विराटनगर । कोशी प्रदेश सरकारले बुधबार पहिलो लगानी सम्मेलनको उद्घाटन गर्दैछ । प्रदेश संरचनाको कार्यान्वयन गर्दै समृद्धिको यात्रामा अघि बढिरहेको कोशी प्रदेशलाई यो लगानी सम्मेलन कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।
लगानी सम्मेलनले प्रदेशको समग्र आर्थिक रूपान्तरणतर्फको निर्णायक पाइला चाल्नेमा सरकारको दृढ विश्वास छ । आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्ने र उनीहरूको सहभागिता अपरिहार्य रहेको ठहर गर्दै प्रदेश सरकारले लगानी सम्मेलनका माध्यमबाट भौगोलिक, आर्थिक तथा प्राकृतिक सम्भावनाहरूको उजागर गर्नेछ ।
‘कोशी इनभेस्टमेन्ट समिट २०२५’ नाम दिइएको यस सम्मेलनमा देश–विदेशका लगानीकर्ता, उद्योगी, नीति निर्माता, विकास साझेदार र सरोकारवाला निकायको ठूलो संख्यामा सहभागिता रहने प्रदेश सरकारको भनाइ छ । लगानी सम्मेलनले मुख्यतया पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार क्षेत्रमा गरिने लगानीमा जोड दिएको छ ।
कोशी प्रदेशमा उर्वर कृषिभूमि, प्रशस्त जलस्रोत, विविध पर्यटकीय गन्तव्यहरू र जलविद्युत उत्पादनको अपार सम्भावना छ । तर, औद्योगिक तथा व्यवस्थित उपयोगको अभावले अपेक्षित लाभ उठाउन भने नसकिएको प्रदेश सरकारको बुझाइ छ ।
सम्मेलनमार्फत यस्ता क्षेत्रलाई प्राथमिकता दिंदै लगानीकर्तासँग सहकार्यको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।
सरकारले लगानीकर्ताहरूलाई लगानीको वातावरण बनाउन आवश्यक कानुनी, नीतिगत तथा प्रशासनिक संरचनाहरूको पुनरावलोकन र संशोधन कार्य पनि तीव्र पारेको छ ।
त्यसका लागि विभिन्न ८ वटा कानुनमा संसोधन गर्न मंगलबार मात्रै अध्यादेशमार्फत कानुनी रुपमा लगानीकर्ताहरूलाई सहजीकरण गरिसकेको छ ।
प्रदेश सरकारले १७ बुंदे प्राथमिकता तय गर्दै लगानी सम्मेलनको आधार तयार पारेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।
उनले कानुनी अवरोध हटाउने, लगानी प्रक्रियालाई सहज, स्पष्ट र छरितो बनाउने, तथा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने विषयहरूलाई सरकारले सहजीकरण गरेर सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।
परियोजनाको अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कनदेखि त्यसको कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रियामा पारदर्शिता र स्पष्टता ल्याउने लक्ष्य लिएको जनाइएको छ । जसको प्रस्थान विन्दुका रुपमा सरकारले ‘वन स्टप सेवा’ लाई प्राथमिकतामा राखेको जनाइएको छ ।
लगानी सम्मेलनले युवाहरूका लागि रोजगारीको नयाँ अवसर खोल्ने अपेक्षा गरिएको छ ।
‘ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा निर्भर रहनुपर्ने अवस्थालाई परिवर्तन गर्नुपर्नेछ, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रदेश सरकारले सोकेसिङ गरेका योजनामा लगानीकर्तालाई आकर्षण गर्ने मुख्य उद्देश्य छ’ मुख्यमन्त्री कार्कीले भने, ‘यसैबाट राष्ट्रिय पूँजीको निर्माण गर्दै समाजवादको निर्माण गर्नुपर्छ ।’
उनले लगानी सम्मेलनका लागि सरकारले लगानी अनुमोदनको मोडालिटी स्पष्ट पारेको, निजी क्षेत्रका प्रतिनिधिसँग परामर्श गरिएको, विभिन्न छूट, सहुलियत तथा वित्तीय प्रोत्साहनका व्यवस्थाबारे पनि लगानीकर्ताहरूलाई जानकारी गराइएको बताए ।
लगानी सम्मेलनमार्फत प्रदेश सरकारले आफू लगानीमैत्री नीति निर्माणमा गम्भीर रहेको सन्देश दिएको छ ।
लगानी प्रक्रियामा एकद्वार प्रणालीको विकास, कानुनी सरलीकरण, कर छुटजस्ता सुविधाहरू प्रस्तुत गरेर लगानीकर्तालाई आकर्षण गरेको हो । यसले स्वदेशी तथा विदेशी लगानीकर्ताबीच प्रदेश संरचनाप्रति विश्वास समेत बढाउने सरकारको दाबी छ ।
कोशी प्रदेशमा आयोजना हुन लागेको पहिलो लगानी सम्मेलन प्रदेशको आर्थिक भविष्य निर्माणमा नयाँ युगको सुरुआतको संकेतको रूपमा हेरिएको छ ।
यसले इच्छित उद्देश्य पूरा गर्न सकेमा अन्य प्रदेशहरूका लागि पनि अनुकरणीय हुने विश्वास गरिएको छ ।
७१ परियोजनाको ‘शोकेसिङ’, १ खर्ब ७३ अर्ब लगानी अनुमान
प्रदेश सरकारले समेत लगानी सम्मेलनको आयोजना गर्नु आफैमा महत्वपूर्ण पहल हो ।
लगानीका हिसाबले प्रचुर सम्भावना भएको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो लगानी सम्मेलन ऐतिहासिक र उपलब्धिमूलक हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताए ।
लगानी सम्मेलनमा ७१ वटा परियोजनाहरू सोकेसिङ गरिएको छ । जसको कुल अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारले शोकेसिङमा पारिएका परियोजनामा लगानीकर्ताको चासो बढाउन सफल हुने डा. कोइरालाले बताए ।
उनले आठवटा कानुनमा गरिएको संशोधनले लगानीकर्ताले पूर्वामान गर्ने अनेकौं झन्झटहरू अन्त्य हुने विश्वास गरिएको उनले बताए ।
लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया र भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुने जनाइएको छ ।
लगानी सम्मेलनमा १० करोड माथिका परियोजना समावेश गरिएका छन् ।
तयारीमा बाँकी छैन कुनै कसर
विराटनगरस्थित पुनर्निमित वीरेन्द्र सभागृहमा लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बताए ।
कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना लगायतका विषयमा विषयगत छलफल हुने जानकारी दिए ।
‘प्रदेशमा लगानी बृद्धि होस्, प्रदेशवासीले आर्थिक रुपमा फाइदा प्राप्त गरुन्, रोजगारी सिर्जना होस् भन्ने प्रदेश सरकारको मुख्य उद्देश्य छ’ मन्त्री मगरले भने, ‘एउटा सरकारी परियोजनाबाहेक सवै निजी क्षेत्रको प्रवद्र्धन हुने परियोजना अघि सारेका छौं, पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा परियोजना समावेश छन्, सम्मेलन सफल बनाउन सरकारले गर्नुपर्ने तयारीमा कुनै पनि कसर बाँकी छैन ।’
उनले सरकारले कृषि ऋणमा ब्याज अनुदान दिंदै आएको भए पनि कृषि क्षेत्र अझै व्यावसायिक बन्न नसकेकोले लगानी सम्मेलनले कृषि क्षेत्रलाई समेत अघि बढाउन टेवा पुग्ने बताए ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानी सम्मेलनलाई सफल पार्न कोशी प्रदेशका सवै राजनीतिक दलहरूसँग छलफल गरिएको बताए ।
उनले नीतिगत झन्झट हटाउन अध्यादेशमार्फत कानुनहरू संशोधन गरेर लगानीकर्तालाई आकर्षण गरिएको बताए ।
निजी क्षेत्रमा उत्साह
प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनले कोशी प्रदेशमा लगानीको ठूलो सम्भावनाका क्षेत्र देखाएको निजी क्षेत्रले बताइसकेका छन् ।
लगानीकर्ताले लगानी गरेमा मात्रै मुलुकको आर्थिक क्षेत्र चलायमान हुने उनीहरूले बताए ।
‘यो सम्मेलनले कोशी प्रदेशका उद्योगी व्यवसायी र लगानीको क्षेत्र खोजिरहेका नवउद्यमीहरूलाई उत्साहित बनाएको छ’ नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले भने, ‘हामीलाई सकारात्मक रुपमा लिएका छौं, सरकारले कतिपय कानुनी हडल्सहरूलाई संशोधन समेत गरिसकेको छ, यसले निजी क्षेत्रलाई अघि बढ्न हौसला मिलेको छ, लगानी भित्रिने र उद्योगधन्दा चल्ने अवस्था बने स्वदेशमै रोजगारी सिर्जना हुनेछ ।’
महासंघले पनि कोशी प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न संस्थागत पहल गरेको बताए ।
साथै लगानी सम्मेलनका माध्यमबाट प्रदेशको आर्थिक पुनरोत्थानलाई विश्वबजारमा जोड्ने ऐतिहासिक अवसर बन्ने अध्यक्ष राउतले बताए ।
View : 222
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved