Biratnagar, Morang, Nepal
१५ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मुक्तिनाथ रथयात्रा साेमवार विराटनगर आइपुग्ने

उद्‌घोष संवाददाता
१५ कार्तिक २०८३, आइतवार

Advertisement

विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन, राष्ट्रिय एकता र जलसम्पदाको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालित राष्ट्रव्यापी ‘श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा’ (मेची–महाकाली रथयात्रा) सोमबार  विराटनगर आइपुग्ने भएको छ ।

गत कात्तिक ९ गते मुस्ताङस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरबाट भगवानको मूर्ति रथारोहण गरी सुरु गरिएको सो यात्रा रङ्गेली हुँदै विराटनगर प्रवेश गर्न लागेको हो ।


सोमबार दिउँसो ३ बजे विराटनगर–८ स्थित हाटखोलाको चौरमा रथको भव्य स्वागत, पूजाअर्चना तथा आरती गर्ने कार्यक्रम तय गरिएको लक्ष्मीनारायण मन्दिर पाञ्चालिका संरक्षक समितिका संयोजक पीठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिएका छन् ।


विराटनगर प्रवेश गरेपछि रथले नगरका प्रमुख धार्मिक स्थलहरूको परिक्रमा गर्नेछ ।

जसअनुसार गीता मन्दिर, काली मन्दिर, सत्यनारायण मन्दिर तथा ठूलो मिलस्थित शिव पाञ्चायन मन्दिरलगायतका क्षेत्रमा परिक्रमा गराई अन्ततः लक्ष्मीनारायण मन्दिर परिसरमा पुगेर सो दिनको यात्रा विसर्जन गरिने आयोजकले जनाएको छ ।

कोशी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री भीम पराजुलीलाई विराटनगरका लागि सो रथयात्राको मूल संयोजकको जिम्मेवारी दिइएको छ ।


संयोजक पराजुलीका अनुसार मंगलबार बिहान विराटनगरबाट पुनः यात्रा सुरु गरी सुनसरी र सप्तरी हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ ।

सर्लाहीमा विशेष यज्ञको आयोजना गरिसकेपछि रथयात्रा पुनः मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमै पुगेर औपचारिक रूपमा समापन हुनेछ ।

यात्राको समग्र तालिका र उद्देश्यबारे आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।
 

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved