Biratnagar, Morang, Nepal
२ जेठ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
विचार

सुन्दर विराटनगरको लागि तत्काल गर्नुपर्ने काम

यज्ञप्रसाद शर्मा
५ पुष २०८०, बिहिवार

विराटनगर नाम चलेको सहर भएर पनि विकास अभियान र सौन्दर्यीकरणमा धेरै पछाडि छ । हालै गरिएको एक अध्ययनमा विराटनगर नेपालका सुन्दर सहरहरूको सूचीमा छैटौंमा परेछ । पोखरा, काठमाडौं, बुटवल, भरतपुर र ललितपुरभन्दा पनि पछि परेको रहेछ । वास्तवमा भन्ने हो यसले विराटनगरबासीको मनमा हुटहुटी पलाउनु पर्ने हो, माहौल तातो भइसक्नु पर्ने हो । तर तल पर्दै गरेको खबर पनि विराटनगरले चुपचाप सुनिरहन्छ । सुन्ने मात्र होइन एक कानले सुनेर अर्को कानले उडाइरहेको देखिन्छ । 

कुनै पनि सहर बन्नका लागि त्यहाँ सामान्यतया आवास, यातायात, सरसफाइ, उपयोगिताहरू, भूमि प्रयोग, सामान उत्पादन र सञ्चारको सुव्यवस्थित प्रणालीहरू स्थापित भएका हुन्छन् । विराटनगर महानगर भएर पनि सो अनुसार विकास अभियान र कामको लय देखिएको छैन ।

भन्दा लज्जाबोध हुन्छ कि महानगरपालिकाले विगतमा गलत ढंगले निर्माण गरेको संरचना भत्काउने माग गर्दै नगरवासीले नाराजुलुस गरिरहेका छन् । स्थानीय तहको काम हेरेर जनता आशावादी हुनुपर्नेमा झन्झन् निराश भइरहेका छन् । कतिपयले बौद्धिक समुदायको बसोबास र साधना क्षेत्र भएर पनि विराटनगरको यो दुर्दशा हुनुमा सामाजिक र बौद्धिक क्षेत्रको भूमिका वा पहल नहुनुको परिणाम हो भनेका छन् । विकासको काममा बौद्धिकहरूले चासो नराखी राजनीतिक क्षेत्रलाई एकलौटी छाड्नुको पीडा सिंगो सहरले भोगिरहेको छ । राजनीतिक व्यक्तिहरु र महानगरका पदासिनहरू सहर निर्माणलाई साझा सरोकारको विषय नै ठान्दैनन् कि क्या हो ? कर्मचारीको भरमा कोठे योजना बनाउँछन् । सहरका बुद्धिजीवीहरुलाई सहभागी गराउनु पर्छ भन्नेसम्म चेत देखिंदैन । नगरवासीको राय लिने त आवश्यक नै ठान्दैनन् । यस्तो छ एक्काइसौं शताब्दीको विराटनगरको विकासको शैली ।

विराटनगरमा दृष्टिकोण भएका नेताहरू छैनन् । कुनै जमानामा मुलुक हाँक्ने नेताहरूको गृहनगर विराटनगरका राजनीतिक दलका नेताहरु अहिले विकासको एजेन्डामा बहस गर्दैनन् । उनीहरूसँग स्थानीय विकासको सोच, सपना र योजना छन । अरु सहरका राजनीतिक दल र समाजका अगुवाहरु विकासको एजेन्डामा एक हुन्छन् । त्यति मात्र होइन सामूहिक आवाजसहित सर्वपक्षीय प्रतिनिधि मण्डल राजधानी जान्छन् । सँगै आवाज उठाउँछन्,आ–आफ्ना पार्टीका नेतालाई भनसुन गर्छन् । तर, यहाँ त्यस किसिमको एकता छैन, विकासको हुटहुटी भएका नेता छैनन् । 

के यहाँका नागरिकलाई सबै कुरा पुगीसरी आएर नै त्यस्तो भएको हो त ? पक्कै होइन । यहाँ आम सरोकारका समस्याहरू बग्रेल्ती छन् । बाइबास रोड, चक्रपथ, विराटनगर विमानास्थलको स्तरनोन्नति, विपन्न वर्गका लागि आवास, आयआर्जनका योजना, फोहर व्यवस्थापन, शुद्ध खानेपानीको व्यवस्था आदि । नगरबस चलाउन रुट छैन । विराटनगर बसपार्क र हाटखोला बसपार्कबीच  परिवहन ‘कनेक्सन’ छैन । विगतका बरगाछी र महेन्द्रचोक जस्ता चर्चित चोकहरू ठूटा वा मुडुला छन् । बरगाछी नाम भएको ठाउँमा पितापुर्खाको मूर्ति ल्याएर राजनीतिक रङ भर्ने बेढंगाका हरकत देखिन्छन् । तर मध्यरातमा हुँइकिएर आएको ट्रकले हानेर मूर्ति धुलोपीठो पार्दा पनि तिनको मन दुख्दैन । विकास योजनाबारे, प्रगति वा अवनति बारे कहींकतै बहस हुँदैन, मृत सहर जस्तै भएको छ विराटनगर ।

यहाँका नागरिक सबै पुगीसरी आएका होइनन् तर उनीहरुमा विकासको चाह छैन । अझ भनौ, यहाँ मसानघाटका अघोरीहरू मात्र बस्छन् जसलाई सहरको विकास र सौन्दर्यप्रति पूर्णतया वैराग्य प्राप्त छ ।

अब चर्चा गरौं, यहाँका नेताले विकासको अवधारणा अँगाल्न नसक्नुको कारणबारे । विराटनगर कुनै विज्ञको योजनाले बनेको सहर होइन । जग्गा कारोबारीहरूले कोरेको गोरेटोसँगै फैलिएको सहर हो । आवश्यकताको आधारमा योजना बनेको होइन जता जमिन महंगो छ त्यतै विस्तार भइरहेको छ ।

विकासको नाममा हिमालय रोडजस्तो चल्ती सडक मासेर फलैंचा बनाउने ‘नेताबुद्धी’ देखिएकै हो । विराटनगरमा पाँचवटा आकाशे पुल बनाएको कथा सिर्जना गरीॅ ऐतिहासिक काम’को पगरीसहित पुस्तक छपाएकै हो । तर पनि यहाँका नेता र नागरिक बोल्दैनन् । मूकदर्शक छन् । सचेत नगर भनेर चिनिने विराटनगर अहिले खम्बाजस्तै प्रतिक्रियाविहीन बनेको छ । यो अवस्थाले पनि आम नागारिकमा व्यापक असन्तुष्टि र निराशा छाएको छ, जुन स्वाभाविक हो ।

मैले यहाँ विराटनगरको दुःखद गाथा खोतलेर इतिहासको समीक्षा गर्न खोजेको हुँ । मूलतः विराटनगर जस्तो सहरको विकास एउटा मात्र पक्षको जिम्मेवारी र सरोकारको विषय होइन । यो त सबै विराटनगरबासीको साझा चिन्ताको विषय हो । यस सहरमा एकसे एक अर्थशास्त्री, योजनाविद् र इञ्जिनियरहरु छन् । कानून र सञ्चारका विज्ञहरू छन् । सूचना प्रविधिको क्षेक्रमा माइक्रोसफ्ट कम्पनीको जिम्मेवारी लिइरहेकादेखि नवप्रबर्तनको अभ्यास गरेर अन्तरिक्षको खोज गरिरहेकाहरू छन् । कसैले देखे पनि नदेखे पनि भविष्यमा किमाथांका-जोगबनी सडक बनेपछि असंख्य सम्भावना बोकेको सहर हो । तर, यसको योजनाबद्ध विकास हुन नसक्दा पछाडि परेको सहर पनि हो । 

आगामी दिनमा विराटनगर महानगरपालिकाले वृहत्तर गुरुयोजना बनाएर सर्वदलीय र सर्वपक्षीय भावना समेटेर अगाडि बढोस् भन्ने आसय हो । त्यसो भए मात्र असंख्य संसाधनको अधिकतम सदुपयोग र योजनाबद्ध विकासको थालनी भइ महानगरबासीमा रहेको निराशालाई आशामा परिणत गर्न सकिन्छ ।

अहिले हामी आर्थिक वर्षको बीचमा छौं । यो योजना बनाउने समय होइन, बनेका योजना कार्यान्वयन गर्ने बेला हो । त्यसैले यो लेखमार्फत सुन्दर विराटनगरका लागि पाँच वटा सोच र गर्नुपर्ने कामहरू प्रस्तावित गरेको छु, जुन यसै आर्थिक वर्षबाट थालनी गर्न सकिने छ ।

प्रथम, विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेका गुद्रीका खाली जमिनहरूका लागि स्पष्ट योजना आओस् । गौचरणका लागि खाली गरिएका हुन् कि महानगरपालिकाको कुनै योजना पनि छ भन्ने कुरा नागरिकले थाहा पाउनुपर्छ ।

दोस्रो, बरगाछीचोक र महेन्द्रचोकको सौन्दर्यकरणमा ध्यान जाओस् । के यी चोकहरु ठूटो जस्तै भएर मुडुलो राख्नुपर्ने स्तरमा पर्दछन् ? मेरो विचारमा विराटनगरका अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक गरिमा भएका चोकहरू हुन् यी । त्यसैले यिनलाई मुडुलो राख्दा विराटनगरको सौन्दर्यीकरण अधुरै रहन्छ । त्यसैले बरगाछीमा बरको रुखको प्रतिमा र महेन्द्रचोकमा उचित प्रतिमा राखौं । नाम बरगाछी, अनि प्रतिमा चाहिं कुनै महापुरुषको राख्नु सुहाएन । त्यसैले सकिन्छ बरकै सानो गाछी राखौं, सकिन्न भने प्रतिकात्मक बरको पाँचवटा पात वा बरको फल (पातसहितको झुप्पा) को प्रतिमा राखौं । प्रतिमा जेको भए पनि पर्याप्त सडकबत्तीको व्यवस्था गरौं, ता कि रात्रिकालीन गतिमा रहेका ट्रकका ड्राइभरको दृष्टि त्यसमा सजिलै पर्न सकोस् ।

तेस्रो, महेन्द्र चोकमा पूर्व राजा महेन्द्रको सालिक थियो । त्यसैलाई पुनर्स्थापित गरे पनि हुन्छ । त्यसलाई नराख्ने हो भने पनि विकल्पहरू छन् । महेन्द्रचोकलाई पछिल्लो समयमा जनआन्दोलन चोक पनि भनिन्छ । त्यसैले आन्दोलन वा चेतनाको प्रतिकात्मक अर्थ दिने प्रतिमा त्यहाँ राख्न सकिन्छ । आन्दोलनको प्रतीक पनि ऐतिहासिकतासँग र तराईको संस्कृतिसँग मिल्ने हुनुपर्दछ । राँको बोकेको वा मुठी बटारेको प्रतिमाले मात्र आन्दोलनको आभाष दिन सक्दैन । उपयुक्त विकल्प बलिरहेको लालटिनको प्रतिमा हुनसक्छ । तराईंका आम नागरिकले बिजुली आउनुपूर्व घर र झुपडी उज्यालो पार्नका लागि प्रयोग गरिने एक प्रकारको बत्ती हो । त्यस ठाउँमा शिक्षक, विद्यार्थी र राजनीतिक कार्यकर्ताले धेरै पटक लालटिन जुलुस गरेर त्यो चोकको परिक्रमा गरेका छन्, त्यही गरेवापत प्रहरीको लाठीचार्ज खेपेका छन् । लालटिन तराईंको सांस्कृतिक प्रतिविम्ब र बिजुलीबत्ति आएसँगै लोप भएको साधन पनि हो । त्यसले त्यहाँ तराईमा बिजुलीबत्ती आउनुअघिको ऐतिहासिक अवस्थाको प्रतिनिधित्व गर्ने लालटिनको प्रतिमा नै उपयुक्त हुनसक्छ ।

त्यसो त विराटनगरको प्रवेशद्वार भत्काउने प्रसंग चल्दा सहर चिनाउने महत्त्वपूर्ण संरचना खोइ भन्ने चर्चा चल्छ । विराटनगरको प्रतिनिधित्व गर्ने सांकेतिक संरचना पनि यो हुनसक्छ । यदि महेन्द्र चोक वा जनआन्दोलन चोकमा विशाल स्वरुपको लालटिनको प्रतिमा बनाएर वरपर सबैतिर झिलिमिलि पारिदिने हो भने त्यो विराटनगरलाई चिनाउने मानवनिर्मित संरचना बन्नसक्ने सम्भावना अवश्य हुनेछ ।

चौथो, विराटनगरमा सार्वजनिक रुपमा उभिएर कुनै कुराको पक्ष वा विपक्षमा प्रदर्शन गर्ने ठाउँ छैन । त्यस कामका लागि पञ्चायतकालदेखि प्रयोग हुँदै आएको हिमालय रोड अहिले अस्तित्वविहीन बनेको छ । महेन्द्रचोक वा ट्राफिकचोकमा उभिएर प्रदर्शन गर्दा आवागमनमा बाधा पुगेको देखिन्छ । सवारीसाधनमा यात्रा गरिरहेकाहरूले प्रदर्शन हेर्ने सम्भावना छैन । हरेकपटक प्रदर्शनकारीले कुनै न कुनै यात्रीबाट गाली खानु परिरहेको छ । यसलाई दृष्टिगत गर्दै हिमालय हलको छेउमा रहेको खाली जमिन (जुन अहिले साप्ताहिक सस्तो बजार लाग्ने गरेको छ) लाई महानगरपालिकाले भाडामा वा खरिद गरेर लिने हो भने प्रदर्शनीस्थलका रूपमा विकास गर्न सकिने सम्भावना छ । किनभने महेन्द्रचोक वा जनान्दोलन चोक ऐतिहासिक आन्दोलनको केन्द्र र हरेक राजनीतिक परिवर्तनको साक्षी हो । त्यसलाई प्रदर्शनीस्थलको रुपमा विकास गर्नसके कुनै दिवस मनाउँदा होस् वा केही कुराको समर्थन वा विरोध गर्नुपर्दा काठमाडौंको माइतीघर मण्डेलामा जस्तै मानिसहरू उभिने साझास्थल बन्न सक्नेछ । राजनीतिक आन्दोलनको इतिहास विराटनगरमा त्यो अति आवश्यक छ । जमिन खाली भएको बेला नै महानगरपालिकाले यसका लागि योजना बनाएर काम अगाडि बढाउन जरुरी छ ।

पाँचौं, विराटनगरमा नगरबस सञ्चालन र त्यसका लागि रूट आवश्यक छ । नागरिकको सहज आवागमन र नगरबसको सहज चालका लागि पुष्पलालचोक, विराटनगर बसपार्क र हाटखोला बसपार्कबीच सहज कनेक्टिभिटी आवश्यक छ । त्यसका लागि मुख्य रुट निर्धारण गरेर सडकलाई व्यवस्थित गर्नुपर्ने हुन्छ । त्यो काम महानगरपालिकाले नै गर्नसक्छ ।

yagyasarma@yahoo.com

View : 90

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved