विपक्षीको प्रस्तावमा सत्ता पक्षको समर्थन
विराटनगर । कोशी प्रदेश सभाको आइतबार बसेको प्रदेशसभा बैठकमा सत्ता पक्षका केही सांसदहरूले विपक्षीको प्रस्तावको पक्षमा समर्थन जनाएका छन् । साढे दुई बर्षको संसदीय अभ्यास गरिसकेका सांसदहरूले विपक्षीको कुनै महत्वपूर्ण प्रस्तावमा जानेर हात उठाएर समर्थन जनाएका भने होइनन् ।
सत्ता पक्षका सांसदले प्रदेश सभामा कस्तो प्रस्ताव प्रस्तुत भएको हो भन्ने कुरा नै ख्याल नगर्दा प्रस्तावमाथिको मत विभाजनमा विपक्षीको प्रस्तावमा समर्थन जनाउन पुगेका हुन् ।
यसरी विपक्षीको प्रस्तावमाथि भएको मत विभाजनमा समर्थनमा हात उठाउनेहरू भने सांसदको हैसियतका मात्रै होइनन् ।
उनीहरू हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारकै दुई राज्यमन्त्रीहरू सिर्जना राई र भूमि राजवंशीदेखि पूर्वमुख्यमन्त्री समेत भइसकेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापा र कांग्रेसकै प्रमुख सचेतक गोपाल तामाङले पनि विपक्षीको प्रस्तावमा समर्थन जनाए ।
संसदीय अभ्यासमा कहिलेकाहीँ केही प्रक्रियामा झुक्किनु सामान्य भएपनि सत्ता पक्षसँग सामान्य बहुमत मात्रै भएको अवस्थामा निकै असामान्य पनि हुन जान्छ ।
सरकारका मन्त्रीदेखि सत्ता पक्षकै दलका नेताले समेत मत विभाजनका क्रममा विपक्षी दल नेकपा माओवादी केन्द्रको प्रस्तावमा समर्थन जनाउँदा सभामुख अम्बर बहादुर बिष्टले मुसुमुसु हाँसेर मजा लिइरहे ।
आफ्नै मन्त्रीले विपक्षीको प्रस्तावमाथि भएको मत विभाजनमा समर्थन जनाएपछि मुख्यमन्त्री कार्कीले भने हतार हतार सम्झाउँदै हात तल झार्न आग्रह गरेका थिए ।
आइतबार प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपक्षी दलका दुई सांसद गोम्बु शेर्पा र खिनु लङ्वा लिम्बूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री कार्कीले नीति तथा कार्यक्रममाथि उठेका विषयमाथि जवाफ दिइसकेपछि त्यसमा परेका संशोधनउपर छलफल गरिएको थियो ।
बैठकमा संशोधन प्रस्तावका बारेमा माओवादीका सांसद शेर्पाले कुरा राखे । उनको प्रस्तावका केही संशोधन सरकारका तर्फबाट मुख्यमन्त्री कार्कीले स्वीकार पनि गरे ।
माओवादीका सांसद शेर्पाले मुख्यमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै संशोधन फिर्ता नलिने बताए ।
सरकारले पनि संशोधन प्रस्तावका सबै विषय सरकारबाट स्वीकार नगर्ने भएपछि सभामुख बिष्टले उक्त प्रस्तावलाई निर्णयार्थ मतविभाजनमा लगेका थिए ।
माननीय सदस्यज्यूहरू, उक्त संशोधन प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र, उक्त संशोधन प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला’ सभामुख बिष्टले यसरी प्रस्तावलाई मतविभाजनमा लैजाँदा मन्त्री र सांसदहरूले नै संशोधन प्रस्तावमा ‘हुन्छ’ भन्ने पक्षमा हात उठाएर समर्थन जनाएका थिए ।
मुख्यमन्त्री कार्कीले हतारिंदै उनीहरूलाई हात तल झार्न आग्रह गरे । त्यसपछि ‘हुन्न’ भन्ने प्रस्तावमा पनि उनीहरूले समर्थन जनाएर मतविभाजनमा सहभागी बने ।
यो दृष्यले कोशी प्रदेश सभाका सांसदहरूले अझैपनि पर्याप्त रुपमा संसदीय अभ्यासमा चासो नदेखाएको संकेत देखाएको छ ।
View : 433
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved