विराटनगर । संघीय सरकारले पठाएका कर्मचारीलाई हाजिर नगराउने विराटनगरका मेयर नागेश कोइरालाको अडानले महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमन अनिश्चित बनेको छ ।
गएको वैशाख ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयबमोजिम ४७ सहसचिवको सरुवा सूची सार्वजनिक गर्यो ।
त्यो सूचीअनुसार विराटनगर महानगरमा सहसचिव रामचरित्र मेहताको सरुवा भएको उल्लेख थियो ।
संघीय सरकारले महानगरसँग कुनै परामर्श नगरी कर्मचारीलाई पठाएको भन्दै मेयर कोइरालाले मेहतालाई हाजिर गर्न नदिने बताएका थिए ।
मेयर कोइराला अहिलेसम्म पनि सोही अडानमै कायम रहँदा मेहताको विराटनगर आगमन अनिश्चित बनेको छ ।
संघीय सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरेको डेढ महिना बितिसक्दा पनि मन्त्रालयको निर्णय कार्यान्वयन गर्न महानगर तयार भएको छैन ।
मेहतालाई हाजिर गराउन कोइराला तयार नहुँदा महानगर निमित्त प्रमुख प्रशासकीयको भरमा चलिरहेको छ ।
महानगर प्रमुख कोइरालाले तीन तहको सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने संवैधानिक व्यवस्थालाई संघ सरकारले वेवास्ता गरेको बताउँदै आएका छन् ।
‘स्थानीय तहलाई केही सोध्दै नसोध्ने शैली संघीयताको मर्मअनुसार थिएन’, उनले भनेका थिए ‘नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हामी हाजिर गराउँदैनौं ।’
युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सहसचिव मेहतालाई हाजिर गर्न नदिने सार्वजनिक घोषणा मेयरले गरेपछि महानगर र संघ सरकारबीच द्वन्द्व बढ्ने जोखिम बढेको थियो ।
यद्यपि सहसचिव महेता जबरजस्ती गरेर हाजिर हुन नआउँदा अहिलेसम्म अन्यत्र जस्तो प्रत्यक्ष टसलको अवस्था निम्तिएको छैन ।
विराटनगरका लागि सरुवा भएका सहसचिव मेहता अहिले पनि युवा तथा खेलकुद मन्त्रालयमै कार्यरत छन् ।
‘म अहिले पनि मन्त्रालयमै छु’, उनले आइतबार उद्घोषसँग भने ‘मेयरले नआउनु भनेपछि म विराटनगर गएको छैन ।’
उनका अनुसार सरुवाको भोलिपल्ट अर्थात वैशाख १० गते मेयर कोइरालाको सचिवालयबाट फोन आएको थियो ।
‘मेयर साबले तपाईलाई हाजिर नगराउने भन्नुभएको छ, नआउनू होला’, सचिवालयको भनाइ उदृत गर्दै मेहताले भने ‘त्यसपछि भेरिफाइ गर्न मैले मेयरलाई नै फोन गरेँ । उहाँले विभिन्न कारणले गर्दा म तपाईलाई हाजिर गराउन सक्दिन भन्नुभयो । मेरो मर्यादाले पनि त्यसपछि आउन दिएन ।’
मेयरसँगै मिलेर काम गर्नुपर्ने ठाउँमा मेयरकै इच्छाविरुद्ध आफू जान नचाहेको मेहताको भनाइ छ ।
‘मलाई संघीय सरकारले विराटनगर पठाउने निर्णय गरेको थियो, मेयरले मान्नुभएन’, उनले भने ‘सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्ला भन्ने प्रतिक्षामा छु ।’
संघीय सरकारको निर्णय कार्यान्वयनमा अटेरी गर्ने स्थानीय सरकारको मुल्यांकन पनि भइरहेकै होला भन्दै सहसचिव मेहताले भने ‘विराटनगर महानगर कसैको नाममा रजिष्ट्रेसन पास भएको होइन होला । हेर्दैै जाउँ अब के हुन्छ ।’
सहसचिव मेहताले यसअघि इटहरी, इनरुवासहित सुनसरीका केही पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका छन् ।
विराटनगर महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको अवकाशपछि रामप्रसाद ढुंगेल अहिले कामु प्रमुख प्रशासकीय अधिकृत छन् । उनी उपसचिव हुन् ।
View : 79
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved