विराटनगर । समुदायमा आधारित पुनर्स्थापना (सीबीआर) विराटनगरको आइतबार सम्पन्न ३६औँ वार्षिक साधारणसभामा संस्थामा उत्कृष्ट सेवा पुर्याए बापत परमेश्वर सरदारलाई वर्षको उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित गरिएको छ ।
कोशी प्रदेशसभाका सदस्य तथा पूर्व मन्त्री भीम पराजुलीले उनलाई नगद प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका पराजुलीले अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापनामा सरकारी तहबाट पर्याप्त ध्यान र ठूलो सहयोग पुग्न नसकिरहेको अवस्थामा सीबीआरले समुदाय स्तरमा पुर्याएको योगदान अत्यन्तै अनुकरणीय रहेको बताए ।
आफू विराटनगर महानगरपालिकाको प्रमुख रहँदा संस्थाका लागि वार्षिक रूपमा बजेट विनियोजन गर्ने गरेको स्मरण गर्दै उनले आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाकी अध्यक्ष शोभा पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाको ३६ वर्षे ऐतिहासिक यात्रा, उपलब्धि तथा भावी कार्यदिशाबारे छलफल गरिएको थियो ।
साधारणसभामा अध्यक्ष पोखरेलले स्वागत मन्तव्य राख्दै २०४७ सालमा एउटा सानो कोठाबाट सुरु भएको संस्थाले विभिन्न आरोह–अवरोह पार गर्दै अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूको जीवनस्तर सुधार, स्वास्थ्योपचार, शारीरिक पुनस्र्थापना र सीप विकासमा निरन्तर काम गर्दै आएको बताइन् ।
‘अपाङ्गता भएका व्यक्तिहरूलाई दया र सहानुभूतिको पात्र बनाउने होइन, समान अधिकार, अवसर र सम्मानसहित आत्मनिर्भर नागरिकका रूपमा स्थापित गर्नु हाम्रो मूल ध्येय हो,’ उनले भनिन्
‘फिजियोथेरापी, कृत्रिम अङ्ग व्यवस्थापन, हिँडाइसम्बन्धी तालिम, सहायक सामग्री उत्पादन तथा मर्मत, आवास कक्ष, टेलि–रिह्याबिलिटेसन र जनचेतनामूलक कार्यक्रमहरूमार्फत संस्थाले हाल कोशी प्रदेशका १४ वटै जिल्लामा सेवा विस्तार गरिसकेको छ ।’
साधारणसभामा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८२–८३ मा २ हजार ३७३ जनाले प्रत्यक्ष पुनस्र्थापना सेवा प्राप्त गरेका छन् । सोही अवधिमा ७०० थान सहायक सामग्री उत्पादन गरी ६५० जनालाई वितरण गरिएको छ ।
फेयरमेड फाउन्डेसन नेपालको सहकार्यमा उपेक्षित उष्णप्रदेशीय रोगहरू रपुनर्स्थापना सेवाबारे सचेतना तथा स्थानीय पालिकाहरूमा अभिमुखीकरण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइयो ।
आर्थिक वर्ष २०८३-८४ मा १ करोड ६० लाख ६० हजार ९२१ रुपैयाँ आम्दानी भई सेवा प्रवाहमा खर्च भएको छ भने चालू वर्षका लागि १८ लाख २ हजार ८८३ रुपैयाँ सञ्चित कोषमा रहेको कोषाध्यक्ष डीएल चौधरीले आर्थिक प्रतिवेदन विवरण पेस गरेका थिए ।
व्यवस्थापक नवीन दाहालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रमको सञ्चालन संस्थाका सदस्य धर्मराज भट्टराईले गरेका थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष प्राध्यापक कविराज न्यौपाने, समाजसेवी लक्ष्मण नेवटिया तथा उपाध्यक्ष प्राडा संझना प्रधानले संस्थाको सामाजिक भूमिकाबारे मन्तव्य व्यक्त गरेका थिए ।
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved