विराटनगर । जगतसिंह श्रेष्ठ बंश समाज नेपाल भेला भोजपुरमा भव्यताका साथ सम्पन्न भएको छ ।
भेलाको अवसरमा समाजले १० बर्षदेखि संचालन गरेका गतिविधिहरूलाई समेटेर तयार पारेको स्मारिका विमोचन गर्नुका साथै १५ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरेको छ ।
भेलामा सहभागी समाजका सदस्यहरूलाई भोजपुर नगरपालिका–१२ पैयापानीस्थित सार्वजनिक आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गर्नुका साथै राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
देशभरी छरिएर रहेका जगतसिंह श्रेष्ठ समाजका सदस्यहरू सहभागी भेलामा प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले समाजको भोजपुर शाखालाई आगामी दिनमा विभिन्न क्रियाकलाप र संस्थागत विकास गर्न एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाए ।
काठमाडौं सुनधारास्थित मखन टोलबाट करीव वि.सं. १८२५ मा भोजपुर गएका जगतसिंह श्रेष्ठ र कृष्ण श्रेष्ठले वि.सं. १८७४ मा चौधरी मान पदवी प्राप्त गरेका थिए । त्यसैको स्मरण गर्दै समाजको केन्द्रीय समितिबाट उक्त ऐतिहासिक स्थलमा भेला गरेको समाजका महासचिव ओम प्रकाश श्रेष्ठले जानकारी दिए ।
समाजका भोजपुर शाखा अध्यक्ष शरण कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भेलामा समाजका केन्द्रीय अध्यक्ष यव कुमार श्रेष्ठ, काठमाडौं शाखा अध्यक्ष इन्द्र श्रेष्ठ, सल्लाहकारहरू युवराज श्रेष्ठ र चन्द्र श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
View : 53
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved