Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

सहकारीकर्मीलाई प्राथमिक उपचारसम्बन्धि तालिम

उद्‌घोष सम्वाददाता
२६ जेठ २०८२, सोमवार

विराटनगर । झापा, मोरङ र सुनसरीका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकलाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । 

एन्जल फाउण्डेशन उर्लाबारीको आयोजनामा करिव दुई सय सहकारीकर्मीलाई आइतबार तालिम दिइएको हो ।

सर्पदंश, कुकुरको टोकाई, हृदयघात र विभिन्न प्रकारका गुप्तरोगबारे सचेतना र उपचारमा सहयोग गर्दै आएको फाउण्डेशनले सहकारी संस्थाहरूमार्फत समुदायमा सचेतनाको कार्यक्रम अघि बढाएको हो ।

तालिममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्राथमिक उपचारका लागि आवश्यक ज्ञान र सीपको विस्तारले नागरिकमा गैरसरकारी संस्थाहरूप्रतिको विश्वास बढाउने बताए । उनले यस्तो कार्यले राज्यलाई समेत ठूलो सहयोग पुग्ने बताए ।

सहकारी संस्थाहरूले नागरिकको आर्थिक व्यवहारका साथै सामाजिक सचेतनामा समेत परिवर्तन ल्याउनु पर्ने मन्त्री भण्डारीले बताए । 

कोशी प्रदेशमा लागूपदार्थ दूर्व्यसन र आत्महत्या बढाएकोले यस क्षेत्रमा समेत काम गर्ने संघसंस्थाको खा“चो रहेको बताए । मन्त्री भण्डारीले मुलुकमा राजनीतिक परिवर्तनपछि विकासको गति बढेको दाबी गरे ।

तालिमका एन्जल फाउण्डेशनकी अध्यक्ष पुनमसिंह राजवंशीले विभिन्न वित्तीय संस्थाहरूसँगको सहकार्यमा स्वास्थ्य सचेतनाका कार्यक्रमलाई अघि बढाउँदै आएको बताइन् । 

प्रमुख कार्यकारी अधिकृत जीवनसिंह राजवंशीले प्राथमिक उपचारका क्षेत्र र विधिहरूबारे जानकारी गराए । त्यसैगरी जेनेरल म्यानेजर सन्तोष कार्कीले कोशी प्रदेशसहित मधेस र बाग्मती प्रदेशमा समेत प्राथमिक उपचार तथा समुदायमा वित्तीय सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

संस्थाका मार्केटिङ म्यानेजर सुशान्त पाठकले हालसम्म तीनवटा प्रदेशमा १५६ वटा स्वास्थ्य सचेतनामार्फत करीव ३० हजार नागरिकलाई प्राथमिक उपचारबारे जानकारी गराइएको बताए । 
१४१ वटा स्वास्थ्य शिविरबाट साढे १२ हजार जनालाई सेवा प्रवाह गरेको बताए ।

View : 94

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved