Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

जितियामा बिदा दिनुपर्ने माग

उद्‌घोष सम्वाददाता
६ असोज २०८१, आइतवार

विराटनगर । थारू अभियन्ताहरूले जितिया पर्वमा राष्ट्रिय बिदा दिनुपर्ने माग गरेका छन । थारू महिला सभाले शनिबार विराटनगरमा आयोजना गरेको जितिया पर्व समारोहमा बोल्ने वक्ताहरूले यस्तो माग गरेका हुन । सो अवसरमा बोल्ने वत्ताहरूले तराईमधेशका बहुसंख्यक समुदायले जितियाले पर्व मनाउँदै आएको बताउँदै यस पर्वमा राष्ट्रिय बिदा दिनुपर्ने माग गरेका हुन् ।

थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका मोरङ कार्यवाहक सभापति भक्तिनाथ माझीले जितिया पर्वको ब्यापकता विस्तार हुँदै गएको बताउँदै सो पर्वका दिन राष्ट्रिय बिदा दिनुपर्ने  माग गरे  ।

सभाका महानगर अध्यक्ष विद्यानन्द माझीले तराई मधेशका २७ प्रतिशत बढी जनसंख्याले जितिया पर्व मनाउने गरेको बताए ।  ५०  भन्दा बढी जातजातिले जितिया मनाइरहदा पनि केन्द्रीय सरकारले राष्ट्रिय बिदा नदिनु दुखद रहेको उनको भनाइ छ।

आयोजक संस्थाकी अध्यक्ष जयमालाकुमारी सरदारले थोरै संख्याका जातजातिले मनाउने कतिपय पर्वहरूमा सरकारले विदा दिने गरेपनि जितिया पर्वमा बिदा नदिंदा ब्रतालुहरूले सास्ती झेल्नुपरेको बताइन् । थारू महिला अभियन्ता सुचि चौधरीले विभिन्न जातजाति र समुदायले अत्यन्तै श्रद्धापूर्वक मनाउने जितियालाई राष्ट्रिय पर्व घोषणा गरेर अविलम्ब राष्ट्रिय बिदा दिनुपर्ने माग गरिन् ।

कार्यक्रममा थारू महिलाहरू आफ्नो पारम्परिक पोशाक आचरा खड्की पहिरिएर सहभागी भएका थिए । कोशी प्रदेशसभा सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यमा भएको  सो कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरी, कोशी प्रदेशसभाका पूर्व सदस्य चुमनारायण तवदार लगायतको सहभागिता थियो ।

View : 123

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved