Biratnagar, Morang, Nepal
२ माघ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

राष्ट्र बैंक प्रतिवेदन

कोशी प्रदेशमा औद्योगिक कर्जा बढ्दा कृषि कर्जा घट्यो, अनियमित विद्युतले उद्योगलाई चुनौति

उद्‌घोष सम्वाददाता
१ माघ २०८१, मङ्गलवार

विराटनगर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशको आर्थिक वृद्धि दर ३ दशमलव ५१ प्रतिशतमा सीमित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरिएको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक वर्षको आर्थिक वृद्धि भने २ दशमलव १३ प्रतिशत भएको संशोधित अनुमान प्रस्तुत गरिएको छ । 

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ मा नेपालको राष्ट्रिय कूल ग्राहस्थ्य उत्पादनमा कोशी प्रदेशको योगदान १५ दशमलव ८४ प्रतिशत हुने उल्लेख गरेको छ । गत आर्थिक वर्षमा भने कोशीको योगदान केही बढी अर्थात १५ दशमलव ८८ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशको कूल ग्राहस्थ उत्पादनमा सवैभन्दा बढी योगदान सेवा क्षेत्रको उल्लेख गरिएको छ । सेवा क्षेत्रले ५० दशमलव ८८ प्रतिशत योगदान गर्दा कृषि क्षेत्रको ३२ दशमलव ८० प्रतिशत र उद्योग क्षेत्रको १६ दशमलव ३२ प्रतिशत योगदान रहेको जनाइएको छ ।

आर्थिक वर्ष २०७९–८० को तुलनामा आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १ दशमलव ५५ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रादेशिक प्रतिवेदनमा उल्लेख छ । 

समीक्षा अवधिमा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसार लगायत बालीले ढाकेको क्षेत्रफल घटेको जनाइएको छ । जसका कारण समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको हो । कोशी प्रदेशमा समग्र कृषि बालीको उत्पादन भने गत आवको तुलनामा २०८०–८१ मा १ दशमलव १३ प्रतिशतले बृद्धि भएको उल्लेख छ ।

धान ७ दशमलव ४५ प्रतिशत र कोदोको उत्पादन ० दशमलव ८६ प्रतिशतले बढेको छ । त्यस्तै तरकारीको उत्पादन १ दशमलव ९८ प्रतिशत, चिया ० दशमलव ०१ प्रतिशत, कफी १ दशमलव २३ प्रतिशत र महको उत्पादन ० दशमलव २८ प्रतिशतले बढेको छ । तर फलफूलको उत्पादनमा ० दशमलव ९४ प्रतिशत र मसला ८ दशमलव ०३ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ ।

कोशी प्रदेशमा कृषि कर्जा घटेको छ । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जामा २ दशमलव १० प्रतिशतले घटेको हो । कृषि कर्जा ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजारमा सीमित भएको हो ।

२०८१ असार मसान्तसम्म कूल प्रवाह भएको कर्जामध्ये कृषि क्षेत्रको कर्जाको अंश १० दशमलव १२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

कृषि कर्जा घट्दा औद्योगिक क्षेत्रमा भएको कर्जा प्रवाह भने बढेको छ । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कूल औद्योगिक कर्जा ८ दशमलव ११ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ६ दशमलव ६४ प्रतिशतले मात्रै बढेको थियो । 

उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१ दशमलव ३ प्रतिशत रहेको जनाइएको छ । त्यस्तै वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग भने सबैभन्दा कम ४ दशमलव ४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक वर्ष २०८०–८१ मा उद्योगहरूको उत्पादनमध्ये गार्मेण्टको उत्पादन सबैभन्दा बढी २०२ प्रतिशतले १ प्रतिशतले बढेको छ । तर घरेलु धातुका सामानको उत्पादन भने सबैभन्दा बढी ४५ दशमलव ७ प्रतिशतले घटेको जनाइएको छ ।

आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२ दशमलव ७ प्रतिशत रहेको छ । अर्थिक वर्ष २०७९–८० मा उक्त उद्योगहरूको औसत क्षमता उपयोग ५१ दशमलव १ प्रतिशत रहेको थियो । 

राष्ट्र बैंकको अध्ययनका क्रममा समेटिएका उद्योगहरूमा काम गर्ने श्रमिकको संख्या ८ दशमलव १ प्रतिशतले घटेका छन् । 

४३ वटा उद्योगहरूमा गत आव २०७९–८० मा १८ हजार ४६१ जना श्रमिक कार्यरत रहेकोमा समीक्षा वर्षमा ती उद्योगहरूमा १६ हजार ९५८ जना श्रमिक कार्यरत रहेको जनाइएको छ । 

सुनसरीबाट ९, मोरङबाट ६ दशमलव ९, इलाममा १२ दशमलव ९, झापाबाट ४ र उदयपुरबाट १ दशमलव १ दशमलव ३ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।

कर्जा निक्षेप अनुपात १२१ दशमलव १४ प्रतिशत

२०८० असार मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३२ दशमलव ३० प्रतिशत कायम रहेकोमा २०८१ असार मसान्तमा यसको अनुपात १२१ दशमलव १४ प्रतिशत रहेको छ । २०८१ असार मसान्तसम्म परिचालित कूल निक्षेपमा चल्ती निक्षेपको अंश ६ दशमलव ५३ प्रतिशत, बचत निक्षेपको अंश ४४ दशमलव २७ प्रतिशत, मुद्दति निक्षेपको अंश ४३ दशमलव १९ प्रतिशत र अन्य निक्षेपको अंश ६ दशमलव ०१ प्रतिशत रहेको जनाइएको छ ।

२०८१ असार मसान्तसम्म कोशी प्रदेशमा वाणिज्य बैंकको ७५४, विकास बैंकको १९५, वित्तीय कम्पनीका ३६ र लघुवित्त वित्तीय संस्थाका ८५२ गरी कूल १ हजार ८३७ वटा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या रहेका छन् । 

२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप परिचालन १३ दशमलव ३८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब र कर्जा प्रवाह ३ दशमलव ८१ प्रतिशतले वृद्धि भई ५ खर्ब ७८ अर्ब पुगेको जनाइएको छ ।

६५३ मेगावाट विद्युत उत्पादन क्षमता

कोशी प्रदेशमा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूको कूल उत्पादन क्षमता ६५३ दशमलव ५५ मेगावाट कायम भएको छ । समीक्षा अवधिमा निर्माण सम्पन्न भएका ६ वटा जलविद्युत र एक सोलार विद्युत गरी सात वटा आयोजनाबाट १६८ दशमलव ५ मेगावाट विद्युत उत्पादन क्षमता थपिएको छ । 

कोशी प्रदेशमा सञ्चालित जलविद्युत आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरूबाट सबैभन्दा बढी २४५ दशमलव ४ मेगावाट विद्युत उत्पादन क्षमता कायम भएको जनाइएको छ ।

कोशी प्रदेशमा सबैभन्दा बढी इलाममा १६, संखुवासभामा ८, सोलुखुम्बुमा ७, पाँचथर र ताप्लेजुङमा ५–५, खोटाङ र भोजपुरमा ३–३, तेह्रथुम र ओखलढुंगा १–१ वटा जलविद्युत आयोजना रहेका छन् । झापा र मोरङमा दुईवटा सोलार विद्युत आयोजना रहेको जनाइएको छ ।

सेवा क्षेत्रमा ३ खर्ब ७९ अर्ब कर्जा प्रवाह

२०८० को असार मसान्तसम्मको तुलनामा २०८१ असार मसान्तसम्म कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जाको दर ३ दशमलव २८ प्रतिशतले बढ्दा ३ खर्ब ७९ अर्ब रुपैयाँ यो क्षेत्रमा लगानी भएको छ । 

२०८१ असार मसान्तमा कोशी प्रदेशमा सरकारी–सामुदायिक विद्यालय, संस्थागत–निजी र प्राविधिक शिक्षालयको संख्या कूल ७ हजार ९७ रहेको छ । २०८१ असार मसान्तसम्म सरकारी र निजी गरी कूल १६२ वटा अस्पताल रहेको जनाइएको छ ।

आव २०८०–८१ मा कोशी प्रदेशमा सवारी साधनको दर्ता बढेको छ । राष्ट्र बैंकको अध्ययन अनुसार कोशीमा कूल ४० हजार ८ सय ५६ वटा नयाँ सवारी साधन दर्ता भएका छन् । जुन आ.व. २०७९–८० को तुलनामा ३३ दशमवल ७५ प्रतिशतले बढी हो । 

बढ्यो होटल अकुपेन्सी

आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशमा होटलहरूको औसत अकुपेन्सी दर ४१ दशमलव ८० प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको तुलनामा यो दर ३ दशमलव ९१ प्रतिशतले बढेको हो । 

आव २०७९–८० मा होटलहरुको औसत अकुपेन्सी दर ३६ दशमलव २९ प्रतिशत रहेको थियो । अकुपेन्सी बढेपनि होटलहरूमा आन्तरिक पर्यटकको संख्या भने ४ दशमलव ७७ प्रतिशतले घटेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने आन्तरिक पर्यटकको संख्या ५९ दशमलव ३२ प्रतिशतले बढेको थियो । 

आ.व. २०७९–८० को तुलनामा २०८०–८१ मा कोशी प्रदेशमा जहाज उडान संख्यामा ६ दशमलव २८ प्रतिशतले कमी आएको छ । २०८० असार मसान्तको तुलनामा २०८१ असारसम्म सहकारी संस्थाको कूल भने पुँजी ५.८९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

विद्युत अनियमित हुनु उद्योगको चुनौति

वर्तमान समयमा कोशी प्रदेशमा रहेका उद्योगहरूमा विद्युत आपूर्ति अनियमित भई उद्योगहरूले उत्पादन कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको राष्ट्र बैंकले जनाएको छ । यस्तो अवस्थामा उद्योगहरूमा विद्युत आपूर्ति नियमित गर्न आग्रह गरेको छ । 

भारतसँगको खुला सिमाना भएका कारण अवैध रुपमा हुने चोरी पैठारीले नेपालमै उत्पादन हुने वस्तुहरूको बिक्री वितरणमा कमी आउने गरेको छ । जसका कारण नेपाली उत्पादनको बिक्री घट्ने र राजस्व संकलनमा बाधा पुगेको उल्लेख छ । सरकारले कोशी प्रदेशका खुला सीमाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्नुपर्ने राष्ट्र बैंकले सुझाव दिएको छ ।

कृषि, उद्योग, सेवा तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित तथ्याङ्क प्रदायक निकाय, प्रतिष्ठान तथा संघ– संस्थाहरूमा सम्बन्धित सूचना तथा तथ्याङ्कको व्यवस्थित अभिलेख नभएको पनि जनाएको छ ।

View : 37

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved