Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराट गोल्डकप: उद्घाटन खेलमा पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा

उद्‌घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विराटनगरमा बिहीबारदेखि सुरु भएको आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल यात्रा तय गरेको छ ।

विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको उज्यालोमा सम्पन्न भएको रात्रीकालिन गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै आरटिएफसीले अन्तिम आठको स्थान सुरक्षित गरेको हो ।

जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरूङले १–१ गोल गरे । पहिलो हाफको ३६ औं मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्लेले टच गर्दामा गोलमा परिणत भयो । 

आरटिएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पासलाई किन्जाङले आकर्षक गोलमा परिणत गरिदिए । 

पहिलो हाफमा दुई गोलले अग्रता बनाएको भुटानका लागि ६३ औं मिनेटमा सिद्धार्थ गुरुङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै लगेर डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत गर्दै टिमलाई ३–० को बलियो आधार बनाइदिए ।

पहिलो हाफमा दुई गोल खाएपछि दवाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रमक खेल खेल्यो । तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पुलिसका खेलाडीले पहिलो हाफमै गोल गर्ने थुप्रै अवसर चुकाएको थियो । पराजयसँगै पुलिस प्रतियोगिताबाटै बाहिरिएको हो । 

खेलको ७ औं मिनटेमा पुलिसका सन्जिव लामाको फ्रि–किक प्रहार बाहिरयो । १७ औं मिनेटमा उज्जल राईको डिबक्स भित्रबाट सेकेण्ड बार च्यापेर गरेको प्रहार बारमा लागेर फर्कियो । ३१ औं मिनेटमा पुलिसका प्रविण थापाले डिबक्स भित्रबाट गरेको कडा प्रहार बाहिरियो । ३७ औं मिनेटमा पुलिसको सिसिर चौधरीले गरेको हेडिङ प्रहार फ्रेममा पर्न सकेन ।

४० औं मिनेटमा भुटानका किन्ले गेतसनको प्रहार पोस्ट माथिबाट गयो । ७० औं मिनेटमा पुलिसको अनुराग लामिछानेको कडा प्रहार बार माथिबाट जाँदा पुलिसले सान्तवना गोल समेत फर्काउन सकेन् ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ खेलाडीहरु भएकोले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । 

‘केटाहरुले राम्रै प्रर्दशन गरेका थिए, तर पनि नतिजा आफ्नो पक्षमा आउन सकेन्, त्यसमा माथि दुःखी छैनौं ।’ ए डिभिजन लिगको लागि नयाँ खेलाडीहरु तयारी रहेको उनले बताए । अब सिमरा गोल्डकप र कपिलबस्तुको गोल्डकपको तयारीमा लाग्ने उनले बताए ।

विजेता भुटानका प्रशिक्षक उगेन दोर्जेलेले खेलाडीले राम्रो प्रर्दशन गरेको कारणले जित हाँसिल गरेको बताए । 

‘पहिलो हाफमा दुई गोल गरेपछि दबाव कायम गर्न सफल भयौं’ उनले भने, ‘दोस्रो हाफमा पनि खेलाडीहरुले राम्रो प्रर्दशन गरेपछि नतिजा आफ्नो अपक्षमा आएको छ ।’

खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शुक्रबारको खेल त्रिभूवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाण्डौंबीच हुनेछ ।

चैत २४ गतेसम्म संचालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता छ ।

गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ नगद पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।

View : 512

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved