Biratnagar, Morang, Nepal
२९ चैत २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

ज्येष्ठ नागरिकको संरक्षणमा सरकार उदासिन

उद्‌घोष सम्वाददाता
२९ फागुन २०८०, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि तीनै तहको सरकारले सम्वोधन गर्न नसकेको बताए ।

वैदेशिक रोजगारीको कारण होस् या अध्ययनको सिलसिलामा सन्तान घरमा नबस्दा ज्येष्ठ नागरिकहरु एक्लै जीवन विताउनु परिरहेकोले ज्येष्ठ नागरिकको अधिकार  संरक्षणका लागि सरकारले सम्वोधन गर्नुपर्ने देखिएको मेयर कोइरालाले बताए ।

सोमबार विराटनगर–११ रामजानकी टोलस्थित ज्येष्ठ नागरिक सेवा समाजको दुईतले भवनको उद्घाटन समारोहमा बौल्दै मेयर कोइरालाले विराटनगर महानगरको सवालमा वडाले नै सक्ने जति सहयोग गर्ने बताए ।

मेयर कोइरालाले भने  ‘विराटनगर महानगरले गत वर्ष ६४ करोड ६ लाख राजश्व आम्दानी गरेकोमा त्यसमा ३५ करोड पुरानो बक्यौता तिरी बाँकी रकम सबै वडामा औषत २ करोडको दरले वितरण गरेकोले सिधै कुनै संस्थालाई सहयोग गर्ने रकम महानगर कार्यालयसँग हुँदैन तर पनि सकेको सहयोग गर्नेछौं ।’ 

चार वर्ष अगाडि खरिद गरिएको साढे आठ कठ्ठा जग्गामा २५ लाखको लागतमा दुईतले भवन निर्माण गरिएको समाजका सल्लाहकार वीरेन्द्र कार्कीले बताए ।

सो अवसरमा संस्थाकी अध्यक्ष अञ्जु कार्कीले ज्येष्ठ नागरिकको संरक्षणका लागि महानगरले सक्रिय भएर सेवा दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्की, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, ज्येष्ठ नागरिक योगेश्वर निरौला, संस्थाकी सचिव करुणा जोशी, संस्थापक सदस्य पिंगला भट्टराई, चेतना संरक्षण परिषदकी अध्यक्ष गंगा सुवेदीलगायतले ज्येष्ठ नागरिकको संरक्षण र अधिकार रक्षाका लागि सबै समाजका पक्षको सहयोग हुनुपर्ने बताए ।

सो ज्येष्ठ नागरिक सेवा समाजका लागि स्वर्गीय माता गंगादेवी राठीको स्मृतिमा छोराहरु जीतेन्द्र राठी एवम् मुकेश राठीबाट दुई लाख र पछि जीतेन्द्र राठीले ६० हजार थप रकम दिइ ठूलो योगदान दिएका छन् ।

सोको लागि अध्यक्ष अञ्जु कार्कीले एक लाख १० हजार र झापाका दीपक पोखरेलले एक लाख रकम दिएका छन् । अन्य जनाले २१ हजारदेखि ५१ हजारसम्म रकम सहयोग गरेका छन् ।
 

View : 208

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved