Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

बटसावित्री पर्व मनाइयो

उद्‌घोष सम्वाददाता
१३ जेठ २०८२, मङ्गलवार

विराटनगर । मिथिलाञ्चलका महिलाहरूले आफ्ना पतिको दीर्घायुको कामना गर्दै सोमबार  बटसावित्री पर्व मनाएका छन् ।

सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराएको विश्वास गर्दै त्यसैको सम्झनामा यो पर्व मनाउने गरिन्छ  । सो पूजा सम्पन्न गर्न महिलाहरू चोक र मन्दिरहरूमा रहेका बरको रूख भएको ठाउँमा भेला हुने गर्दछन् । 

सो अवसरमा विराटनगरस्थित संसारी माईस्थानका साथै विभिन्न मठमन्दिर तथा चोकहरूमा रहेका बरको रूख रहेको स्थानमा भेला भएर पूजापाठ गरेका छन् । 

जेठमा औंशी तिथिमा प्रत्येक वर्ष मनाउने सो पर्वमा देवी पार्वती, सावित्री र नाग–नागिनीका साथै बरको बोटको पूजा गर्ने चलन छ । 

मिथिलाका महिलाहरू बिहानैदेखि उपवास बसेर स्नान गरी नयाँ वस्त्रधारण गरी पूजाको थालीमा आँप, केरा, हाते पङ्खा, मिठाई, चना, कांक्रो लगायतका सामग्री लिएर बरको पूजा गरी सावित्री, नागनागिनी र पार्वतीलाई प्रसाद चढाउने गर्दछन् । 

प्राचीनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएपछि सोही समयदेखि बटसावित्री अर्थात् बरसाइत पर्व मनाउन सुरू गरिएको धार्मिक विश्वास छ । 

बिशेषगरी नवविवाहित महिलाहरू अत्यन्त उत्साह र धूमधामका साथ यो पुजामा सहभागि हुने गर्छन् । 

नवविवाहित महिलाले घरबाट माइतमा ल्याएको नयाँ वस्त्र धारण गरी साथीहरूका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रूखमुनि भेला हुने चलन छ । 

नवविवाहिता महिलाले यो पर्व मनाउनका लागि घरबाट माइतमा नयाँ वस्त्र, हातेपङ्खा, चामल, चना, फलफुलका माटोको कलात्मक नाग–नागिनी, हात्ती बनाएर ल्याउने समेत चलन छ । 

बरसाइत पूजा सम्पन्न भएपछि चामल, बदाम र अन्य पकवानहरू गाउँभरि बाँड्ने गरिन्छ ।

View : 215

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved