Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

२९१ पालिका उपप्रमुखको भेला विराटनगरमा हुँदै

उद्‌घोष सम्वाददाता
२२ जेठ २०८२, बिहिवार

विराटनगर । असल अभ्यासको आदान–प्रदान तथा स्थानीय तहहरूले बनाएका कानुनको कार्यान्वयनका सवालबारे छलफल गर्न विराटनगरमा देशभरका स्थानीय सरकारका उपप्रमुख भेला हुने भएका छन् । 

विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि ‘स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन’ विराटनगरमा हुन लागेको जनाइएको छ ।

सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख शिल्पा निराला कार्कीले कोशी प्रदेशका सवै पालिका, देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, मधेश प्रदेशका ७२ पालिका, बाग्मती प्रदेशका ४१  पालिका र बाँकी दुईवटा प्रदेशबाट केही नगरपालिका समेत गरी जम्मा दुई सय ९१ वटा पालिकाबाट उपप्रमुख तथा उपाध्यक्षलाई निम्तो पठाइसकेको जानकारी दिइन् । 

सम्मेलनको उद्घाटन पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने उनले बताइन् ।

सम्मेलन सम्पन्न गर्न विराटनगर महानगरपालिकाले कोशी प्रदेश सरकारको १० लाखसहित कुल ४२ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको जनाइएको छ ।

उपप्रमुख कार्कीले सम्मेलनमा स्थानीय तहले बनाएका कानुनको प्रभावकारी कार्यान्वयनको समीक्षा गर्ने, न्यायिक समितिको क्षेत्राधिकार वृद्धि गर्न संघीय र प्रदेश सरकारसँग घोषणापत्रमार्फत पहलका लागि लविङ गरिने बताइन् ।

तीन तहका सरकारहरूमध्ये संघीयता कार्यान्वयनको सबैभन्दा तल्लो निकाय तथा नागरिकको नजिकको सरकारका रूपमा चिनिने स्थानीय सरकारमा उपप्रमुखहरूलाई विकास निर्माणको अनुगमनदेखि नागरिकको दैनिक जीवनलाई सहज रूपमा संचालन गर्न पहल गर्ने जिम्मेवारी समेत तोकिएको छ । 

त्यसैगरी प्रमुखको अनुपस्थितिमा कार्यवाहक भएर काम गर्ने अधिकार समेत भए पनि कतिपय अवस्थामा त्यस्तो अधिकारबाट वञ्चित हुनु परेको विषयमा समेत छलफल हुने जनाइएको छ ।

सम्मेलनमा संवैधानिक व्यवस्था बमोजिम विकेन्द्रित न्याय प्रणालीमा देखिएका विवाद र न्यायिक समितिको संयोजक एवं पदाधिकारीमा चाहिने ज्ञान, सीप तथा कार्यदक्षताका बिषयमा विज्ञ काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । 

त्यस्तै वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिकाबारे डा गोपी खनाल र स्थानीय सरकार संचालन र विकास प्रक्रियामा उपप्रमुखहरूको भूमिकाबारे रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनले देशभरका पालिकाका उपप्रमुखहरूबीच राम्रा अभ्यासहरूबारे अनुशरण, ज्ञान दक्षता र सीपको अभिवृद्धि हुने अपेक्षा लिइएको उपप्रमुख कार्कीले बताइन् । 

महानगरपालिकाका मेयर नागेश कोइरालालले धेरै स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच समन्वयको अभाव देखिएका कारण राम्रोसँग काम गर्ने स्थानीय तहको अभ्यासबारे जानकारी गराइने जानकारी दिए ।

View : 224

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved