको सम्मान लगायतका कार्यक्रम गर्दै आएको जनाइएको छ ।
View : 162
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved