Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

लगानी बिना उद्यम विकास हुँदैन : मन्त्री मगर

उद्‌घोष सम्वाददाता
७ चैत २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले लगानी बिना उद्यमको विकास सम्भव नहुने बताए । 

निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिसँगको सहकार्यमा निजी क्षेत्रका संघसंस्थाले बुधबार विराटनगरमा आयोजना गरेको उद्यमी केन्द्रीत लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मगरले कोशी प्रदेश सरकारले समेत लगानी सम्मेलनको तयारी गरिरहेको बताए ।

उद्यमशिलताको विकासका लागि लगानीकर्ताहरूमार्फत कोशी प्रदेशमा लगानी वृद्धिको विषयलाई सम्बोधन गरिने मन्त्री मगरले बताए । 

उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले नेपाली वस्तुहरूले विदेशी बजार पाउन सके प्रदेशको थप आर्थिक विकास हुने बताए । 

आध्यन्त फन्ड म्यानेजमेन्टका सह–संस्थापक र निर्देशक मनोज पौडेलले कोशी प्रदेशसँग गहिरो र दीर्घकालीन सम्बन्ध कायम गरेर काम गर्न अवसर प्राप्त गरेको बताए । उनले कोशी प्रदेशका विभिन्न व्यवसायको विकासका लागि परियोजना अन्तरगत ८२ करोड रुपैयाँ लगानी गरिएको जानकारी दिंदै यस क्षेत्रमा अझै अपार सम्भावनाको अवसर रहेको बताए ।

नेपाल बजार विकास कार्यक्रमकी टिम लिडर रीमा श्रेष्ठले एक्सिलेरेटर कार्यक्रमले व्यवसाय वृद्धि गर्न र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले स्विस सरकारका विज्ञहरूले खेतिपातीलाई अर्गानिक बनाउनका लागि प्रदान गरेको प्राविधिक सहायताले नेपालको बजारमा समेत सकारात्मक प्रभाव पारेको बताइन् ।

कृषि, डिजिटल सेवा प्रदायक र पर्यटनसँग सम्बन्धित कोशी प्रदेशका उद्यमीहरू र यस क्षेत्रका लगानीकर्ताहरू सहभागी भएर लगानी सम्मेलन गरिएको हो । 

आध्यन्त एक्सिलेरेटर कार्यक्रम अन्तरगत भएको लगानी सम्मेलनमा आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सहकार्य गरेका हुन् । 
लगानी सम्मेलनमा कोशी प्रदेशमा लगानीका र उद्यमशिलताका क्षेत्रहरूको अवस्था प्रस्तुत गरिएको जनाइएको छ ।

हिमालयन ह्वाइट ड्रप डेरीका योगेन्द्र गिरी, बीएण्डबी ब्रिडिङका भीम श्रेष्ठ, ब्राइट फिडका गोपाल श्रेष्ठ, नेपालीरिका होटलका आकाश दुलाल, गोर्खा टी स्टेटका सौरभ थपलिया, प्रथम आईटीका सुरज चिमरिया र जयपति डेरीका यादव ढकालसहित सात जना उद्यमीले आफ्नो उद्यमबारे प्रस्तुतिकरण गरेका छन् । यी उद्यमीहरूका लागि लगानीकर्ताको रूपमा टिम भेन्चर्स, अल्फा पल्स र एनआईएमबीएस क्यापिटल सहभागी भए ।

जयपति कृषि फर्म र डीभी एक्सलेसले कामधेनु डेरीका एक सय किसानलाई दुई लाख रुपैयाँसम्मको बिना धितो ऋण दिन एनआईएमबीएस बैंकमार्फत प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

लक्ष्मी सनराइज बैंककी प्रमुख व्यवसाय अधिकृत आरती राज्यलक्ष्मी रानाले एक्सिलेरेटर कार्यक्रमहरूले व्यवसायको आत्मविश्वास बढाउन सकारात्मक भूमिका खेल्ने बताइन् । कृषि विकास बैंकका उप–महाप्रबन्धक मिनराज पोखरेलले कृषि र गैर–कृषि उद्यमहरूलाई ऋण उपलब्ध गराउन बैंक इच्छुक रहेको बताए ।

परियोजनाको कार्यकाल समाप्त भएपछि पनि व्यवसायहरूलाई निरन्तर वृद्धि गर्न सेवा प्रदान गर्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशीले जनाएको छ । 

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रम अन्तर्गत महासंघमा स्थापना गरिएको ‘बिजनेस ग्रोथ सेन्टर’ बारे जानकारी दिए । 

उक्त सेन्टरले व्यवसाय विकास सेवाहरू खोज्नुका साथै उद्यमलाई प्रत्यक्ष रूपमा समर्थन प्रदान गर्ने बताए ।

View : 61

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved