Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

चार वर्षे अनुभवले नेपाल प्रथम

उद्घोष सम्वाददाता
२१ फागुन २०८०, सोमवार

नेपाल च्याम्यिन सुप्रिम पन्त मेडलसहित । तस्वीर: उद्घोष

विराटनगर । आर्थिक अभावका बीच महँगो मानिने खेलमा चार वर्षको अनुभवले नै देशमै प्रथम बनाउँछ भन्ने उदाहरण विराटनगर–३ का १७ वर्षीय सुप्रिम पन्तको मेहनतले देखाएको छ । उनी १७ वर्ष मुनिका ब्याडमिन्टन खेलाडीमा नेपाल प्रथम भएका छन् ।

उनको आर्थिक अभावबाट सुरु भएको महँगो मानिने ब्याडमिन्टन खेलले दिएको सफलताले खुल्ला देश प्रथमतर्फ लैजानेमा खेलप्रेमी आशावादी छन् । शनिबार काठमाडौंमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लवबाट खेलेका उनी प्रथम भएका हुन् । फाइनलमा युनिग्लोव कलेजका सक्षम ढकाललाई उनले पराजित गरेका थिए ।

क्वाटर फाइनलमा सशस्त्र प्रहरी क्लवका अरुण अधिकारीलाई पन्तले पराजित गरेका थिए । पोखरिया उच्च मावि विराटनगर ३ बाट गत वर्ष एसईई उत्तीर्ण गरेर खेललाई ब्यवस्थित बनाउन राजधानी पुगेका उनी काडमाडौंका श्रमिक शान्ति उच्च माविमा ११ कक्षामा अध्ययनरत छन् । नेपाली सेनाको क्लवमार्फत खेल्न थालेका उनी इमाडोलस्थित क्लव सेभेनमा तालिमरत छन् ।

‘खेल सिकेको चार वर्षमा नेपाल प्रथम हुनु सामान्य कुरा हैन, ब्याडमिन्टन खेलमा धेरै ठुलो प्रतिस्पर्धा हुने भएकाले लामो अनुभव हुनेहरु पनि असफल हुने अवस्था छ’ पन्तका छिमेकी एवं खेलप्रेमी योगेन्द्र शर्माले भने । सुप्रिमका बाबु प्रेम पन्त वैदेशिक रोजगारीबाट फर्कने बित्तिकै २०७७ सालमामा उनको दुर्घटनामा खुट्टा भाँचियो ।

एक मात्र सन्तालको उज्वल भविश्यका लागि प्रेम  खाडी मुलुकमा कमाउन गएर फर्कने बित्तिकै मोटरसाइकल दुर्घटनामा परेपछि छोरालाई ब्याडमिन्टल खेल्न पठाउने निधो गरे । ‘वैशाखी टेकेर हिंड्थें, छोरालाई एक हजार रुपैयाँमा दुई वटा ब्याड किनिदिए’ प्रेमले भने– ‘आफू घाइते भएकाले खेलाउने कुरा भएन, उसकी आमा बिमलासँग खेल्न थाल्यो ।’

पन्तको घर नजिकै राजधानी युवा क्लवले कवर्डहल निर्माण गरेकाले आमाछोरा त्यही गएर अभ्यास गर्थे । बाबुको खुट्टा केही जाति हुन थालेपछि सुप्रिमको उज्वल भविश्यका लागि आमा बिमला पनि वैदेशिक रोजगारीमा खाडीतिर लागिन् । उनकी आमा अझै वैदेशिक रोजगारीमै छन् ।

‘गरिवको छोराले पनि यो ठाउँ पाउँदो रहेछ, मैले कल्पनासम्म गरेको थिइन’ प्रेमले भने–‘७ कक्षामा पढ्ने छोरालाई अल्मल्याउंन हजार रुपैंयाँमा ब्याड किनेर दिएको थिएँ ।’ सुप्रिमले कवर्डहलमा बुढीगंगा गाउँपालिकाका लोचन न्यौपानेबाट ब्याडमिन्टलको पहिलो शिक्षा पाएका थिए । त्यसपछि प्रशिक्षक उत्तम सिंखडाबाट एक महिने तालिम पाएका थिए ।

तालिमपछि छिमेकी अग्रज भन्दा राम्रो खेल्न थालेपछि उनी स्थानीय सबैसँग खेल्न सक्ने भएका थिए । यस बीचमा पुराना खेलाडी शशि चौधरीले सुप्रिमलाई खेलमा हौसला दिंदै अभ्यास गराई रहेका थिए । १५ वर्षे बालकको उत्कृष्ट खेल देखेपछि नेपाल ब्याडमिन्टन संघ मोरङका अध्यक्ष पुष्पधन शाक्यले सुप्रिमलाई काठमाडौ पठाउने निधो गरेका थिए ।

शाक्यको पहलमा काडमाडौंमा अध्ययन र अभ्यासको अवसर पाएका सुप्रिमलाई प्रशिक्षक वीरेन्द्र श्रेष्ठले दैनिक ५ घण्टासम्म प्रशिक्षण दिंदै आएका छन् । उनलाई आफन्त यज्ञप्रसाद सुवेदीले थप आवश्यक्ता पूरा गर्दै आएको बाबु प्रेमले बताए । सुप्रिमको उमेर पूरा हुँदासम्म खेलको अवस्था यथा स्थितमा रहे उनलाई नेपाली सेनाले खेलाडी बनाउने सम्भावना देखिएको छ ।

सुप्रिमको खेललाई नजिकबाट नियालेका राजधानी युवा क्लवका संरक्षक मणिराज ढकाल खेलसँगै पढाइलाई लैजानु पर्ने सुझाव दिन्छन् ।

नेपालमा खेलबाट मात्रै खेलाडीको जीवन सुरक्षित हुने अवस्था नरहेकाले खेलले शिक्षालाई असर गर्न नहुने उनी सुझाव दिन्छन् । ‘खेलाडीलाई परिवारसँगै समाजको पनि उत्तिकै सहयोग आवश्यक पर्छ, जसले गर्दा शिक्षामा असर नपरी खेलबाट समाज र देशको नाम राख्न सकुन्’ उनले भने ।

View : 1329

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved