Biratnagar, Morang, Nepal
१० असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
विचार

पहिलो साहित्यिक सहिद र उनको प्रजातान्त्रिक चेत

लेखेकै कारण जेल परेका र जेलमा मृत्यवरण गरेका कृष्णलालले थोरै लेखेर धेरै दिएका छन् । प्रथमतः उनले शक्तिशाली शासक र तिनको शासन व्यवस्थाको जरै हल्लाइ दिए । समकालीन शासन व्यवस्थाको विरोध गरी प्रजातान्त्रिक चेतको विजारोपण गरिदिए ।
हरि अधिकारी
१० असार २०८३, बुधवार

Advertisement

पेशाले सरकारी जागिर, रुचिले कृषिको अध्ययन, साहित्यिक चेतको बाहुल्यता र प्रजातान्त्रिक सोचले ओतप्रोत व्यक्तित्वको रुपमा देखिन्छन सुब्बा कृष्णलाल अधिकारी ।

वि.सं. १९४४ साल माघ महिनामा पिता लक्ष्मणराज अधिकारी र माता इन्द्रकुमारीका माहिला छोराको रुपमा हालको रामेछाप जिल्लाको कठजोर, तिल्पुङ गाउँमा यिनको जन्म भएको थियो ।

१३ वर्षको उमेरमा धर्मकुमारी सुवेदीसँग बैवाहिक वन्धनमा बाँधिएका कृष्णलालका एक छोरा र दुई छोरी रहेको बताइन्छ ।

 

किताव लेखेकै कारण वि.सं. १९७७ साल साउन ११ गते पक्राउ परी नेल हत्कडीसहित भद्रगोल जेलमा थुनिएका कृष्णलालको ३६ वर्षको उमेरमा १९८० साल मङ्सिरमा जेलमै देहावशान भएको थियो ।

जेल परेको तीन वर्षमै र उमेरले तीन दर्जन वर्ष पुुग्दा नपुग्दै भएको उनको मृत्यलाई स्वाभाविक मान्न सकिदैन ।

 

कृष्णलालले जेलमा यात यातना पाए यात विरामी परे र उपचार पाएनन् ।

भनिन्छ कृष्णलाललाई क्षयरोगले समात्यो र उपचार पाएनन् ।

खानपिन र स्याहारसुसारको अभाव भयो अनि मानसिक तनाव झनझन वढ्यो । उनकी पत्नीको पनि १९७७ वैशाखमा देहावशान भएको बताइन्छ । 

 

कृष्णलाल अधिकारीले एउटै मात्र पुस्तक लेखेका थिए र त्यो पुस्तक पनि कृषिसँग सम्बन्धित थियो । परन्तु उनको त्यो पुस्तक अप्राप्त छ । 
नेपाली भाषा प्रकाशन समितिले १९७७ सालमा प्रकाशित गरेको सो पुस्तक ६० पृष्ठको रहेको र काठमाडौं स्थित पशुपति छापाखानामा एक हजारप्रति छापिएको थियो भनिन्छ ।

नाम अनुसार कृषिसँग सम्बन्धित रहेको सो पुस्तकको नाम मकैको खेती थियो । मकै नेपालमा अत्यधिक खेती गरिने अन्न बाली हो ।

 

नेपालमा तराई, पहाड र हिमाली क्षेत्रमा समेत मकैको खेती गरिन्छ । रामेछाप वा नेपालको पहाडीभेगमा सबैसँग खेत हुँदैन तर बारी प्रायः सवैसँग हुुन्छ ।

धान खेती नहुने मकै मात्र खेती गर्ने  ठाउँलाई बारी भनिन्छ । यिनले मकैको खेती लेख्ता अधिकांश किसानको लागि उपयोगी हुुने ठानेका हुन सक्छन् । 

 

यद्यपि यो पुस्तक प्राविधिक, साहित्यिक र राजनीतिक चेतयुक्त रहेको बताइन्छ ।

अझ भन्नुपर्दा तन्नेरी लेखकको समकालीन शासन र समाजप्रतिको विद्रोही चेतको उपज पनि हुनसक्छ ।

तत्कालीन सरकारको कोपभाजनको शिकार बनेको यो पुस्तकका ९९९ प्रति जफत गरी जलाइएको र एकप्रति नभेटिएको भनिन्छ ।

पुस्तक लेखे वापत लेखकलाई छ वर्ष जेल र एकप्रति बुझाउन नसकेको वा लुकाएको आरोपमा थप तीनवर्ष गरी जम्मा नौवर्ष जेल सजाय तोकिएको थियो ।

 
 
यतिमात्र भएको थिएन पुस्तकमा सहयोग गरेवापत शम्भुप्रसाद ढुङ्गेल, ऋषिभक्त उपाध्याय, दुर्गानाथ अधिकारी, कृष्णचन्द्र अज्र्याल लगायतको जागिर गएको थियो ।

पुस्तक लेखे वापत लेखकलाई मात्र होइन सहयोगीहरुलाई समेत यति ठूलो कारवाही हुने सो पुस्तकमा के लेखिएको थियो ? सर्वत्र चासोको विषय आज पर्यन्त छदैछ ।

 

परन्तु पुस्तक नष्ट गरिएको र एकप्रति हराएको वा कसैले लुकाएको भनिएको कारण यसको बारेमा थप अध्ययन गर्न छामछुम मै भरपर्नु पर्छ ।

 

प्रथमतः पुस्तक लेखेर कृष्णलाल अधिकारीमाथि गाथगादी ताकेकोजस्तो संङ्गीन आरोप लगाइएको भनिन्छ ।

उनलाई पक्राउ गर्ने वित्तिकै देशद्रोहको मुद्दा चलाएको र सात दिनसम्ममा छिनोफानो गरी अभियोग पुस्टि गराइएको बताइन्छ ।

 

यहाँ उल्लेख भएझै मकैको खेती नामक पुस्तक अप्राप्त रहेको कारण यसको बारेमा धेरै चर्चा गरेको पाइदैन ।

परन्तु लेखकलाई जेलनेल र सहयोगीहरुलाई समेत कारवाही गरिएबाट समकालीन शासकको मुटुभने हल्लिएको थियो भन्न सकिन्छ ।

 

सग्लो पुस्तक नभेटिए पनि भेटिएका केही वाक्यांशहरुले त्यसको बारेमा केही संकेतभने अवश्य गराउछन् ।

पुस्तकमा ‘बेलायती कुकुर’ र ‘नेपाली कुकुर’ भन्ने उल्लेख थियो भनिन्छ ।

यसलाई समकालीन शासकले बेलायत सम्भवतः तत्कालीन भारतमा रहेको व्रिटिश शासन र नेपालको शासन व्यवस्थालाई संकेत गरेको अर्थमा लिएको अनुमान गरिन्छ ।

‘मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा’ भन्ने वाक्यांशलाई श्री ३ महाराज र उत्तराधिकारीले आफैलाई इङ्कित गरेको बुझेका हुनसक्छन् । भनिन्छ चन्द्र शमशेर रातो र भीमशमशेर कालो टोपी लगाउँथे ।

 

‘बालकलाई आफ्नो आमाको दूध बराबर चन्द्रोदयले फाइदा गर्दैन’ भन्ने वाक्यांशलाई तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरप्रतिको व्यङ्ग्यको रुपमा लिइएको भनिन्छ ।

‘राक्षसहरुको प्रवेशले नेपालमा अनिकालै अनिकाल परेको’ भनिएबाट अझ शासकहरुले शासन प्रणालीप्रतिकै कठोर प्रहार मानेका हुनसक्छन् । 


समग्रमा शासक वा शासकमा जाहेरी गर्ने जाहेरीकर्ताले मकैलाई जनता र मकैमा लाग्ने किरालाई राणा शासनको रुपमा बुझे र आफूले बुझेको कुरा आफ्ना प्रभुमा बिन्ती चढाए ।

शासकले सेवकको बिन्ती तत्काल स्वीकारे अनि एउटा लेखकको लेखनी सहन गर्न सकेनन् ।

 

यतिमात्र होइन तिनताका पढ्न लेख्न समेत अनुमती लिनुपर्नेमा सुब्बा साहेवले किताव लेखे त्यो पनि सोझै किसानसँग सम्बन्धित ।

किताव प्रतिवन्धमा नपरेको भए गाउँगाउँमा पुग्न सक्थ्यो ।

अक्षर चिनेका किसानले घरघर लिएर जान्थे आफू पढ्थे र पढ्न नजान्ने तर मकैको खेती गर्ने किसानलाई सुनाउने थिए ।

किनभने पुस्तक सोझै किसानको अन्नबाली उत्पादन र त्यसमा लाग्ने रोगसँग जोडिएको थियो ।

 

भनिन्छ तत्कालीन दरवारले सुब्बा साहेवबाट क्षमायाचनाको अपेक्षा गरेको थियो ।

तर एउटा स्वाभिमानी लेखकको कलमले बिन्तिपत्र लेख्न र चढाउन मानेन ।

कलम नरुचाउने शासकलाई लेखकको स्वाभिमान सह्रय भएन ।

 

छोरी कुटेर बुहारी तर्साउने भनेझै अन्य लेखकको कलम रोक्न उदत्त शासक र शासन प्रणाली कृष्णलाल माथि कठोर बन्यो र अन्तत लेखक रिहा हुन सकेनन् ।  

डर लुकाएर लुक्तैन, डडाएर डड्दैन भनेझै भयो कृष्णलालमाथिको कारवाही र पुस्तक खरानी बनाएपछिको अवस्था ।

भनिन्छ कृष्णलालको मकैको खेतीको चर्चा निस्तेज पार्न राममणि आदीका नाममा अर्काे मकैको खेती नेपाली कृषि शिक्षावली नामक पुस्तक छपाइयो ।

 

हुनसक्छ अप्राप्त भनेको त्यो पुस्तकको एकप्रति लुकाइयो र त्यसलाई काँटछाँट पारेर अर्काे पुस्तक तयार गराइयो ।

परन्तु सक्कलीको अगाडि नक्कली टिक्तैन भनेझै भयो त्यो पुस्तक ।

कसैले लेखाएको र एउटा कुशल लेखकले स्वस्फूर्त लेखेको पुस्तक दाँजिन सकेन ।

बरु प्रतिवन्धित पुस्तकले लेखक र शासकको छवि क्रमशः उज्वल र धुमिल बनाउन मद्दत पुगेको भन्नसकिन्छ ।   

 

नेपालको इतिहासमा लेखेकै कारण दण्डित हुनुपरेका अनेकौ उदाहरण छन् ।

समकालीन समयमा सुक्तिसिन्धु पद्य सङ्ग्रहका सम्पादक र लेखकहरु पनि दण्डित भएका थिए ।

परन्तु गोरखापत्र, नेपाली भाषा प्रकाशन समितिजस्ता संस्था अखवार छाप्न अनुमती दिने शासकहरु मकैको खेती जस्तो पुस्तकमा किन यति उग्ररुपमा प्रस्तत भए ?

लेखकको आशय शासकप्रति व्यङ्ग्य थियो थिएन तर पुस्तकले शासन वा शासकको सोझै विरोध भने गरेको थिएन । 

 

जागिरे कृष्णलाल अधिकारीले मकैको खेती नामक पुस्तक किन लेखे होलान् ?

 

जमाना अनुसार लेखपढ गरेका र  सुब्बाको जागिर खाएका कारण पनि उनी विपन्न परिवारका थिएनन् भन्न सकिन्छ ।

कठजोर, तिल्पुङका अधिकारी सम्पन्न परिवारमा गनिन्छन् । उनले ३३ वर्षको उमेरमा कृषिसँग सम्बन्धित पुस्तक लेख्न पढेर जाने वा परेर ?

विम्ब र प्रतीकको प्रयोग सटिक थियो । यस्तो प्रयोग संयोगमात्र थियो भन्न कदापि सकिदैन ।

 

तसर्थ कृष्णलाल अधिकारीमा भाषिक, साहित्यिक, सांस्कृतिक, राजनीतिक चेत र सुझबुझ पर्याप्त थियो भन्न सकिन्छ । 

देशमा तीन तहको सरकार छ ।

तीन तहका सरकारले आआफ्नो मातहतमा भाषा साहित्यको अध्ययन, संरक्षण गर्ने मन्त्रालय, प्रज्ञा प्रतिष्ठान गठन गरेका होलान् ।

 

यस्ता संस्थाले त्यस्ता पुस्तकको पाण्डुलिपि वा अन्य जानकारीको खोजी, अध्ययन, थप अनुसन्धान र आधिकारिक धारणा जनसमक्ष ल्याउन आवश्यक देखिन्छ । 

 

लेखेकै कारण जेल परेका र जेलमा मृत्यवरण गरेका कृष्णलालले थोरै लेखेर धेरै दिएका छन् ।

प्रथमतः उनले शक्तिशाली शासक र तिनको शासन व्यवस्थाको जरै हल्लाइ दिए ।

 

समकालीन शासन व्यवस्थाको विरोध गरी प्रजातान्त्रिक चेतको विजारोपण गरिदिए ।

कृषकको उत्पादन र आम्दानीमा सहयोगी बन्दै सोझै निम्न तथा मध्यम वर्गसँग जोडिए ।

भाषिक, साहित्यिक र साँस्कृतिक आन्दोलनमा एक्लै तहल्का मच्चाए ।


 स्वदेशी शासक र तिनको शासन प्रणालीमात्र होइन तिनका सहयोगीसम्म प्रहार गरेको अर्थमा शासकको मुटुमा ढयाङ्ग्रो बजाई दिए ।

अझ मकैको खेती गर्दा मकैमा लाग्ने रोग र निदान पहिल्याएर कृषि प्राविधिकको रुपमा आफू र आफ्नो पुस्तकलाई दर्बिलो रुपमा उभ्याए ।

 

नेपाली भाषिक, साहित्यिक र सांस्कृतिक आन्दोलनको इतिहासले कृष्णलाल अधिकारीलाई यस क्षेत्रको प्रथम सहिदको रुपमा हेर्ने गरेको छ जसलाई सर्वथा उचित मान्न सकिन्छ । 

(स्तम्भकार हरि अधिकारी ज्येष्ठ नागरिक बौद्धिक मञ्च विराटनगरका सचिव हुन् ।)
  

 

View : 79

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved