राजनीति सेवा हो । व्यापार होइन । सेवा भावनाले राजनीतिमा प्रवेश गर्नु उत्तम विषय हो । राजनीति पेशा होइन । राजनीतिलाई आधार मानेर देश र जनताको पक्षमा विकास गर्नु राजनीतिको मुख्य उद्देश्य हो ।
एउटै परिवारका सदस्यहरू जब राजनीति क्षेत्रमा सक्रिय भएर शक्ति र पद तथा प्रभाव एकै परिवारभित्र केन्द्रित हुने अवस्थालाई लोकतन्त्र मान्न सकिंदैन । बुबाछोरा, श्रीमानश्रीमती, दाजुभाइ, काकाकाकी तथा परिवारका नजिकका नातेदारहरू एउटै राजनीतिक दलमा वा शासनमा प्रभावकारी भूमिकामा देखिन्छन् भने लोकतन्त्र स्वतः कमजोर हुदै जान्छ ।
दक्षिण एसियाली मुलुकहरूमा पछिल्लो समय पारिवारिक राजनीति मौलाउँदै गएको कतैबाट लुकेको छैन । भारतमा नेहरू परिवारको राजनीतिलाई नजिकबाट हेर्दा पण्डित जहरलाल नेहरू, इन्दिरा गान्धी, राजिव गान्धी, सोनिया गान्धी हुँदै राहुल गान्धीसम्म पारिवारिक राजनीति देखिन्छ ।
त्यसैगरी पाकिस्तानमा भुट्टो परिवारको राजनीति कुनै समय राम्रै मौलाएको थियो । पाकिस्तान जनता पार्टीबाट भुट्टो परिवारले राजनीतिको राम्रै फाइदा लिएको इतिहास छ । पाकिस्तानको इतिहासमा आफ्ना पितापछि पहिलो महिला प्रधानमन्त्रीका रुपमा बेनजीर भुट्टो प्रधानमन्त्री भएकी थिइन् । त्यसैगरी पाकिस्तान मुस्लिम लिगबाट नवाफ शरिफको परिवार पनि राजनीतिमा होमिएको थियो । बाङ्गलादेशको अवस्था पनि राजनीतिमा राम्रै इतिहास रचेको छ ।
बङ्गलादेशका राष्ट्रिय पिता शेख मुजीबुर रहमान तथा उनको राजनीतिक दल अवामी लिग पनि पारिवारिक राजनीतिमा रुमलिएको थियो । शेख हसिना पटक–पटक बङ्गलादेशको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । हाल शेख हसिना भारतमा निर्वासनमा रहनुभएको छ । बाङ्गलादेशको अर्को पारिवारिक राजनीति भनेको जिया परिवार हो ।
ज्याउर रहमान खालीदा जियाले बाङ्गलादेश नेसनल पार्टीबाट राजनीति गरेका थिए । बाङ्गलादेशमा हसिना विरुद्ध खालिदा राजनीति भनेर चिनिन्थ्यो । त्यसैगरी श्रीलंकामा पनि राजापाक्षे परिवारबाट तीन पुस्तासम्म राजनीति गरेको इतिहास पाइन्छ । एउटै परिवारबाट सांसद मन्त्री पटकपटक भएका उदाहरण भेटिएको छ ।
श्रीलंकाकै अर्को राजनीतिक परिवार भनेको बन्दरनाइके परिवार हो । यस डब्लू आर डी बन्दरनाइके श्रीमाओ बन्दरनाइके तथा उनीहरूको छोरी चन्द्रिका कुमारातुङ्गा राजनीतिमा निकै पोख्त थिए ।
नेपालको परिपेक्ष्यमा २००७ सालपछि राजनीतिमा कोइराला परिवारको मात्र नाम चर्चामा देखिन्छ । बीपी कोइराला मात्रिकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, सुजाता कोइराला, शेखर कोइराला, शशांक कोइरालालगायतले पारिवारिक राजनीतिमा चाख राखेका थिए । समानान्तर रूपमा देउवा परिवार दाहाल परिवार भट्टराई परिवार लगायतले नेपालमा पारिवारिक राजनीति गरेको आरोप लाग्ने गर्दछ ।
एउटै परिवारबाट सांसद मन्त्री भएका थुप्रै उदाहरणहरू भेटिन्छन् । २०४६ सालको जनआन्दोलनपछि नेपालको राजनीतिमा परिवारवाद मौलाएको कतैबाट लुकेको छैन । हाल पनि संसदभित्र श्रीमानश्रीमती, दाजुभाइ, दिदीबहिनी नजिकका नातेदारहरु खोज्दै जाँदा भेटिन्छन् होला ।
२०६२–६३ को ऐतिहासिक राजनीतिक परिवर्तनपछि पारिवारिक राजनीति स्पष्ट रुपमा मौलाएको कतैबाट लुकेको छैन । आफू प्रत्यक्षतर्फ उम्मेदवार हुँदा श्रीमती, साली, भाञ्जाभाञ्जी, छोरीज्वाईं, बुहारीलगायतलाई समानुपातिकमा अग्राधिकार दिएर संसदभित्र छिराएका छन् ।
दाहाल परिवारबाट पुष्पकमल दाहाल प्रचण्ड, हितराज पाण्डे ज्वाईं, रेणु दाहाल छोरी, बिना दाहाल बुहारी, जीवन आचार्य, ज्वाईंलगायतलाई स्थानीय तह प्रमुख प्रदेश वा संघीय संसदमा विगतमा देखिएका थिए । विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले, निवर्तमान माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपालगायतका दलहरूले समानुपातिक सूचीमा आफ्नो परिवारका नजिकका व्यक्तिहरूलाई मौका दिएको कतैबाट लुकेको छैन ।
पारिवारिक राजनीति लोकतन्त्रका लागि कमजोर पक्ष हो । व्यक्तिले अवसर नपाउने अवस्था देखिन्छ भने भ्रष्टाचार तथा पक्षपात बढ्ने सम्भावना रहन्छ । वर्तमानका जनता शिक्षित र डिजिटल प्रविधिमा पोख्त छन् । राजनीति के हो जनताले बुझिसकेका छन् । राज्यबाट प्राप्त अवसरहरू परिवारले मात्र पाउनुपर्छ भन्ने मान्यता गलत हो । विगतमा राजनीतिक दल र तिनका नेताहरूले राजनीति नियुक्तिका पदहरूमा आफ्ना र नातागोताका व्यक्तिहरुलाई नियुक्ति गरेको युवा पुस्ताले रुचाएका थिएनन् ।
वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान श्रममन्त्री दीपककुमार शाहले आफ्नै श्रीमती जुनु श्रेष्ठलाई बिमा बोर्डको सदस्यमा नियुक्ति गरेका थिए । चौतर्फी आलोचना पश्चात राष्ट्रिय स्वतन्त्र पार्टीले माननीय दीपककुमार शाहलाई मन्त्रीबाट पदमुक्त गरिसकेको छ ।
योग्य व्यक्ति हजारौं हुँदाहुँदै आफ्नै मान्छेलाई राजनीतिक नियुक्ति दिनु निन्दनीय कार्य हो । विशेषगरी २०७२ पछि संसदीय फोहोरी खेलमा आफ्ना मान्छे मात्र राजनीति नियुक्ति दिने परम्परालाई वर्तमानको सरकारले चुनौती दिंदै मन्त्रीलाई पदमुक्त गरेकोमा धेरै जनताहरू खुसी छन् ।
पारिवारिक राजनीति भनिएका विकास विरोधी र जनता विरोधीका रुपमा चित्रण गर्न सकिन्छ । पुराना दलहरूले विकृत पद्धति अवलम्बन गरेकाले राजनीति विवादित हुँदै आएको थियो ।
अबका दिनहरूमा सफा राजनीतिको लागि नातावाद, परिवारवाद, कृपावाद, आफन्तवाद, धनवाद, डनवाद, अर्थवादलाई तिलाञ्जली दिएर लोकतन्त्रलाई संस्थागत र बलियो बनाउनु आवश्यक देखिन्छ ।
View : 123
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved