मोरङ प्रहरी मूकदर्शक बनेको आरोप
विराटनगर । कुनैबेला थियो, गुण्डागर्दीका साना-ठूला घटनाले विराटनगरलाई हरेक दिनजसो प्रभावित पार्ने गर्यो । गुण्डागर्दीविरुद्ध सामूहिक प्रतिरोध सुरु भएपछि लामो समय त्यस्ता घटना विराटनगरमा साम्य जस्तै रह्यो । यद्यपि पछिल्लो समयमा गुण्डागर्दीका घटनाहरू विराटनगरमा बाक्लै हुन थालेका छन् । विराटनगरका ठूला होटलहरूमा रहेका क्यासिनो गुण्डागर्दी संस्थागत गर्ने थलो बनेका छन् । विराटनगरका बिग र रत्ना होटलमा रहेका क्यासिनोकै कारण पछिल्लो समय विराटनगरमा गुण्डागर्दी मौलाइरहेको छ । नेपालीहरूले निर्वाध प्रवेश पाउँदै आएका यी दुवै क्यासिनोमा प्रहरीले यी दृश्य देखेको नदेख्यै गर्दा यस्तो अवस्था आएको होटल व्यवसायीहरु नै बताउँछन् ।
कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ । तर, बिग र रत्नाका क्यासिनो हरेक रात नेपाली जुवा खेलाडीले भरिभराउ हुने गरेको छ । ‘यहाँका दुवै क्यासिनोका मुख्य खेलाडीहरू नै नेपाली हुन्’, विराटनगरकै एक होटल व्यवसायीले भने ‘तर, नियमन गर्ने निकाय प्रहरीले कसिलो व्यवहार गरेको छैन । प्रहरीको त्यही खुकुलो छाड्ने शैलीको उपज हो रत्नाको क्यासिनो सम्राटमा आइतबार राति भएको घटना ।’
त्यसो त यसअघि होटल बिगको क्यासिनोमा झगडा पर्दा गाडी फुटाउने, हात हालाहाल गर्ने घटना भएकै थियो । यसपटक रत्नाको सम्राट क्यासिनोमा भने विराटनगरकै स्थानीयहरुबीच मध्यरातमा कुटाकुट भयो । गुण्डागर्दीको क्षेत्रमा विराटनगरमा कहलिएका अभिषेक गिरी, रोनाल कँडेल र किरण लामाहरुबीचमा भएको झडपले पनि नेपाली नागरिकको पहुँच क्यासिनोमा सहजै रहेको देखाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेद जोशीका अनुसार अहिले प्रहरीमा दुईथरी उजुरी आएको छ । एउटा निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध दिएका छन् भने अर्को उजुरी होटलका तर्फबाट दिइएको छ । यी दुवै उजुरीमा कँडेल र लामाविरुद्ध कारवाहीको माग भएको छ । घटनाको दुई दिन बितिसकेको छ तर मोरङ प्रहरीले अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन । ‘हामी घटनाको अनुसन्धानकै क्रममा छौं’, डिएसपी जोशीले भने ‘अनुसन्धानको चरणमै भएकाले नियन्त्रणमा लिइसकेका छैनौं । यसबारे विस्तृत अनुसन्धान हुनेछ ।’
आइतबार मध्यरातमा रत्ना होटलमा भएको चाहिँ के थियो त ? प्रहरी दुई समूहबीच कुटाकुट भएको बताउँछ । यसलाई सामान्य झडप जस्तो देखाएर प्रहरीले वेवास्ता गरिरहेको छ । यद्यपि यो घटना प्रहरीले भने जस्तो ‘दुई पक्षबीचको सामान्य झडप’ मात्रै भने होइन । झडप नै त्यस्तो ठाउँमा भएको छ, जहाँ नेपाली नागरिकलाई प्रवेश नै निषेध हुन्छ । नेपालीलाई प्रवेश निषेधित ठाउँभित्रबाट अभिषेक गिरी बाहिर निस्कन्छन् । गिरी भित्रै रहेका बेला बाहिर कँडेल र लामाको समूह क्यासिनोभित्र प्रवेश गर्न चाहिरहेका हुन्छन् । बाउन्सरहरुले रोकिरहेका बेला अभिषेक गिरी भित्रबाट बाहिर आउँछन् । गिरी र अर्को समूहबीच भनाभन हुन्छ । त्यहीबेला गिरीमाथि लामा र कँडेलको समूहले आक्रमण गर्छ । गिरीको समूह पनि कुटाकुटमा उत्रन्छ ।
होटल व्यवसायीहरु अभिषेक गिरी क्यासिनोभित्र किन प्रवेश गरे भन्ने विषयबाटै अनुसन्धान थालिनुपर्ने बताउँछन् । ‘कँडेल र लामा बाहिरै थिए, भित्र जान खोज्दै रहेछन् तर गिरी त पहिल्यैबाट भित्रै रहेछन् नि कसरी ?’, विराटनगरका एक होटल व्यवसायीले भने ‘यसरी नेपालीहरुको निर्वाध प्रवेश प्रहरीले खुला छाडेको हो ?’ यसको जवाफ हामीले प्रहरीबाट लिने प्रयास गरेका थियौं । तर, प्रहरी अनुसन्धान भइरहेको मात्रै भनेर पन्छिरहेको छ । त्यसदिन क्यासिनोमा झगडा सुरु हुने बित्तिकै प्रहरीले खबर पनि पाएको तर कुटाकुट गर्नेहरु लाखापाखा लागेपछि मात्रै प्रहरी पुगेको एक प्रत्यक्षदर्शी बताउँछन् ।
लामो जेल जिवन बिताएर बाहिर आएका र पछिल्लो समय आफूलाई सामाजिक काममा सक्रिय देखाउन खोजिरहेका अभिषेक गिरीको कांग्रेस नेताहरुसँगको बलियो कनेक्सन अनि एमाले मोरङको जिल्ला सदस्यमा भर्खरै निर्वाचित किरण लामाको पनि उस्तै राजनीतिक पहुँचका कारण प्रहरीको नजर उनीहरुमा नपरेको एक व्यवसायीले बताए । कँडेल र लामा पनि पटकपटक प्रहरी नियन्त्रणमा पर्दै छुट्दै आएका व्यक्ति हुन् ।
पछिल्लो समयमा क्यासिनोमा जुवा खेल्ने, खेल्नेहरुलाई नगद उपलब्ध गराउनेलगायतका काममा नेपालीहरुले काम गर्दै आइरहेका छन् । यस्तोमा सामान्य असमझदारी हुने बित्तिकै झडप निम्तिने गरेको छ । यो घटनामा मात्रै होइन, मोरङ प्रहरीले यस्ता धेरै आपराधिक घटनामा आँखा चिम्लेर संलग्नहरुलाई उन्मुक्ति दिँदै आएको छ । फागुन १५ मा महेन्द्र मोरङ क्याम्पसमा नेविसंघ जिल्ला सभापति सरोज पोखरेल कुटिए । पोखरेलले नामै किटेर जाहेरीसमेत दिए । तर, मोरङ प्रहरीले आक्रमणकारीहरुलाई पक्राउ गरेन । उल्टै संलग्नलाई पक्राउ गर्न माग गर्ने विद्यार्थीलाई भने पक्राउ गर्यो ।
त्यसभन्दा केही समयअघि एयरपोर्ट रोडमा रहेको तृष्णा रेष्टुरेन्टका सञ्चालकमाथि पनि निर्घात आक्रमण भएको घटनामा पनि मोरङ प्रहरीले बेलैमा अग्रसरता नलिएको भन्दै गुनासो उच्च भएको थियो । गुण्डागर्दीका यस्ता घटनामा मोरङ प्रहरी कठोर भएर पेश हुन नसकेको भन्दै व्यवसायीहरुले ‘राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्नेहरुलाई प्रहरीले उल्टै संरक्षण दिएको’ आरोप लगाउँछन् ।
View : 462
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved