Biratnagar, Morang, Nepal
३० भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आयल निगमको डिजेल चोरी गर्दै गरेको आरोपमा तीन ट्याङ्करसहित पक्राउ

उद्‌घोष संवाददाता
३० भदौ २०८३, मङ्गलवार

Advertisement

भैरहवा । रुपन्देहीमा नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा तीनवटा ट्याङ्करसहित एक जना पक्राउ परेका छन् ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगम परिसरमा मंगलबार ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त प्रहरी टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए । अर्को एउटा ट्याङ्कर भने प्रहरी टोली देखेपछि घटनास्थलबाट भागेको थियो । प्रहरीले पछ्याउँदै उक्त ट्याङ्करलाई समेत नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका तीनवटै ट्याङ्कर र पक्राउ परेका व्यक्तिमाथि पेट्रोलियम पदार्थ चोरीसम्बन्धी घटनामा थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

View : 46

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved