Biratnagar, Morang, Nepal
२ माघ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
विचार

पृथ्वीको भविष्य संकटमा!

कार्बनको प्रलय : भविष्यको आगो, पृथ्वीको दुःखान्त

कोरोना महामारीभन्दा डरलाग्दो हुनेछ कार्बन महामारीको रूप । यसले कृषि उपज सिध्याएर भोकमरी निम्त्याउने छ । यसतर्फ ध्यान नदिने हो भने आम मानिसको कहालीलाग्दो मृत्युवरण हुनेछ ।
दुर्गाप्रसाद खरेल
२ माघ २०८१, बुधवार

कार्बन पृथ्वीको पर्यावरणका विनाशको नियति बनेको छ । कार्बनको बढ्दो उत्सर्जन सबै जीवित प्राणीको अस्तित्वमा सङ्कट बन्न सक्छ । कल्पना गरौं, पृथ्वी भट्टीजस्तो तात्तिएको, गर्मीले गर्दा मान्छे हिंड्दा हिंड्दै पुर्लुक्क लडेर मरिरहेको, मान्छेको पेशा, व्यवसाय, कृषि, उद्योग सबै धराशायी भई रोजगारी मासिंदै गएको, खानका लागि एक मानो अन्न नपाइने गरेको, अहिलेको खुल्ला आकाश कालो मैलो भई माथिबाट अचानक असिना पर्न थालेको, स्कुल कलेज सबै बन्द हुन थालेको, केटाकेटीहरू गर्मीले लल्याकलुलुक भइरहेका, रूखहरू सबै हरियो रङ छोडेर फुस्रा हुन थालेका, खानेपानीको हाहाकार भएको । यो एउटा कल्पना हो तर वातावरणमा क्रमशः हानी नोक्सानी भइरहे गरिरहे यो कल्पना अबका केही वर्षमा साकार हुने बेर लाग्ने छैन ।

यसरी कार्बनको अधिक मात्राले मानव प्रजाति समेतका लागि मृत्युको डरलाग्दो सन्देश दिइरहेको छ । वर्तमान जलवायु परिवर्तनको सामान्य लक्षण देखिन थालेको भए पनि आम चर्चा र राष्ट्रिय बहसको विषय हुन सकेको छैन । कोरोना महामारी भन्दा डरलाग्दो हुनेछ कार्बन महामारीको रूप, यसले कृषि उपज सिध्याएर भोकमरी निम्त्याउने छ, जसमा अहिले यसतर्फ ध्यानै नदिएका आम मानिसको कहालीलाग्दो मृत्युवरण हुनेछ । अर्कातिर अत्यधिक गर्मीका कारणले पानीका मुहानहरू सुक्ने छन् ।

कु-समयमा हावा हुरी, बाढी, पहिरो, चक्रवातको सामना गर्नुपर्ने सङ्कट ! समुद्रलगायत सम्पूर्ण जलाधारहरूको पानी चिसो नभई तातो हुनेछ र जलचरहरूको पूर्ण विनाश हुनेछ । रूखहरूले अत्यधिक कार्बन सोस्न सक्ने छैनन् । भएका रूखहरूको कार्बन डाइअक्साइड सोस्ने क्षमता घटेर जानेछ । कही चिसो स्थान रहने छैन, पृथ्वीमा भएका हिउँ सबै पग्लेर ताता चट्टानहरू मात्र रहने छन् ।

यसरी सर्वत्र खप्नै नसकिने तातो माटो, तातो पानी र तातो जलवायुले हामीलाई मार्दै लानेछ । हामी भोक, तिर्खा, बेचैनी र गर्मीले छटपटाउँदै मर्नेछौं । एकपटक कल्पना गर्नुस् । पर्यावरणविद् र वैज्ञानिकहरूले चेतावनी दिइसकेका छन् । त्यतिबेला चाहेर पनि यसको समाधान नै हुने छैन । किनभने यो अवस्थाको सुधार मानव क्षमता र प्रविधिको दायरामा छैन । किनभने प्रकृतिको सन्तुलन बिग्रेर सबै वातावरण हाम्रो नियन्त्रण र सहनशीलता भन्दा बाहिर गइसकेको हुनेछ । यसको जिम्मेवार हामी सबै हौं । कसैले कसैलाई दोष दिएर उम्किने अवस्था छैन । हामी सबैले कम बढी मात्रामा पर्यावरणको हानी गरेकै छौ  ।

यसको बढी हानी गर्नेमा विकसित भनिएका औद्योगिक राष्ट्रहरू हुन् तर तिनले यस्ता कुरामा चासै नराखी कार्बन उत्सर्जन नघटाई राजनीतिको फोहोरी खेल र युद्धमा लिप्त रहेका छन् । यो पृथ्वीलाई ध्वस्त पार्ने कुरामा उनीहरू बढी जिम्मेवार छन् भने हामीले पनि जनसंख्याको व्यवस्थापनका लागि वनजङ्गल मासेर विकासका नाममा कङ्क्रिटका सहर, फराकिला सडक र बजार विस्तार गरेका छौं ।

अनियन्त्रित सम्पदाको दोहन, प्रदुषण र जैविक प्रजातिहरूको विनाश गरेका छौं जसले यो पर्यावरणलाई सन्तुलित रूपमा राख्ने काम गरिरहेका थिए । खप्नै नसकिने गर्मी बढेपछि त्यो गर्मी घटाउने कसरी ? त्यतिबेला न रूख रोप्दा हुन्छ, न कार्बनको उत्सर्जन शून्यमा झार्दा हुन्छ । कसैगरी अवस्थामा सुधार आउने छैन । किनभने हिमाल र ध्रुवीय हिउँ पग्लिसकेपछि फेरि हामी पहिलाजस्तो हिमाच्छादित बनाउन सक्दैनौं । मासिइसकेको जैविक सम्पदा फेरि जगाउन सक्दैनौं ।

हिउँबिनाका नाङ्गा हिमालमा फेरि हिउँ भर्न सक्दैनौं । परिवर्तित जलवायु हामीमाथि नै आइलाग्न थालेको हुनेछ जसलाई फेरि पूर्ववत् प्राकृतिक सन्तुलनमा फिर्ता लान सक्दैनौं । पृथ्वी एउटा जल्दै गरेको भट्टी हुनेछ जसलाई अहिलेको जस्तो स्वस्थ बनाउन सक्दैनौं ।  अब समय घर्किन लागिरहेको छ । हामीमाथि प्रकृतिले क्रुरतम रूप देखाउन लागिरहेको छ । अहिलेदेखिनै विश्वमा कार्बन उत्पादनलाई शून्यमा झार्ने प्रयत्न गरेनौं भने, जति बाँचेका प्राकृतिक अवस्थालाई संरक्षण गर्न सकेनौं भने, बढ्दो तापमानलाई नियन्त्रण गरेर यसबाट बढ्न नदिने पहल गरेनौं भने भविष्य (माथि भनिए झैं) भयावह र दुर्भाग्यजनक हुन सक्छ । 

विकसित र प्राविधिक रूपले सम्पन्न देशका धनी मानिसहरू त अर्को ग्रहमा बसेर भए पनि बाँच्लान्, तर हामी सामान्य मानिस तातो कराहीमा परेर मरेझैं मर्नु पर्ने अवस्थाको कल्पना पनि भयावह छ । त्यसैले अहिले विकसित देशमा अन्तरिक्ष अभियान चलिरहेको छ । कुनै दिन यस पृथ्वीलाई बाई गर्ने सुरमा छन् तिनीहरू । उनीहरूलाई थाहा छ कि उनीहरूले यस पृथ्वीलाई बस्न नसकिने रापिलो ग्रह बनाउँदैछन् । एकदिन यहाँबाट उठ्नु छ अर्को ग्रहमा संसार बसाउनु छ । उनीहरू कुनै वातावरणविद्का कुरामा त्यति धेरै महत्व दिंदैनन् । उनीहरूलाई अकुत सम्पत्ति कमाउनु छ चाहे अर्को देशको सम्पत्ति लुटेर होस् वा ठुलो व्यवसाय गरेर होस् ।

हामी तिनले बनाएका सामान किनेर मक्ख पर्छौ र बिग्रेपछि हाम्रै प्राणदायिनी खोलामा लगेर फाल्छौं । लाखौं डलर खर्च गर्न सक्ने भए नासाले अर्को ग्रहमा लगिदिन्छ । 
आधुनिक र सभ्य हुनलाई प्लास्टिकको अनियन्त्रित प्रयोग गरिरहेका छौं र  जमिन, जल हावा प्रदूषण गरिरहेका छौं । अब यो आडम्बर र घमण्ड हामीलाई महंगो पर्नेछ । किनभने हामी अब भोकै मर्नुपर्ने दिन आउँदैछ, आफ्नै जीवनकालमा नभए पनि हाम्रा प्यारा छोरा नातिनातेनालाई त्यस अवस्थामा छोड्न जाँदैछाैं ।

छोरानातिहरू कुपोषण, बढ्दो गर्मी, प्यासले व्याकुल हुनेछन् र अकाल मरण भोग्नेछन् र हामीलाई निकृष्ट गाली गर्नेछन् । हामी फोस्रो राजनीति गर्न टायर बाल्छौं, वनमा डडेलो लगाउँछाैं, लोपोन्मुख चरा चुरूङ्गीको सेकुवा मुख मिठ्याएर खान्छौं । हाम्रा छोरानातिको हामीले भविष्य र सुखद जीवन खोस्दैछांै । हामी सीमाभन्दा बढी भोगी भइसक्यौं ।प्रकृतिका अवयवहरू पानी, जमिन, वन र हावा आदिको क्षमता एउटा सीमासम्म हुन्छ । तिनले एउटा निश्चित मात्रामा फल हामीलाई प्रदान गर्न सक्छन् । तिनको क्षमता भन्दा बढी वस्तुको जब अतिरिक्त प्राप्तिको लालच गरिन्छ, तब कृत्रिम रूपमा बढी मानवीय प्रविधि र दबाब प्रयोग गर्नुपर्ने हुन्छ ।

यही दवाब र प्रविधिले बिग्रेको वातावरण अन्ततः हामीमाथि नै आइलाग्छ । प्रकृति क्रुर दानव बनेर हामीमाथि बर्सिन्छिन् । वन जङ्गल र हरियाली मासेर, वनमा बस्ने जैविक विविधताको कडी बिगारेर घरघरै राखिएका र उद्योगमा चल्ने  गाडी कुदाउने गरेकाले यसको परिणाम नराम्रोसँग चुकाउनु पर्ने अवस्था आउने छ । त्यसैले अत्यधिक भोगले हामीलाई एकदिन खान्छ । यसैकारणले पूर्वीय दर्शनको आधार वेद तथा उपनिषदको एउटा श्लोक यहाँ उल्लेख गर्न प्रासङ्गिक छ,

ईशा वास्यमिदं सर्वम् यत्किञ्चन जगत्यां जगत्
येन त्यक्तेन भुञ्जिथा मा गृध कस्य स्विद्धनम् ।।
ईशावास्योपनिषद १।१

यो जगत् केवल ईश्वरको हो, ईश्वर सम्पूर्ण वस्तुमा व्याप्त छन् । यो प्रकृति न तिमीले यो केही बनाएको हो, न यसलाई नाश गर्ने तिम्रो कुनै अधिकार छ । न यो तिम्रो  निजी हो न मेरो । यो सम्पूर्ण जगत् सृष्टिकर्ताले प्रकृतिमार्फत दिएको हो । यो सबै उहाँकै देन हो र हाम्रा जीवनकालमा हामीले र भोलि हाम्रापछि अर्कैले भोग गर्नु पर्छ । त्यसैले यो सबै सम्पदाहरूमा लालच नगर । त्यागपूर्वक यो जगत् भोग । लालच नगर ।  यसमा रहेको धन कसको हो ? यस श्लोकले पृथ्वीको सम्पदाको संरक्षण र अनासक्तिको भाव प्रकट हुन्छ । 

हाम्रा पछि पनि यो संसार रहन्छ, यसमा मान्छेहरू जन्मन्छन्, जीवन बिताउँछन्, भोग्छन्, प्राकृतिक वस्तुहरू प्रयोग गर्छन्, हाम्रा छोराछोरी नाति पनातिहरू हुन्छन् । उनका लागि पनि यो सम्पूर्ण सम्पदा अक्षत र दुरूस्त राख्नुपर्ने सशक्त उद्घोष यस श्लोकमा पाइन्छ ।

View : 47

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved