Biratnagar, Morang, Nepal
१० असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगर महानगरको बजेट ३ अर्ब ५६ करोड ४७ लाख, पूर्वाधारमा १ अर्ब ६० करोड विनियोजन (पूर्णपाठसहित)

उद्‌घोष संवाददाता
१० असार २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले बुधबार बसेको नगरसभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

उनले महानगरले आगामी आर्थिक वर्षका लागि संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँड, आन्तरिक आय, अनुदान तथा बैंक मौज्दातसमेत गरी ३ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ आय हुने अनुमान प्रस्तुत गरिन्  । खर्चतर्फ भने संघीय तथा प्रदेश सरकारका सशर्त कार्यक्रमसमेत समेटेर कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्ताव गरिएको बताइन् ।

बजेटमा सबैभन्दा ठूलो प्राथमिकता पूर्वाधार विकासलाई दिइएको छ । पूर्वाधार विकासतर्फ मात्रै १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

जसमा वडा स्तरीय योजनाका लागि ४३ करोड ४६ लाख ३२ हजार, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि १५ करोड, ठेक्का तथा दायित्व सरेका योजनाका लागि २५ करोड र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै सडक, सहरी विकास, विद्युत, फोहोरपानी प्रशोधन केन्द्र र मर्मत सम्भारका कार्यक्रमलाई पनि बजेटमा समेटिएको बजेट बक्तव्यमा उल्लेख छ । विद्युततर्फ १ करोड ६० लाख, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख र मर्मत सम्भारतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ छुट्याइएको छ । शिक्षाका लागि १० करोड ५ लाख २८ हजार, स्वास्थ्यतर्फ ६ करोड ३ लाख ५० हजार, महिला विकासतर्फ ६६ लाख, बालबालिकाका कार्यक्रमका लागि ४८ लाख ५० हजार र संघसंस्था अनुदानका लागि ६ करोड ३१ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । कृषि विकास, पशुपन्छी तथा भेटेरिनरी, सहकारी, उद्यमशीलता विकास, रोजगार प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई यसअन्तर्गत समेटिएको छ ।

सुशासन तथा संस्थागत विकासका लागि २ करोड ३३ लाख १० हजार र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५६ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । फोहोरमैला व्यवस्थापनका लागि १ करोड २५ लाख र विपद् व्यवस्थापनका लागि ९६ लाख रुपैयाँ छुट्याइएको छ ।

आय स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त अनुदानलगायत गरी १ अर्ब ७ करोड २८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट १४ करोड २६ लाख ७४ हजार, राजस्व बाँडफाँडबाट २८ करोड ६४ लाख १८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

महानगरले आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख ५ हजार रुपैयाँ उठाउने लक्ष्य लिएको छ । विभिन्न संघसंस्थाबाट १ करोड १६ लाख र बैंक मौज्दातबाट १४ करोड रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले प्रस्तुत नीति तथा कार्यक्रम महानगरको विकास, आर्थिक समृद्धि र सुशासनतर्फ केन्द्रित रहेको बताइन् । उनले “हामी सबैको शहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर” भन्ने लक्ष्यअनुसार बजेट तयार गरिएको उल्लेख गरिन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको अध्यक्षतामा नगरसभा सुरु भएको हो ।

View : 174

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved