Biratnagar, Morang, Nepal
३ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस किचलोको असर

कामचलाउका भरमा स्वास्थ्य मन्त्रालय

उद्‌घोष सम्वाददाता
३० वैशाख २०८२, मङ्गलवार

एआई निर्मित तस्वीर ।

विराटनगर  । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको आठ महिना पूरा भएको छ । गएको भदौ २८ मा प्रदेश सरकारमा सहभागी भएको कांग्रेसले आफ्नो भागमा परेको स्वास्थ्य मन्त्रालयमा अझै मन्त्री तोक्न सकेको छैन । 

कांग्रेस र एमालेले केन्द्रदेखि प्रदेशसम्म सत्ता सहयात्रा थाल्दा कोशीमा मुख्यमन्त्री एमालेले लिने र बाँकी चार-चार मन्त्रालय भागबन्डा गरेका थिए । सोही सहमतिअनुसार कांग्रेसबाट भूपेन्द्र राईले भौतिक पूर्वाधार, खगेनसिं हाङ्गामले कृषि र सदानन्द मण्डलले वन वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मा पाएका थिए । भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधारको राज्यमन्त्री बनेका थिए । 

कृष्णप्रसाद सिटौला समूहबाट राई र राजवंशी, देउवा समूहबाट हाङ्गाम र मण्डल मन्त्री बनेको आठ महिना पूरा भइसक्दा पनि डा. शेखर कोइराला समूहको भागमा परेको स्वास्थ्य मन्त्रालय भने अझै पनि मन्त्रीबिहीन जस्तै छ । त्यसो त मुख्यमन्त्रीले स्वास्थ्य मन्त्रालयको जिम्मा पनि भूपेन्द्र राईलाई नै दिएको पनि धेरै समय बितिसकेको छ । यद्यपि प्रदेशका मन्त्रालयहरूमध्ये धेरै कामको बोझ हुने र मातहतका कार्यालय र अस्पतालहरू पनि धेरै भएको स्वास्थ्य मन्त्रालय नै कामचलाउ मन्त्रीको भरमा हुँदा कार्यसम्पादन प्रभावित भइरहेको छ । 

सरकारमा पार्टी सहभागी बनेको यति लामो समय बितिसक्दा पनि आफ्नो भागमा परेको स्वास्थ्य मन्त्रालयमा कांग्रेसले किन मन्त्री नतोकेको हो ? उद्घोषले यो प्रश्न कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा र उपनेता हिमाल कार्कीलाई सोधेको छ ।

नेता थापाले एकदमै औपचारिक जवाफ मात्रै दिन रुचाए । ‘मन्त्रालय खाली छैन, भूपेन्द्रजीले मन्त्रालय चलाइरहनु भएको छ’, पूर्वमुख्यमन्त्री थापाले भने ‘अब बजेटपछि यसबारे केही निर्णय लिनुपर्ला ।’ उनले पार्टीभित्रको किचलो वा गुटगत लडाइ“का कारण मन्त्री तोक्न नसकिएको भन्ने कुरा अस्वीकार गरे । 

संसदीय दलका उपनेता हिमाल कार्कीले भने डा. शेखर कोइराला समूहले नाम दिन नसकेका कारण स्वास्थ्य मन्त्रालयमा मन्त्री तोक्न नसकिएको बताएका छन् । ‘स्वास्थ्य मन्त्रालय कार्यबोझ धेरै भएको मन्त्रालय हो, त्यहाँ मन्त्री अनिवार्य चाहिने हुन्छ’, पूर्वमन्त्री तथा उपनेता कार्कीले भने, ‘तर शेखर दाइको समूहले नाम  नदिएका कारण अहिलेसम्म मन्त्री नछानिएको हो ।’ 

कांग्रेस उदयपुरका सभापति एवं संस्थापन पक्षका नेता कार्कीले यसबारे अगाडि थपे ‘जसले जे भने पनि कांग्रेसमा भागबन्डाको राजनीति कायमै छ, सोहीअनुसार स्वास्थ्यमन्त्री शेखर दाइको टिमलाई परेको हो । अहिलेसम्म उहाँले नाम दिनुभएन । त्यहीभएर मन्त्री नछानिएको हो । तर, सधैं यस्तो जात्रा देखाएर हुँदैन । उहाँले नाम नदिए संसदीय दलबाटै भए पनि नाम दिएर मन्त्री बनाउनुपर्छ ।’ 

उपनेता कार्कीका अनुसार कांग्रेस कोशीको संसदीय दलमा शेखर समूहबाट मानबहादुर लिम्बूलाई स्वास्थ्यमन्त्री बनाउनुपर्ने कुरामा कसैको दुईमत छैन । उनले नाम नदिंदा मन्त्रालय लामो समयदेखि कामचलाउको भरमा चल्न बाध्य भएको हो । कांग्रेस कोशी सरकारमा जाने बेलामा कम्तीमा दुई मन्त्रालय दाबी गरेको शेखर कोइराला समूहले एउटा मन्त्रालय मात्रै पाउने भएपछि सुरुमा नाम दिएको थिएन ।

तर, यति लामो समयसम्म सो समूहले नाम नदिनुको कारण के हो भनेर पनि हामीले कांग्रेस नेताहरुलाई सोधेका छौं । दलका नेता उद्धव थापाले ‘शेखर दाइको कुनै दोष नभएको’ भन्दै पन्छिन खोज्दा उपनेता कार्कीले भने ‘म त्यो समूहको परिन, त्यसैले भित्री कुरा थाहा भएन’ भन्ने जवाफ दिए । कांग्रेस नेताहरु शेखर कोइरालाले नाम नदिनुको कारणबारे खुलेर केही बताउन चाहँदैनन् । तर, उनी निकट केही नेताहरुले भने उनी बाध्यतामा परेको बताउँछन् ।

‘शेखर दाइ पनि स्वास्थ्य मन्त्रालयमा मानबहादुर लिम्बूलाई अघि सार्ने पक्षमा हुनुहुन्थ्यो’, कांग्रेस स्रोतको भनाइ छ ‘तर, उहाँको टिमभित्र इन्दिरा थापालाई मन्त्री बनाउनुपर्छ भन्ने ठूलो दबाब छ । इन्दिरा थापा र मानबहादुर लिम्बूकै व्यवस्थापनका लागि दुईटा मन्त्रालय माग भएको थियो । तर, एउटा मात्रै मन्त्रालय पाउने अवस्था भएपछि शेखर कोइराला अनिर्णित बस्नुभएको हो ।’ 

नेता कोइराला यसरी अनिर्णयको बन्दी हुँदाको असर प्रदेशको स्वास्थ्य क्षेत्रमा परिरहेको छ । प्रदेशमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरुका अनुसार मन्त्री हुनु र नहुनुले कार्य सम्पादनमा ठूलो प्रभाव पार्ने हुन्छ । नीतिगत नेतृत्व गर्ने, नयाँ कार्यक्रम र योजनाहरु निर्माणदेखि जनशक्ति परिचालनसम्मका काममा मन्त्रीको प्रत्यक्ष निगरानी जरुरी हुन्छ । तर, कामचलाउ मन्त्रीका भरमा मन्त्रालयले अपेक्षाकृत काम गर्न नसक्ने उनीहरूको अनुभव छ । 

कोशी प्रदेशसभामा शेखर समूहबाट मन्त्रीको दाबी गर्नेहरुमा इलामका सांसद गोविन्द गिरी र उदयपुरका सांसद रामकुमार खत्री पनि छन् । यसरी आफ्नै गुटभित्रका आकांक्षीहरुको व्यवस्थापन नेता कोइरालाका लागि चुनौती बनेको कांग्रेस नेताहरूको भनाइ छ । शेखर पक्षका नेताहरू भने सुरुमा आफूहरूसँग कुनै सल्लाह नगरिएको, नाम नमागिएको बताइरहेका थिए । पछिल्लो समय आफ्नै गुटका नेताले गुटभित्रका आकांक्षीहरुलाई व्यवस्थापन नगरेपछि उनीहरु पनि यसबारे बोल्न छाडेका छन् ।

उपनेता कार्की अब यस्तो अवस्था सधैं नरहने बताउँछन् । ‘अब हुने संसदीय दलको बैठकमा मेरो मुख्य प्रस्ताव नै मन्त्रीको नाम तोकौं भन्ने हुनेछ’, उनले भने ‘यदि दल र नेताहरूले तोक्न नसक्ने हो भने नाम पनि मै दिउँला भनेर म बैठकमा कुरा राख्ने तयारीमा छु ।’

View : 187

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved