अमेरिका । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । नोभेम्बर ५ (कात्तिक २०) का लागि तय भएको निर्वाचनमा अमेरिकीहरु आफ्नो मत जाहेर गर्न ब्यस्त छन् । राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।
अमेरिकाका अधिकांश राज्यहरुमा अर्ली भोटिङ अर्थात निर्वाचनको मिति भन्दा एक महिना अघिदेखि मतहाल्ने क्रम जारी छ । त्यही भएर पनि आजको दिन वुथहरुमा त्यति भिंड लाग्दैन । अमेरिकीहरु अर्ली भोटिङ गर्न रुचाउँछन् । अमेरिकमा हुलाक, ईमेलमार्फत पनि आफ्नो मतजाहेर गर्न सकिन्छ ।
यसपटकको अमेरिकी राष्ट्रपतिको निर्वाचन रोचक र धेरै अर्थमा महत्वपूर्ण छ । दुई उम्मेदवारबीच अत्यन्तै प्रतिस्पर्धा देखिएको छ । निर्वाचनमा जसले इलेक्ट्रोल कलेज (निर्वाचन मण्डल)मत २७० कटाउँछ उही नै अमेरिकामा राष्ट्रपति निर्वाचित हुन्छ । कुल ५ सय ३८ इलेक्ट्रोलकलेज मध्ये बहुमतका लागि २७० जित्नै पर्ने हुन्छ ।
अमेरिकाको सबै पचास राज्यमा जनसंख्याका आधारमा कम्तीमा ३ देखि ५४ इलेक्ट्रोल कलेजको मतभार हुन्छ । सबैभन्दा बढी क्यालिफोर्निया राज्यमा ५४ छ भने तीन राज्यहरु वासिङटन डीसी, भरमन्ट रडेलावेयरमा तीन—तीन इलेक्ट्रोल कलेज मत रहेको छ ।
अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष प्रणालीमार्फत नभई यही प्रतिनिधि मण्डल अर्थात इलेक्ट्रोल कलेजले गर्ने गर्छ । त्यसैले लोकप्रिय मत पाउने उम्मेदवार पनि राष्ट्रपति नबन्न सक्छ । यसअघि सन् २०१६ मा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले ट्रम्पभन्दा साढे ६ लाख बढी मत पाउँदा समेत राष्ट्रपति बन्न सकेकी थिइनन् ।
अमेरिकीनिर्वाचनमा यसपटक १६ करोड १४ लाख मतदाता मताधिकारका लागि दर्ता भएका छन् । कानुन बमोजिम १८ वर्ष उमेर पुगेका अमेरिकी नागरिक मतदानका लागि योग्य ठहरिन्छ ।
निर्वाचनको अघिल्लो दिनसम्म राष्ट्रपतिका दुई उम्मेदवार केही महत्वपूर्ण राज्यहरुमा केन्द्रित रहे । स्विङ स्टेट भनिने पेन्सिलभेनिया, मिचिगन, नर्थ क्यारोलाइनाजस्ता राज्यमा ट्रम्प र ह्यारीस एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका थिए । स्विङ स्टेट अर्थात निर्वाचनको अन्तिम घडीसम्म अर्निर्णित राज्यहरु जसले जित्न सक्यो, राष्ट्रपति उही बन्ने निश्चित हुन्छ ।
मंगलवारको मतदान अघि अमेरिकाभरी सात करोडभन्दा बढीले अर्ली भोटिङमार्फत मतदान गरिसकेका छन् । अमेरिकाका विभिन्न मत सर्वेक्षणहरुले ट्रम्प र ह्यारिस बराबरीको अवस्थामा रहेको र अन्तिम परिणामका लागि स्विङ स्टेटको नतिजामा निर्भर रहेको देखाइरहेको छ ।
चुनावी अभियानका क्रममा रिपब्लिकन उम्मेदवार ट्रम्प आप्रवासी मुद्दामा बढी केन्द्रित देखिएका छन् । उनी अप्रवासीमाथी कडा नीति लागू गर्नु पर्ने पक्षमा छन् । डेमोक्रेटिक उम्मेदवार ह्यारिस भने मध्यवर्गको उत्थान, अर्थतन्त्र, विदेश नीतिलगायतका महत्वपूर्ण मुद्दामा केन्द्रित छिन् ।
ह्यारीसले निर्वाचन जिते उनी अमेरिकी इतिहासमै पहिलो महिला राष्ट्रपति बन्ने अवसर पाउनेछिन् । हालका राष्ट्रपति जो बाइडेनले आफ्नो घट्दो मानसिक क्षमता तथा पार्टीको चर्को दबावकाबीच राष्ट्रपतिको प्रतिस्पर्धा छाड्दै कमला ह्यारीसलाई अघि सारेका थिए ।
के अमेरिका इतिहास बनाउन तयार छ त ? अहिले यही प्रश्नको उत्तरको पर्खाइमा सारा विश्व रहेको छ ।
View : 147
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved