कांग्रेसमा स्ववियु परिणामको साइड इफेक्ट
विराटनगर । साता अघि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नतिजा मोरङ कांग्रेसका लागि जति बिर्सनलायक रह्यो, नेता डा. शेखर कोइराला पक्षका लागि ठूलो राजनीतिक क्षतिमा परिणत भएको छ ।
कांग्रेसको आधारभूमि मानिने मोरङकै प्रमुख क्याम्पसहरूबाट भ्रातृ संस्था नेपाल विद्यार्थी संघ बढारिएको नतिजाको अपजस डा शेखर कोइराला पक्षले निरन्तर खेपिरहेको छ । यहीबेला कोइराला समूहसमेत स्ववियु चुनावको निहुँमा छिन्नभिन्न अवस्थामा पुगेको छ ।
शेखर कोइराला समूहका नेताहरूले दिएको जानकारी अनुसार यसपटकको स्ववियु निर्वाचनमा मोरङको कोइराला समूह दुई भागमा विभक्त देखियो ।
कोइराला पक्षको कब्जामा रहेको मानिने मोरङ कांग्रेसकै नेतृत्व पनि स्ववियु निर्वाचनमा विभाजित बन्यो । डा मीनेन्द्र रिजाल, विराटनगरका मेयरसमेत रहेका पार्टी जिल्ला उपसभापति नागेश कोइराला र भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे एकातिर र पूर्व मुख्यमन्त्री केदार कार्की र विराटनगर महानगर सभापति दीपक चापागाईं अर्कातिर हुने अवस्था आएको थियो ।
संस्थापन पक्ष निकट विद्यार्थी नेताहरूले कोइराला पक्षको एउटा टिम सबैतिर आधिकारिक उम्मेदवार हराउन लागेको आरोप नै लगाएको छ ।
‘डा मीनेन्द्र रिजाल, नागेश कोइराला, भक्तिनाथ माझी, मोदराज घिमिरेसहितका नेताहरू सबैतिर आधिकारिक उम्मेदवार जिताउन लाग्नुभयो’, महेन्द्र मोरङ क्याम्पसका पूर्व स्ववियु सभापति जशवन्त पौडेलले भने ‘तर, पूर्व मुख्यमन्त्री केदार कार्की र विराटनगर महानगर सभापति दीपक चापागाईं महेन्द्र मोरङ सहितका क्याम्पसमा नेविसंघका उम्मेदवार हराउन लाग्नुभयो ।
उहाँहरूले संगठनका उम्मेदवार हराउन खेलेको भूमिका आपत्तिजनक छ । उहाँहरूमाथि कारबाही गर्न हामीले पार्टीसँग माग गरेका छौं ।’
आफूहरूले पूर्व मुख्यमन्त्री कार्की र महानगर सभापति विरूद्ध मोरङ जिल्ला समितिमा यसअघि नै ज्ञापन दिइसकेको बताउँदै पौडेलले ती दुई नेताविरूद्ध अनुशासनको कारबाही गर्न केन्द्रलाई गुहारेको जानकारी दिए । ‘सोमबार हामीले विराटनगरमा महामन्त्री गगन थापालाई भेटेर उहाँहरू दुई जनाविरूद्ध कारबाहीको माग गरेका छौं ।’
पौडेलले कार्की र चापागाईंले नेविसंघका उम्मेदवार हराउन खोजेको प्रमाण र सबुतसहित पार्टीमा उजुरी दिने तयारी भइरहेको दावी पनि गरे ।
‘उहाँहरू र उहाँहरूका टिमका मान्छेले कसरी नेविसंघ हराउन भूमिका निर्वाह गरेका थिए, त्यसको सबुत हामीसँग छ’, पौडेलको दाबी छ ‘त्यो सबुतसहित हामी पार्टीमा उजुरी दिने तयारीमा छौं ।’
पूर्व मुख्यमन्त्री र महानगर सभापतिमाथि यति संंगीन राजनीतिक आरोप लगाइरहेको संस्थापन पक्षले शेखर टिमकै बेमेलले मोरङमा नसोचेको नतिजा आएको बताइरहेको छ ।
यसपटक मोरङका ११ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । जसमध्ये ६ वटामा माओवादीको भ्रातृ संस्था अखिल क्रान्तिकारीले जीत दर्ता गरेर पहिलो हुँदा नेविसंघ ३ वटामा जितेर दोस्रो मात्रै हुन सक्यो ।
नेविसंघले ३ जना अध्यक्ष जितेको मोरङका दुई क्याम्पसमा त नेविसंघ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । यसरी चुनाव लडेर नेविसंघले मोरङमा जितेको क्याम्पस एउटा मात्रै हो ।
लेटाङ क्याम्पसमा नेविसंघले चुनाव जितेको हो । एमाले भ्रातृ संस्था अनेरास्वयिुले २ वटा क्याम्पस जितेको थियो ।
कोइराला पक्षका नेताहरू कार्की र चापागाईंले मात्रै होइन, नेता गुरुराज घिमिरेले समेत हारको दोष आफूहरूमाथि लगाएर संस्थापन पक्ष पन्छिन नमिल्ने बताइरहेका छन् ।
‘टिकट दिने, उम्मेदवार छान्ने सबै काम पार्टी र नेविसंघले गर्ने अनि हारको दोष एउटा पक्षलाई थोपरेर सही समाधान निस्कदैन । हारको कारण खोजेर समीक्षातिर लाग्नु सबैभन्दा राम्रो हुन्छ ।’
कोइराला पक्षका नेताहरूले यस्तो दाबी गरिरहदा संस्थापन पक्षका विद्यार्थी नेता पौडेलसहितले भने महेन्द्र मोरङका आधिकारिक उम्मेदवार प्रज्जवल विष्ट हराउन कार्की र चापागाईं अनि उनीहरूको समूह लागेको आरोप लगाएका छन् ।
कार्की र चापागाईंले महेन्द्र मोरङमा योगराज दाहाललाई उम्मेद्वार बनाएका थिए । विष्टले क्रान्तिकारीका रोहित यादवसँग ४३ मतान्तरले हार्दा नेविसंघकै बागी उम्मेदवार दाहालले ६० मत पाएका थिए ।
‘हामीले महामन्त्री गगन थापालाई महेन्द्र मोरङको विस्तृत कुरा भनेका छौं’, पौडेलले भने ‘महामन्त्रीले पनि महेन्द्र मोरङको हारले देशैभरीको जीतलाई खल्लो पारेको बताउनुभएको छ । हामीले पार्टीसँग कारबाहीको माग गरेका छौं ।’ स्ववियुमा कोइराला पक्ष मोरङमा विभाजित हुने अवस्था आउनुका पछि पूर्व मुख्यमन्त्री कार्की र महानगर सभापति चापागाईंको व्यक्तिगत ‘इगो’ ले काम गरेको आरोप नेताहरू लगाउँछन् ।
‘उहाँहरू दुई जनालाई आफैले भनेको मान्छे नभई नहुने स्थिति भयो’, कोइराला समूहकै एक नेताले भने ‘त्यसैले महेन्द्र मोरङमा टिम नै फरक उतार्नु भयो । तर, उहाँहरूका सबै उम्मेद्वारहरू न्यून मत पाएर चौथो मात्रै बन्नु भयो । यसले पनि उहाँहरूको अडान सही थिएन, इगोमा आधारित थियो भन्ने देखिन्छ ।’
\
संस्थापन पक्षका नेताहरू शेखर कोइरालाले आफ्नै टिम व्यवस्थापन गर्न नसक्दा पनि मोरङका क्याम्पसहरूमा नमिठो हार सहनुपरेको आरोप लगाइरहेका छन् ।
‘उहाँ पार्टी सभापति हुने भन्दै हिंडिरहनुभएको छ तर जिल्लाकै आफ्नो टिम छिन्नभिन्न हुँदा पनि व्यवस्थापन गर्ने क्षमता देखिएन’, संस्थापनका एक नेताले भने ‘जिल्लाको टिम नै म्यानेज गर्न उहा विफल देखिनुभयो । नेविसंघको हारको मुख्य कारण यही हो ।’
View : 308
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved