विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन कहिले हुन्छ अहिलेसम्म यकिन छैन । तर, नेता डा. शेखर कोइराला समूहले भने गुट भेलालाई तिव्रता दिइरहेको छ । डा शेखर आफै देश दौडाहामा छन् ।
यही बेला उनी समर्थक नेताहरुले विराटनगरमा आफ्नो समूहको भेला गरेर ‘रणनीति’ निर्माण सुरु भएको जानकारी दिएका छन् ।
शेखर पक्षीय नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेशका महामन्त्री उमेश थापा लगायतका नेताहरुको अगुवाइमा विराटनगरमा शुक्रबार भेला भएको थियो ।
भेलामा कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, प्रतिनिधिसभा सांसद सरिता प्रसाई लगायतका नेताहरु पनि सहभागी थिए । यही सन्दर्भमा तपाईंहरुले किन सुटुक्क गुट भेला गर्नुभएको हो भनेर उद्घोषले पूर्वमुख्यमन्त्री कार्कीलाई सोधेको थियो ।
जवाफमा कार्कीले कोशीमा ‘शेखर कोइराला विचार समूहलाई कसरी बलियो तुल्याएर अघि लैजाने’ भन्ने विषयमा रणनीति बनाउन भेला आयोजना गरिएको बताए ।
‘अहिले कोशी प्रदेशको पार्टी नेतृत्वमा संगठन तहसनहस बनाएको हाम्रो भेलाको निष्कर्ष थियो’, कार्कीले भने ‘प्रदेशले जिल्ला र क्षेत्रमा हारेकाहरुलाई महत्वपूर्ण जिम्मा दिइरहेको कुरा पनि उठ्यो । प्रदेशको शैलिले पार्टी धराशायी भएका कारण हामीले जुर्मुराएर वाच गर्ने भेलाको जोड थियो ।’
प्रदेशदेखि केन्द्रसम्मै एमालेसँगको सत्ता सहयात्रा कांग्रेसका लागि घातक सावित भएको पनि भेलाले ठहर गरेको कार्कीले जानकारी दिए ।
‘प्रधानमन्त्री ओली जसरी पनि कांग्रेसलाई अलोकप्रिय बनाउने ध्येयमा केन्द्रदेखि प्रदेशसम्मै लागेको हाम्रो ठहर छ । यस्तो शैलिले कांग्रेसलाई अझै हानी गर्ने निष्कर्ष हाम्रो समूहको छ’, उनले भने ‘यसरी धेरै समय सत्तामा एमालेसँग सहकार्य गर्नु हुन्न भन्ने हाम्रो कुरा हो ।’
भेलाका सहभागीले ‘रिभिजिट बीपी, रिभाइज्ड कांग्रेस’ को नीति अनुसार अघि बढ्नुपर्ने पनि बताएका थिए । पुरञ्जन आचार्यले शेखर कोइरालाले गएको महाधिवेशनमा कोशी, वाग्मती, गण्डकी प्रदेशबाट बहुमत ल्याएको, मधेस र सुदूरपश्चिममा शेरबहादुर देउवा अगाडि रहेको भन्दै आउँदो महाधिवेशनमा अनुकूल नतिजा आउने दाबी गरेका थिए ।
‘कुनै पनि जीवित पार्टीमा चाल, चेहरा र चरित्र आवश्यक हुन्छ’ भेलामा आचार्यले भनेका थिए ‘कांग्रेसको अबको बाटो ‘रिभिजिट बीपी, रिभाइज्ड कांग्रेस’ हुनुपर्छ ।’
विराटनगरमा भएको कोइराला पक्षको भेलामा भोजपुरका जिल्ला सभापति विनोद बान्तवा राई, सुनसरीका सभापति केदार भण्डारी, पाँचथरका जिल्ला सभापति रूपनारायण जबेगुलगायतका नेता सहभागी थिए । शेखर समूहले भेलामा १२ जिल्लाबाट नेता तथा कार्यकर्ताहरू प्रतिनिधिमूलक रुपमा सहभागी बनेको बताएको छ ।
शेखर आफै भने अनुपस्थित कार्यक्रममा समयमै महाधिवेशन गराउन पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने विषय जोडतोडले उठेको सहभागीहरुले बताएका छन् । शेखर पछिल्लो समय समयमै महाधिवेशन हुनुपर्ने भन्दै निरन्तर दबाब दिइरहेका छन् ।
‘यस्तो दबाबलाई देशव्यापी बनाउनुपर्छ भन्ने आवाज उठेको छ’, नेता गुरुराज घिमिरेले भने ‘पार्टीमा के हुनुपर्दथ्यो, के भइरहेको छ भन्ने विषयमा छलफल गर्न भेला आयोजना भएको हो । हामीले आग्रह पूर्वाग्रह नराखी भेलामा सबैलाई निम्ता गरेका हौं । उनका अनुसार पार्टीको सांगठनिक अवस्थाबारे चर्चा गर्नका लागि भेला आयोजना भएको हो ।
शेखर नआएको कोइराला पक्षको भेलामा सहमहामन्त्रीमा पराजित विजय चालिसे, केन्द्रीय सदस्य रुक्मिणी कोइराला, सहितका नेता पनि सहभागी थिए ।
नेता घिमिरेका अनुसार भेलामा १५ औं महाधिवेशनको सुनिश्चितता, तीनै तहका सरकारमा कांग्रेस र उपलब्धिहरू, कोशी प्रदेशको संगठन, चुनौतिहरू र समाधानका उपायहरूका विविध पक्षमा छलफल भएको थियो ।
आफू पक्षका नेताहरुले विराटनगरमा भेला भएर अहिलेको सरकार रहेसम्म कांग्रेसका लागि घातक हुने ठहर गरेकै बेला शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश अप्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्र्गी पार्टी भएकाले सत्ताको चाबी खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरेका छन् ।
‘त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ । हामी सरकारमा छौं तर सत्ताको चाबी हामीसँग छैन । यसको अर्थ तपाईंहरु आफैं लगाउनुस् । सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्यो नि’ उनले भने ।
कांग्रेसको भविष्यको प्रतिस्पर्धी एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने पनि कोइरालाले बताए । उनले भने ‘उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्नसकौं । त्यसो भन्न नसक्ने कार्यकर्ता नेपाली कांग्रेसका कार्यकर्ता होइनन् ।’
View : 136
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved