सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसले पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ ।
क्याम्पसले पत्रकार सम्मेलन गरी यही बैशाख ६ र ७ गते पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने जानकारी गराएको हो ।
‘उच्च शिक्षामा दिगोपन : स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको क्याम्पसले जनाएको छ ।
उच्च शिक्षाको स्थायित्वमा छलफल गर्नुका साथै स्थानीय र वैश्विक ज्ञानको आदानप्रदान, अनुसन्धान तथा शैक्षिक सहयोग बढाउन सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक एवम् सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा विद्वत प्रवचन, सम्भाषण, प्यानल छलफल, समानान्तर सत्र तथा सांस्कृतिक कार्यक्रम हुने उल्लेख गरिएको छ ।
सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, भारत तथा थाइल्यान्डका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियालगायत अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका दर्जन बढी विद्वानहरू सहभागी हुने जनाइएको छ ।
त्यस्तै कृषि तथा वन विश्वविद्यालय चितवनका उपकुलपति प्रा.डा. शारदा थपलिया, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.विजुकुमार थपलिया, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसे, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्राडा बालचन्द लुईंटेल र प्राध्यापक तथा नेल्टा केन्द्रीय अध्यक्ष प्राडा लक्ष्मण ज्ञवाली मुख्य वक्ताको रूपमा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विभिन्न शिक्षाविद्को प्यानल छलफल हुने उक्त कार्यक्रममा विश्वविद्यालय, क्याम्पस र उच्च शिक्षाका सरोकारवाला संस्थाका प्राध्यापक, शिक्षक र शैक्षिक व्यक्तित्व गरी ३ सय बढीको सहभागिता हुने अपेक्षा राखिएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले जानकारी दिए ।
उनले सम्मेलनमा २० देखि २४ लाखको खर्च अनुमान गरिएको बताए । प्रदेश सरकार, स्थानीय पालिका, त्रिभुवन विश्वविद्यालय अनुदान आयोग तथा स्थानीय स्रोत र साधनको उपयोग गरेर कार्यक्रमको खर्च व्यवस्थापन गरिने उल्लेख गरे ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले सुकुना जनस्तरबाट स्थापित एउटा उत्कृष्ट क्याम्पस भएको बताउँदै पहिलो पटक गर्न लागिएको यस सम्मेलनले क्याम्पसको गरिमालाई अझ माथि उठाउन सहयोग पुर्याउने आशा गरेका छन् ।
२०४८ सालमा स्थापना भएको पूर्व क्षेत्रकै एक गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो क्याम्पस दुई पटक गुणस्तर सुनिश्चितता प्रत्ययन (क्यूएए) प्राप्त गर्न सफल भएको छ ।
मानविकी, व्यवस्थापन, विज्ञानलगायतका संकायको पठनपाठन हुने सो क्याम्पसमा स्नातक तहमा बीएड, बीबीएस, बीएस्सी, बीए, बीबीए, बीआईसीटीई र बीएड विज्ञान कार्यक्रम सञ्चालित छन् ।
स्नातकोत्तर तहमा एमएड् र एमबीएस कक्षा चलिरहेका छन् । चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सो क्याम्पसले पठनपाठनका अतिरिक्त समयमा विभिन्न प्राज्ञिक, अनुसन्धानात्मक तथा सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
क्याम्पसमा ९७ जनाभन्दा बढी शिक्षकहरू र २६ जनाभन्दा बढी कर्मचारीहरू कार्यरत छन् । क्याम्पसको आफ्नै ४ विघा १५ कठ्ठा जग्गा रहेको छ ।
क्याम्पसका लागि चाहिने सबै भौतिक पूर्वाधारहरू आफ्नै जग्गामा निर्मित छन् ।
विश्वविद्यालय अनुदान आयोगले सो क्याम्पसको शैक्षिक र व्यवस्थापकीय गुणस्तर अब्बल भएको हुँदा नेपालभरीका सामुदायिक क्याम्पसहरूमध्येबाट सो क्याम्पसलाई नेतृत्वदायी क्याम्पसमा छनोट गरेको छ ।
View : 38
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved