अन्तर सरकारी वित्तीय हस्तान्तरण
विराटगनर । एक महानगरपालिकासहित १७ वटा स्थानीय तह रहेको मोरङले संघीय सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत आर्थिक बर्ष २०८२–८३ का लागि कुल ८ अर्व ७१ करोड ६५ लाख रुपैयाँ पाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आव २०८२–८३ का लागि १९ खर्व ६४ अर्व ११ करोडको बजेट सार्वजनिक गरेका थिए ।
उक्त बजेट अन्तरगत मोरङका ८ वटा नगरपालिकाले कुल ४ अर्व ४१ करोड ८९ लाख रुपैयाँ बजेट पाएका हुन् । जसमध्ये विराटनगर महानगरपालिकाले १ अर्व १७ करोड ६८ लाख बजेट प्राप्त गरेको हो ।
नगरपालिकातर्फ भने सबैभन्दा बढी बजेट सुन्दरहरैंचाले ९७ करोड ३ लाख पाएको छ ।
सबैभन्दा कम लेटाङ नगरपालिकाले ३६ करोड ५० लाख बजेट पाएको जनाइएको छ ।
गाउँपालिकातर्फ ३ अर्ब १२ करोड ८ लाख रुपैयाँ प्राप्त भएको मध्ये सवैभन्दा धेरै बुढीगंगा गाउँपालिकाले ४२ करोड ५३ लाख रुपैयाँ वित्तीय हस्तान्तरण रकम प्राप्त गरेको हो ।
कानेपोखरी गाउँपालिकाले सवैभन्दा थोरै ३६ करोड ९१ लाख रुपैयाँ प्राप्त गरेको जनाइएको छ ।
संघीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण, विशेष, सशर्त र समपुरक अनुदान प्रदान गर्ने गर्दछ ।
झापालाई ७ अर्ब ८६ करोड वित्तीय अनुदान
७७ मध्ये झापा जिल्लाले देशभरमै दोस्रो धेरै वित्तीय अनुदान प्राप्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका ८ नगरपालिका र ७ गाउँपालिकामा कुल ७ अर्ब ८६ करोड ४१ रुपैयाँ प्राप्त भएको छ ।
झापामा सवैभन्दा बढी मेची नगरपालिकाले १ अर्ब १० करोड ७१ लाख रुपैयाँ प्राप्त गरेको जनाइएको छ । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गृह पालिका गौरदह नगरपालिकामा सवैभन्दा कम ४१ करोड ३४ लाख रुपैयाँ प्राप्त भएको छ ।
गाउँपालिकामध्ये कमलले सवैभन्दा धेरै ४८ करोड ४१ लाख र सबैभन्दा कम हल्दिबारी गाउँपालिकाले ३२ करोड ३४ लाख रुपैयाँ प्राप्त गरेको हो ।
सुनसरीलाई ६ अर्ब ५१ करोड
सुनसरीले ६ अर्व ५१ करोड २६ लाख पाउँदा इटहरी उपमहानगरपालिकाले १ अर्व २१ करोड ४४ लाख र धरान उपमहानगरपालिकाले ८९ करोड २९ लाख प्राप्त गरेको छ ।
उदयपुरले ४ अर्व २२ करोड २२ लाख पाउँदा त्यहाँको त्रियुगा नगरपालिकाले सबैभन्दा बढी १ अर्व ८ करोड ७१ लाख प्राप्त गरेको छ ।
ओखलढुंगाले २ अर्व ८८ करोड १८ लाख, सोलुखुम्बुले २ अर्व ६८ करोड २४ लाख, खोटाङले ३ अर्व ८१ करोड ६० लाख, भोजपुरले ३ अर्व २३ करोड ६ लाख, धनकुटाले २ अर्व ९५ करोड ६९ लाख, तेह्रथुमले २ अर्व १० करोड ३२ लाख, संखुवासभाले ३ अर्व ४४ करोड ४६ लाख, इलाम जिल्लाले ४ अर्व २ करोड ४८ लाख, पाँचथरले ३ अर्व २६ करोड १ लाख, ताप्लेजुङले ३ अर्व २२ करोड १७ लाख बजेट प्राप्त गरेको जनाइएको छ ।
कोशी प्रदेशलाई १४ अर्ब ५० करोड
अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत कोशी प्रदेश सरकारले १४ अर्व ५० करोड ३३ लाख रुपैयाँ प्राप्त गरेको गरेको छ ।
यो रकम गत आर्थिक बर्षको भन्दा करीव चार करोड कम हो ।
चालु आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारले वित्तीय हस्तान्तरणतर्फ १४ अर्व ५४ करोड २६ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
View : 84
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved