Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

राज्यका हरेक निकाय बलियो हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

उद्‌घोष सम्वाददाता
२४ जेठ २०८२, शनिवार

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका हरेक निकाय बलियो हुनुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) कोशी प्रदेश कार्यालय विराटनगरको निरीक्षण एवं अवलोकनपछि उनले भौतिक संरचनामा निकै सुधार भएकोमा खुसी व्यक्त गरे ।

उनले रासस एक जवाफदेही सञ्चार माध्यम भएकाले यसले प्रवाह गर्ने सेवा छिटोछरितो हुनुपर्ने र रासस बलियो भएमा अन्य सञ्चार माध्यम पनि बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, “समाचारका मुहानको रुपमा रहेको राससले अझ मेहनत गर्नुपर्छ ।”

समावेशी चरित्र बोकेको राससले आफूलाई अझ व्यावसायिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सञ्चारमन्त्री गुरुङले विश्वसनीय स्रोतको उपयोगले समाचारको महत्व बढ्ने यथार्थलाई मनन गरी राससमा समाचार सामग्री संकलन तथा सम्प्रेषण गर्न निर्देशन दिए ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससको भौतिक सम्पत्तिलाई व्यावसायिकीकरण गर्न सकेमा आत्मनिर्भर बन्ने र सरकारलाई आर्थिक भार कम हुने बताए । उनले राससको विराटनगर, काँकरभिट्टा, वीरगञ्ज, पोखरा जस्ता महत्त्वपूर्ण स्थानमा रहेका भौतिक सम्पत्तिको पूर्णरुपमा सदुपयोग गर्न बजेटको आवश्यक रहेको बताए ।

रासस कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुलले समाचार र कार्यालयको विविध पक्षमा जानकारी गराए ।

अवलोकनका क्रममा सूचना तथा सञ्चार प्रविधि सचिव राधिका अर्याल, मन्त्रालयका सहसचिव कोषहरि निरौला, कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेललगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

View : 90

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved