विराटनगर । विराटनगरकी उषा कार्की (नाम परिवर्तन) बिवाह गरेको ४ बर्षपछि आफू गर्भवती भएकोमा निकै हर्षित थिइन् । केही महिनाअघि गर्भवती भएको थाहा पाएपछि उनले नियमित स्वास्थ्य जाँच गरिरहेकी थिइन् ।
नियमित जाँच गराउने क्रममा तीन महिना पुगेपछि डाक्टरले उनको अल्ट्रासाउन्ड गराए । तर र्दुभाग्य अल्ट्रासाउण्डमा उनको पेटमा बच्चा नभएर साना–साना कोषहरू देखिए ।
तीन महिनादेखि उषामा गर्भवती महिलाहरूमा देखिने सबै लक्षणहरू थिए । त्यसैले पनि उनले चिकित्सकको कुरा विश्वास गर्न सकिनन् । अर्को अस्पताल गइन् । अर्को अस्पतालमा अल्ट्रासाउण्ड गराउँदा पनि समस्या उही देखियो ।
उषालाई ‘मोलार प्रेग्नेन्सी’ भएको रहेछ । मोलार प्रेग्नेन्सीका बारेमा जानकारी पाएपछि उषाले चिकित्सकको सल्लाहअनुसार तत्काल शल्यक्रियाद्वारा पाठेघर सफा गरी उपचार गरिन् । त्यो अप्रेशन उनको लागि मात्र नभई परिवारका लागि पनि मानसिक रूपले पीडादायी भएको उनी बताउँछिन् ।
‘अहिले मेरोे स्वास्थ्य सामान्य अवस्थामा छ,’ विराटनगरस्थित एक अस्पतालमा भेटिएकी उषाले भनिन्, ‘नक्कली गर्भ पनि हुँदो रहेछ, सबै लक्षण गर्भवतीको जस्तै हुँदैमा ढुक्क भएर घरमै बस्नु नहुने रहेछ ।’
उषा मात्र होइन मोरङ सुन्दरहरैंचाकी ३४ वर्षीय गोमा (नाम परिवर्तन) पनि मोलार प्रेग्नेन्सीबाट पीडित छन् । बिवाह भएको ५ वर्षपछि आफू गर्भवती भएको गोमाले थाहा पाएकी थिइन् ।
आफ्नो जीवनको सबैभन्दा खुसीको क्षण मान्दै उनले आफ्ना परिवारलाई खबर दिइन्, र सबैजना खुशी पनि भए । तर केही सातापछि उनले अस्वाभाविक रक्तस्राव, लगातार बान्ता र पेटमा असह्य पीडा महसुस गर्न थालिन् । चिन्तित हुँदै उनी अस्पताल पुगिन् । स्वास्थ्य परीक्षण गरेपछि थाहा भयो उनको पेटमा गर्भ नभएर मोलार प्रेग्नेन्सी भएको रहेछ ।
के हो मोलार प्रेग्नेन्सी ?
मोरङ सहकारी अस्पतालका बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बालकृष्ण साहका अनुसार मोलार प्रिग्नेन्सी अर्थात् जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज महिलाहरूमा हुने एक प्रकारको प्रजनन प्रि–क्यान्सर हो ।
युरोपियन मुलुकहरूमा ०.६ देखि १.१ प्रति हजार गर्भमा मोलार प्रिग्नेन्सी हुने गरेको पाइएको छ । यो समस्या एसियन मुलुकहरूमा अलिक बढी देखिने गर्दछ ।
डा. साहका अनुसँर गर्भको साल (प्लासेन्टा) बाट जन्म लिने यस क्यान्सरमा एक किसिमको कोष (ट्रोफोब्लास्ट) को अनियन्त्रित वृद्धि भएको हुन्छ ।
एक पटक जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज भएका महिलामा यो दोहोरिने सम्भावना बढिरहेको हुन्छ । जुनसुकै उमेरका महिलामा यो हुन सक्ने भए पनि कम उमेर (१५ वर्ष) वा बढी उमेर (३५ वर्ष) मा गर्भवती भएकाहरूमा जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज हुने सम्भावना बढी रहन्छ ।
जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज भएका महिलामध्ये करिब ८४ प्रतिशत महिलामा अनियमित र अत्यधिक रक्तस्राव हुने डा. साह बताउँछन् ।
‘लामो समयसम्म महिनावारी (रक्तस्राव) भइरहने भएकाले कमजोर हुने, शरीर पहेंलो हुने, चक्कर लाग्नेजस्ता समस्याहरू आउन सक्छन् । यस्तो अवस्थामा ह्युमान कोरियोनिक गोनाडोट्रोपिन (एचसीजी) हर्मोन बढी हुने हुन्छ । त्यसैले पिसाबमा गर्भ परीक्षण गर्दा ‘पोजेटिभ’ देखिने हुन्छ ।’ डा. साह भन्छन् ।
जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज भएका महिलाको पाठेघर ठूलो हुने र अत्यधिक वान्ता हुने गरेको पाइन्छ । यस अवस्थामा योनी मार्गबाट रक्तस्राव हुँदा रगतसँगै सेता स–साना अंंगुरका दानाहरू जस्तै देखिने हुन सक्छ । यस अवस्थामा कसैकसैलाई उच्च रक्तचाप हुने, खुट्टा सुन्निनेजस्ता समस्या थपिन सक्छ । यो रोग फोक्सो, कलेजो, मस्तिष्क, पेटजस्ता अन्य अंगहरूमा फैलिन सक्ने सम्भावना रहन्छ ।
‘रोग फैलिसकेपछि अन्य जटिलताहरू देखिन सक्छ । रोगका लक्षणका आधारमा मात्र जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज भएको ठोकुवा गर्न सकिदैन’ डा. साह भन्छन् ‘यसका लागि बिरामीलाई पूर्ण परीक्षण गर्नुका साथै रगतमा एचसीजीको मात्रा, रगतका अन्य परीक्षणहरू, छातीको एक्सरे, भिडियो एक्सरे, तथा पाठेघर सफा गर्दा निकालिएका कोषहरूको परीक्षण गर्नुपर्ने हुन सक्छ ।’
समयमै उपचार पाए पूर्ण रुपमा निको हुने
जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज एक किसिमको प्रि क्यान्सर हो । तर समयमा नै रोगको निदान गर्न सकिए यो अन्य क्यान्सरहरू जस्तो चाँडै फैलिने र धेरै जटिलताहरू नदेखिने डा. साह बताउँछन् ।
उनी भन्छन्, ‘यसबाट धेरै आत्तिनु वा डराउनु पर्दैन, तर पूर्ण उपचारका लागि नियमित परीक्षण र उपचारमा समय खर्चिनुपर्ने हुन सक्छ ।’
डा.साहका अनुसार प्रारम्भिक अवस्थामा मोलार प्रिग्नेन्सीका बिरामीलाई लठ्याएर पाठेघर सफा गर्ने (सक्सन एन्ड इभ्याकुएसन) गर्नुपर्छ । पाठेघरमा रहेको मोलार तन्तुहरू राम्रोसँग सफा गरिनु अर्थात् पुर्णरूपले निकाल्न सक्नु नै यसको प्रमुख उपचार हो । यस्ता बिरामीहरूको नियमित रगतमा एचसीजीको मात्रा परीक्षण गर्दै फलोअप गर्नुपर्छ ।
कम्तिमा महिना दिनको अन्तरमा गरिएको तीन वटा रगतमा एचसीजीको मात्राको रिपोर्ट राम्रो आएमा मात्र उपचार सकिएको सम्झनुपर्छ भन्ने मान्यता रहेको छ । तर यसरी गरिएको एचसीजीको मात्रा नघटेमा जस्ताको त्यस्तै वा बढेमा) केमोथेरापी (क्यान्सरविरुद्धको औषधि) चलाउनुपर्ने हुन्छ ।
‘कम्पलिट मोल’ किसिमका मोलार प्रिग्नेन्सी कुनै किसिमको शल्यक्रिया नगरी र पाठेघर नफाली पूर्णरूपले निको बनाउन सकिने डा.साह बताउँछन् ।
अधिकांश मोलार प्रिग्नेन्सीमा केमोथेरापी चाहिँदैन । तर सक्सन एन्ड इभ्याकुएसन गरेर एचसीजीको मात्रा घट्दै नगएमा तथा मोलार अन्य अंंगहरू(फोक्सो, कलेजो आदि) मा फैलिएको अवस्थामा केमोथेरापी अनिवार्य हुन्छ ।
रोगको अवस्था, बिरामीको उमेर, क्यान्सर फैलिएको अवस्था तथा रगतमा एचसीजीको मात्राका आधारमा कम खतरनाक वा बढी खतरनाक समूहमा छुट्याएर केमोथेरापी सुरु गरिन्छ ।
कम खतरनाक समूहमा परेका बिरामीलाई एक मात्र औषधि रहेको केमोथेरापी चलाउने भएकोले यो सस्तो पर्ने हुन्छ । यस समूहका बिरामीलाई एक पटकको उपचारमा औषधिको खर्च २ हजारदेखि २५ सय मात्र पर्ने भएकोले यसलाई सबैभन्दा सस्तो केमोथेरापी पनि भन्न सकिन्छ ।
बढी खतरनाक समूहमा परेका बिरामीहरूको केमोथेरापीमा धेरै किसिमका औषधिहरू प्रयोग गर्नुपर्ने भएकोले केही बढी झन्झटिलो र महँगो पर्ने हुन्छ । तर यस अवस्थामा पनि निको हुने सम्भावना अन्य क्यान्सरहरू भन्दा राम्रो रहेको पाइन्छ ।
चिकित्सकहरूका अनुसार मोलार प्रिग्नेन्सीकै कारण कसैको मृत्यु भने हुँदैन । तर यसका जटिलता अर्थात् रक्तस्रावको कारण मृत्युसमेत हुन सक्छ । मोलार प्रिग्नेन्सी प्रिमेलिग्नेन्ट अर्थात् क्यान्सर हुनुभन्दा अगाडिको अवस्था हो ।
यसमा पनि ‘कम्पलिट मोल’ किसिमका मोलार प्रिग्नेन्सीमा करिब २० प्रतिशत जेस्टेसनल ट्रोफोब्लाष्टिक न्यु प्लासिया अर्थात् क्यान्सर हुने सम्भावना हुन्छ । तर यस अवस्थामा पनि कुनै किसिमको शल्यक्रिया नगरी र पाठेघर नफाली पूर्णरुपले निको बनाउन सकिन्छ ।
मोलार प्रिग्नेन्सी भएका महिलालाई सन्तानका रहर हुन सक्छ । यस अवस्थामा पूर्ण उपचारपछि गर्भवती हुन सक्ने हुन्छन् । तर एकपटक मोलार प्रिग्नेन्सी देखिएका महिलाहरूमा मोलार दोहोरिने सम्भावना भएकाले चिकित्सकीय परामर्श र आवश्यक परीक्षण गरेर मात्र गर्भको योजना बनाउनु आवश्यक भएको चिकित्सकहरूको सुझाव छ ।
View : 251
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved