विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको वडानम्बर ५ मा बाँतर सरदार समुदायको कुल देउता गेडसिंह महाराजको मन्दिर निर्माण गरिएको छ । सो वडाको बेरियामा निर्माण गरिएको मन्दिरको कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राईले मंगलबार उद्घाटन गरे ।
धनपालथान ५ नम्बर वडा कार्यालयसहित नेपाल बाँतर सरदार समाज कल्याणकारिणी समितिले संयुक्तरुपमा आयोजना गरेको माघी महोत्सव कार्यक्रममा मन्दिरको उद्घाटन गरिएको हो ।
दलित समुदायमा सूचिकृत बाँतर, सरदार समुदायले गेडसिंह महाराजलाई कूल देउताको रुपमा पूजा गर्दै आएका छन् । उद्घाटन गरिएको मन्दिर धनपालथानमै गेडसिंह महाराजको पहिलो मन्दिर भएको जनाइएको छ ।
२०७४ सालमा मन्दिरको शिलान्यास गरिएको थियो । मन्दिर निर्माणका लागि वडा कार्यालयले २० लाख बजेट बिनियोजन गरेको वडाध्यक्ष गयानन्द सरदारले जानकारी दिए ।
बाँतर समुदायले माघे संक्रान्तिका दिन सुँगुरको बलि दिंदै गेडसिंह महाराजको विशेष पूजा आराधना गर्छन् ।
कार्यक्रममा नेपाल बाँतर सरदार समाज कल्याणकारिणी समितिका केन्द्रीय सभापति मोहनलाल सरदार, युवा नेता सुभाष सरदार लगायत संस्थाका पदाधिकारीसहित स्थानीयको सहभागिता थियो ।
सो अवसरमा सहभागी स्थानीय कलाकारले सांस्कृतिक नृत्य र गायन समेत प्रस्तुत गरेका थिए ।
View : 48
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved