Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

युवापुस्ताको ‘फिट्नेसको’ सपनाः जिम

जुनु भट्टराई
२५ जेठ २०८२, आइतवार

विराटनगर । बिहानको झिसमिसेमै  विराटनगरका व्यायामशालामा पसिनाको गन्ध घोलिन्छ । ती ब्यायामशालाहरुमा ऐना अगाडि उभिएर डम्बल उचाल्नेहरू, ट्रेडमिलमा समयसँग दौडिदै गरेका अनुहारहरु, कानमा एयरफोन अनि आँखामा आफूलाई फिट बनाउने लक्ष्य स्पष्ट नै देख्न सकिन्छ । 

यही लक्ष्यले हिजोआज जिमलाई युवापुस्ताले केवल ‘फुर्सदको फेसन’ होइन, जीवनशैलिको एक अनिवार्य अभ्यास बनाउन थालेका छन् । 

त्यही लक्ष्य बोकेर बिहानको सूर्य उदाउन नपाउँदै ब्यायामशाला अर्थात जिम क्लब धाउने गर्छन्, विराटनगर मधुमाराका २६ बर्षीय साजन खनाल । 

जिम आज फिटनेश रहन अनिवार्य आवश्यकता जस्तै बनेको छ, विराटनगरस्थित शिबशक्ति जिम क्लबमा भेटिएका खनाल भन्छन्, आफूलाई स्मार्ट र फुर्तिलो देखिनु छ भने जिम उपयुक्त माध्यम बन्ने रहेछ ।

बिहान ६ बजेदेखि नै  जिम गोल्ड विराटनगर  पुग्ने २२ वर्षीय बीबीएसका विद्यार्थी रजन कार्की पनि अहिले आफ्नो  आत्मविश्वास बढाउन फिटनेश अनिवार्य भएको बताउँछिन् । शरीरलाई सधैँ स्वस्थ र तन्दुरुस्त बनाइराख्ने राम्रो माध्यम जिम भएको उनी बताउँछिन् । 

उनको अनुभवमा जिमले व्यक्तित्वमा निखारसमेत ल्याउने गर्छ । उनी भन्छिन्– ‘फुर्सदको समयमा योगालगायत अन्य फिजिकल एक्सरसाइज पनि गर्छु तर जिमले अति छिटो शरीरलाई फिट्नेस बनाउने भएकाले जिमको विशेष महत्व छ ।’

साजन र रजनी फिटनेशका लागि जिम धाउने प्रतिनिधि पात्र मात्र हुन् । अहिले जिम युवापुस्ताको लागि नौलो शब्द होइन । 

पहिले–पहिले दुब्ला मानिसहरू मोटाउन, मोटा मानिसहरूलाई दुब्लाउनका लागि फुर्सदमा जिम धाउने ट्रेन्ड थियो भने आज यसमा परिवर्तन भइरहेको छ । युवापुस्ता जिमलाई आवश्यकताको रूपमा लिन मन पराउँछन् ।

विशेषगरी सेलिब्रेटीहरू आफ्नो शरीरलाई अरू माझ आकर्षक देखाउन जिम जाने गरे पनि हिजोआज विद्यार्थी, व्यापारी, कर्मचारीलगायतका युवापुस्ताले जिमलाई आवश्यकता नै ठानी जिम गर्ने लहर चलेको छ ।

जिम शारीरिक तन्दुरुस्ती र निरोगिताको लागि महत्वपूर्ण एक्सरसाइज विधि हो । यसले शरीरलाई तन्दुरुस्त मात्र होइन आकर्षक, स्पूmर्ति सँगसँगै फिटनेस बढाउन मद्दत पुर्‍याउँछ । 

केही समय अघिसम्म हलिउड र बलिउडका सेलिबे्रटीको जस्तै ज्यान बनाउन लागि पर्ने युवापुस्ता हिजोआज जिमलाई आवश्यकताका रूपमा लिन थालेका छन् र एक्सरसाइजसँगै मसल्स बढाउन, चेस्टको साइज, आम्र्स बढाउन, पेटको कर्ड अप निकाली प्रभावशाली व्यक्तित्व बनाउन जिम धाउने गरेका शिबशक्ति जिम क्लबका सञ्चालक नवीनविक्रम शाह बताउँछन् । 

विराटनगरमा हाल सञ्चालनमा रहेका जिमहरूको संख्या ५० नाघिसकेको छ । ‘शिव शक्ति फिटनेस’, ‘फिट वल्र्ड’, ‘आर.के. फिटनेस’, ‘स्पार्टा फिटनेस’, ‘एनिमल जिम’ जस्ता नामबाट सञ्चालन भइरहेका यस्ता केन्द्रहरूमा कार्डियो, मसल्स ट्रेनिङ, पर्सनल ट्रेन्ड सेसन, डाइट काउन्सिलिङदेखि योगासम्मका सेवा पाइन्छन् । मासिक शुल्क न्यूनतम १ हजार पाँच सय रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म पर्छ ।

‘शिव शक्ति फिटनेस क्लब’ का प्रशिक्षक तथा सञ्चालक शाह भन्छन्, अहिलेका युवाहरू जिमलाई ‘लाइफस्टाइल’ भन्दा बढी ‘आवश्यकता’ मान्न थालेका छन् । 

शरीर तन्दुरुस्त भए आत्मविश्वास पनि स्वभाविक बढ्छ । उनका अनुसार स्कुल–कलेज पढ्ने युवा, बैंकमा जागिर खाने कर्मचारी, निजी क्षेत्रका व्यापारी, गृहिणीदेखि ५० वर्ष पार गरेका स्वास्थ्यमा सजग नागरिक पनि जिममा देखिन्छन् ।

त्यही जिममा भेटिएकी ३८ वर्षीया गृहिणी समीक्षा श्रेष्ठ दुई महिनादेखि नियमित जिम गर्दै आइरहेकी छन् । 

घरको कामले मात्रै शरीर चल्दैन । ढाड दुख्ने, थकाइ लाग्ने, आत्मबल कमजोर हुनेजस्ता समस्या बढ्न थालेपछि जिम सुरु गरेको उनले बताइन् । उनी भन्छिन्, ‘अहिले आफैंसँग खुसी छु, ऊर्जा पनि फर्केको महसुस हुन्छ ।’

फिट देखिनुको पछाडि सामाजिक दबाब पनि छ । कतिपय युवाले छिटो प्रभाव देखियोस् भनेर स्टेरोइडजस्ता हानिकारक रासायनिक सप्लिमेन्ट प्रयोग गर्न थालेका छन् । 

प्रशिक्षक शाह भन्छन्, दुई महिनामै हिरो बन्ने दबाबका कारण केही युवाहरू अनौपचारिक औषधि प्रयोग गर्छन्, जुन स्वास्थ्यका लागि खतरनाक हुन्छ । फिट्नेस कुनै दुई हप्ताको चमत्कार होइन, यो अनुशासन हो ।

जिम जाँदाको फाइदा केवल शरीरलाई मात्र सीमित हुँदैन । उनी भन्छन्, व्यक्तित्व विकासमा जिमको ठूलो भूमिका हुन्छ । 

शरीर फुर्तिलो भयो भने मानिसको हिडाइ, बोलाइ, अनुहारको भाव र आत्मविश्वासमा समेत फरक देखिन्छ ।

जिम अब व्यायाममात्र होइन, आत्मप्रस्तुति, सामूहिकता र जीवनदृष्टिको हिस्सा बन्दै गएको छ । 

गृहिणी समीक्षा, विद्यार्थी रजन, बैंक कर्मचारी सुनिता ढुंगाना, व्यापारी प्रकाश अग्रवाल जस्ता थुप्रै अनुहार एउटै ठाउँमा पसिना साट्दै छन् । स्वास्थ्यका लागि, आत्मबलका लागि, भविष्यका लागि ।

विराटनगरको भीडभाड र धुवाँधुलोबीच पनि बिहान–बेलुका ठूला स्पीकरबाट बज्ने बीटसँगै मांसपेशी तन्काइरहेका अनुहारहरू देख्दा लाग्छ—फिट्नेस अब फेसन होइन, जिन्दगीको ढाँचा बन्ने सुरमा छ ।

View : 123

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved