Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

रहेनन् पीताम्बर दाहाल

राजनीतिमा निष्ठावान्, बौद्धिक र विचारक नेताको छवि बनाएका दाहाल नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए ।
उद्‌घोष सम्वाददाता
२८ जेठ २०८२, बुधवार

विराटनगर । नेपाली कांग्रेस मोरङका पूर्वसचिव तथा स्वतन्त्रता सेनानी पीताम्बर दाहालको सोमबार राति निधन भएको छ । 

मस्तिष्क पक्षघातका कारण लामो समयदेखि घरमै आराम गरिरहेका दाहालको विराटनगर–८ मधुमारास्थित आफ्नै निवासमा निधन भएको हो । उनी ७७ वर्षका थिए ।

राजनीतिमा निष्ठावान्, बौद्धिक र विचारक नेताको छवि बनाएका दाहाल नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए । 

अमृत अर्याल नेपाली कांग्रेस मोरङको सभापति हुँदा दाहाल जिल्ला सचिव थिए । उनी समसामयिक विषयमा पत्रपत्रिकामा लेखहरू पनि लेख्थे । 

कुनै समय दाहालले उद्घोष दैनिकमा नियमित स्तम्भ लेखेका थिए । उनले बीपी र समाजवाद स्तम्भमा आफ्नो समाजवादी दृष्टिकोण पस्कने गरेका थिए । उनको उद्घोष दैनिकमा प्रकाशित लेखहरूको संग्रह गरी पुस्तक पनि प्रकाशित भएको थियो ।

शान्त र शालीन छवि बनाएका दाहाल कसैलाई दुर्वचन नबोल्ने र अरुप्रति अविश्वास पनि नगरीहाल्ने खालको व्यक्तित्व भएको उनलाई नजिकबाट चिन्नेजान्ने व्यक्तिहरू बताउँछन् । 

पत्रकार अनन्तराज न्यौपानेको भनाइमा दाहाल अथक, अक्षुण्ण, निष्ठावान्, सिद्धान्तनिष्ठ र दुर्दमनीय स्वतन्त्रता सेनानी थिए ।

नेपाल ट्रेड यूनियन कंग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीले दाहाल मोरङ कांग्रेको संघर्षशील कर्मयोगी नेता भएका बताएका छन् । 

धेरैले दाहालको निधनले लोकतान्त्रिक आन्दोलन र विचारशील राजनीतिमा अपूरणीय क्षति पुगेको प्रतिक्रिया दिएका छन् । 

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदान सधैँ स्मरणीय रहने बताएका छन् ।

इमान्दारिता र आदर्शमा अडिग भएर राजनीति गर्दा पनि दाहालले यथेष्ट पद र उचाइ प्राप्त गर्न नसकेको उनलाई नजिकबाट नियालेका व्यक्तिहरू बताउँछन् । 

दाहालका सुरज, निरज र धीरज गरी तीन छोरा छन् । धीरज नेपाल पत्रकार महासंघ मोरङका सदस्य पनि हुन् । दाहालको मंगलबार दिउँसो विराटनगर हाटखोलास्थित परम विश्रान्ति श्मशानघाटमा अन्त्येष्टि गरिएको छ । 

अन्तिम संस्कारमा नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, बुद्धिजीवी र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

View : 373

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved