कोशी प्रदेशको लगानी सम्मेलन बैशाख १८–१९ मा
विराटनगर । कोशी प्रदेश सरकारले वैदेशिक लगानी भित्र्याउन लक्ष्यसहित पहिलो पटक प्रदेशस्तरीय लगानी सम्मेलनको तयारी अघि बढाएको छ । यसअघि निजी क्षेत्रको सहभागिता सम्बन्धी विवाद समाधान गर्न नसकेको आरोप खेपेर सम्मेलनको मिति सार्न बाध्य बनेको प्रदेश सरकारले यसपटक भने तोकिएकै मितिमा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ ।
प्रदेश सरकारले बुधबार पत्रकार सम्मेलनमार्फत यही बैशाख १८ र १९ गते विराटनगरमा पहिलो लगानी सम्मेलनको तयारीबारे जानकारी गराएको हो ।
प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना र औद्योगिकीकरणलाई गति दिन लगानी सम्मेलन उपलब्धिमूलक हुने मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताए । उनले पहिलो लगानी सम्मेलनको सोकेशमा ५४ वटा परियोजना समावेश गरिएको जानकारी दिए ।
उनले सवै परियोजनामा लगानी भित्रिने भन्दा पनि लगानीका लागि बढीभन्दा बढी योग्य परियोजनालाई समावेश गर्ने नीतिमा सरकारले काम गरेको बताए । जसमा केही पुराना र केही नयाँ परियोजनालाई समेटेर योजना सोकेश तयार पारिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
‘मुख्य कुरा प्रदेशले पनि लगानी सम्मेलनमार्फत अन्तर्राष्ट्रिय दातृ निकाय, गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताहरूलाई लगानीको वातावरण बनाउने सन्देश प्रवाह गर्नुछ, त्यही भएर प्रदेशले सुरु गरिसकेका केही पुराना र केही नयाँ परियोजना सोकेशमा समावेश गरिएका छन्’ मुख्यमन्त्री कार्कीले भने, ‘सबै परियोजना उत्तिकै प्राथमिकताका साथ अघि बढ्दैनन्, लगानीकर्ताको रुची र सम्भाव्यता हेरेर कस्तो परियोजनामा लगानी भित्रिने भन्ने हुनसक्छ, लगानीको वातावरण बनोस् भनेर नै हामीले पर्याप्त परियोजना दिएका छौं ।’
मुख्यमन्त्री कार्कीका अनुसार लगानी सम्मेलनमा तीन प्रकारका परियोजना समावेश छन् ।
पहिलो प्रदेश सरकार आफैंले तयार पारेका, दोस्रो निजी क्षेत्रले प्रस्तावका रुपमा तयार पारेका र तेस्रो स्थानीय सरकारले सिफारिस गरेर तयार पारेका परियोजनालाई लगानी सम्मेलनमा प्रस्तुत गरिने जनाइएको छ ।
सरकारले यस बर्षलाई प्रदेश पर्यटन बर्ष समेत घोषणा गरिसकेका कारण पर्यटन प्रवद्र्धनका क्षेत्रमा अलिक बढी परियोजना तयार भएको मुख्यमन्त्री कार्कीले बताए । करीव १५ वटा परियोजना अहिलेपनि अध्ययनकै क्रममा रहेका कारण सबै जोड्दा १ खर्ब ७० अर्ब रुपैयाँ बराबरका परियोजना प्रदेश लगानी सोकेशमा पर्ने उनको भनाई छ ।
लगानीका लागि सरकारले आठवटा क्षेत्र निर्धारण गर्दा सवैभन्दा बढी पर्यटन क्षेत्रमै ३५ अर्ब ९७ करोड रुपैयाँ लागतका १५ वटा परियोजना समेटिएको जनाइएको छ ।
लगानीमैत्री वातावरणको खाँचो
पहिलो पटक प्रदेशमा लगानी सम्मेलनको पहल हुँदा यसको राष्ट्रिय सन्देश प्रवाह हुने सरकारको दाबी छ ।
यसले नेपालको प्रमुख लगानी गन्तव्य कोशी प्रदेशलाई बनाउन बाटो खोल्ने तथा स्वदेशी, निजी तथा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउन सरोकारवालाहरूलाई समेत ऊर्जा प्रदान गर्ने सरकारको भनाई छ ।
त्यसका लागि प्रदेश सरकारले समेत नीतिगत तथा कानुनी सुधार अघि बढाउने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।
उनले प्रदेशस्तरमै आठवटा लगानी सहजीकरणसम्बन्धी कानुनमा संशोधन गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । यो काम लगानी सम्मेलन अगाडि नै सम्पन्न गर्ने मन्त्री भण्डारीले बताए ।
‘नीतिगत तथा कानुनी सुधारमा हामी प्रष्ट भएर अघि बढेका छौं, प्रदेश लगानी सम्बन्धी ऐन कानुनसहित आठवटामा संशोधनको बाटो क्लियर गर्छौं, संघीय सरकारसँगको समन्वयमा प्रदेशको वन ऐन पनि सकेसम्म संशोधनको प्रक्रियामा लैजान्छौं’ मन्त्री भण्डारीले भने, ‘यो काम अध्यादेशबाट पनि हुनसक्छ, मुख्य उद्देश्य चैं लगानी सम्मेलन अगाडि नै लगानीकर्ताहरूलाई प्रोत्साहन दिनसक्ने व्यवस्था गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट छ ।’
यस्तो व्यवस्था गर्दा ठूलो क्षमतामा पूँजी परिचालन हुने, रोजगारी सिर्जना र प्रतिफल दिनका लागि प्रतिवद्ध लगानीकर्ताहरूलाई बढी संरक्षण गर्नुपर्छ भन्ने सोचमा सरकार स्पष्ट रहेको उनले बताए ।
कोशी प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयका संयोजक एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पवनकुमार तिमिल्सेनाका अनुसार लगानी सम्मेलनले प्रदेशको दोस्रो आवधिक योजनाको आर्थिक लक्ष्य पूरा गर्नसमेत ठूलो मद्दत गर्ने दाबी गरे ।
सरकारले लगानीका आठ क्षेत्र अन्तरगत पर्यटन, कृषि प्रवद्र्धन, हरित ऊर्जा, स्वास्थ्य सेवा विस्तार, स्मार्ट शहरी पूर्वाधार लगायतका नवीनतम योजनाहरूलाई समावेश गरेको उनले जानकारी दिए ।
सम्मेलनमा कूटनीतिज्ञ क्षेत्र, अर्थशास्त्री, उद्योगी, संघीय–प्रदेश–स्थानीय तहका जनप्रतिनिधि र विकास साझेदारहरूले आफ्नो चासो दर्ज गर्ने वातावरण सुनिश्चित गरिएको जनाइएको छ ।
View : 128
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved