विराटनगर । विराटनगर–१४ स्थित जनता बाल आधारभूत विद्यालयका प्रधानाध्यापक राजेशप्रसाद यादव उत्कृष्ट प्रधानाध्यापक रुपमा पुरस्कृत भएका छन् ।
उनले उत्कृष्ट प्रधानाध्यापकका रुपमा पुरस्कृत हुँदै एक लाख नगद पुरस्कार पाएका छन् ।
दक्षिणी मोरङको सामुदायिक विद्यालयहरूको शिक्षण सिकाइको विभिन्न सूचाङ्कमा उत्कृष्ट भएको आधारमा प्रधानाध्यापक यादव जीवन विकास समाजबाट नगदसहित पुरस्कृत भएका हुन् ।
समाजले ‘जीवन विकास समाज, दिगो विकास कोष, २०७६’ अन्तर्गत विद्यालय र प्रधानाध्यापकलाई आइतबार पुरस्कृत गरको हो ।
यादवलाई जीवन विकास समाजका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कार वितरण समारोहमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पुरस्कारमार्फत सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि जीवन विकास समाजले महत्वपूर्ण योगदान दिएको चर्चा गरे ।
शिक्षाविद् जनार्दन नेपाल, जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डललगायतले खस्कँदो अवस्थामा रहेको सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधारका लागि जीवन विकास समाजले निरन्तर अभियान सञ्चालन गर्ने बताए ।
नेपालमा दिगो विकासका लक्ष्य अन्तरगतको गुणस्तरीय शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरेवापत ६ वर्षअघि जीवन विकास समाजलाई द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्टले तीन लाख अमेरिकी डलर बराबरको एजीफण्ड अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरेको थियो । सोही पुरस्कार राशिमा थप गरी ६ करोड बराबरको ‘जीवन विकास समाज, दिगो विकास कोष, २०७६’ स्थापना भएको थियो ।
सोही कोषबाट समाजले शिक्षा क्षेत्रमा विभिन्न पुरस्कार प्रदान गर्दै आएको छ ।
View : 304
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved