Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

केशलिया खोलाको बाढी ओभरफ्लो भएर बस्तीमा पसेपछि महानगरपालिकामा आपतकालिन बैठक

उद्‌घोष सम्वाददाता
२५ असार २०८१, मङ्गलवार

विराटनगर । केशलिया खोलाको बाढी ओभरफ्लो भएर विराटनगर–१२ बाट बस्तीमा पसेपछि महानगरपालिकामा आपतकालिन बैठक बसेको छ । बाढी पसेर अहिले बस्तीहरू जलमग्न बनेका छन् ।

बस्तीमा बाढीको पानीको सतह बढ्दै गएका कारण जोखिम बढेको भन्दै मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित विपद् व्यवस्थापन शाखाका कर्मचारीहरुसहित महानगरपालिकाको आपतकालिन बैठक बसिरहेको मेयर कोइरालाका स्वकीय सचिव डिक बहादुर घिमिरेले जानकारी दिए ।

उनले प्रभावित क्षेत्रमा महानगरपालिकाको नगर प्रहरीको टोली पुगेर जोखिमको आवश्यक जानकारी लिएर फर्किएको र अहिले महानगरपालिकामा आपतकालिन बैठक बसिरहेको बताए । मेयर कोइरालाले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसहित नेपाली प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायसँग समेत सम्पर्क गरी जानकारी गराएको जनाइएको छ ।

केशलिया खोला नाघेर बस्ती पसेको ठाउँमा तत्कालै बोरामा माटो बालुवा हालेर छेकबार लगाउन सकिने सम्भावनाबारे सुरक्षा निकायहरुसँग समेत छलफल भइरहेको जनाइएको छ । 

‘अहिले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत लगायतको बैठक बसिरहेको छ, प्रभावित क्षेत्रमा तत्कालिन अवस्थामा बोरामा माटो भरेर राख्ने बिषयमा कुरा भइरहेको छ’ घिमिरेले भने, ‘हाम्रो टोली पुगेर आइसकेको छ, अहिले सिडियो, प्रहरी, सशस्त्र प्रहरीलाई पनि जानकारी गराइएको छ ।’

महानगरपालिकाको डम्पिङ साइट नजिकैबाट केसलियाको बाढी बस्तीतिर पसेको हो । नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार विराटनगर–१२ मा रहेको सम्पन्न बस्तीमा बाढीको पानी पसेर डुबान सुरु भएको छ । अन्य स्थानमा पनि डुबान बढ्दै जाने सम्भावना रहेको छ । 

केशलियामा पानीको बहाव उच्च छ । मङ्लबार विहानभर भारी वर्षा भएका कारण केशलियामा ठुलो बाढी आएको थियो । अपरान्ह पानी पर्न छाडेपनि आज राती पुनः पानी आएको खण्डमा ठुलो धनजनको क्षति पनि हुनसक्ने जोखिम रहेको छ ।

View : 376

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved