‘यही मुखले खुवाउँछ ताली यही मुखले गाली, यही मुखले खान्छ दुध, भात, यही मुखले छाली’
मुख्यमन्त्री केदार कार्कीको बोलीलाई सम्भिएर मलाई यो पंक्ति फुरेको हो । अहिले मुख्यमन्त्रीको मुख अलिक शान्त देखिएको छ । सायद साजीलाल माध्यमिक विद्यालय सुन्दरपुर मोरबको एक कार्यक्रममा उनले बोलेको विषयलाई कर्मचारीहरूले उनलाई खुब गाली गरेपछि उनको मुखमा केही लगाम लागे जस्तो भएको छ । सो विषयलाई बढी उछाले भनेर सञ्चारकर्मीहरू माथि पनि उनी खनिए ।
उनको व्यक्तिगत स्वभावका बारेमा म केही भन्न चाहन्न । तर सार्वजनिक पद धारण गरेपछि सबैले संयमित हुनुपर्छ भन्ने सिक्नु पर्छ । फाल्तु कुरा बोलियो भने पक्कै पनि टीका टिप्पणी हुन्छ । हुनुपनि पर्छ । पदको गरिमालाई ख्याल राखेर बोलिएन भने बोलेको विषयलाई लिएर आलोचना हुन्छ र त्यसबाट केही सिक्नु पनि पर्छ । विद्यार्थी राजनीति गर्दा गरिने भाषण र मुख्यमन्त्री हुँदा गरिने भाषणमा पक्कै पनि अन्तर हुन्छ भन्ने ख्याल राखेर बोल्दा राम्रो ।
हुन त कोही बोलेरै चर्चामा आउन खोज्छन् । पञ्चायतकालमा एक जना पञ्च नेता थिए हेमबहादुर मल्ल । उनी धनुषा जिल्लामा निकै लोकप्रिय थिए र चुनावमा मत पनि त्यस्तै पाउँथे । सधैं चर्चामा आइरहन चाहने उनी । नाम हो, बद्नाम हो लेकिन गुमनाम न हो’ भन्ने गर्थे । उनी जस्तै चर्चामा आइरहन चाहनेहरू विवादास्पद कुरा बोलेर पनि चर्चामा आउन चाहन्छन् ।
पञ्चायती व्यवस्थाकै बेलामा शरदचन्द्र शाह नामका एक व्यक्ति थिए । साप्ताहिक विमर्श ग्रुपले उनलाई भूमिगत गिरोहको सदस्य भन्ने बिल्ला भिराइदिएको थियो । उनी ज्ञानेन्द्र शाह र धीरेन्द्र शाहका नजिकका व्यक्ति थिए । त्यसैले उनलाई भूमिगत गिरोहको सदस्यको विल्ला भिराइदिएको थियो । उनी सधैं चर्चामा आइरहन चाहन्थे । आफैंले आफ्ना विरूद्धमा लेख्न लगाएर पनि उनी चर्चामा आउँथे ।
त्यो बेला पदमभक्त खरेलको सम्पादनमा काठमाडौंबाट । चक्षु’ नामक एक साप्ताहिक पत्रिका प्रकाशित हुन्थ्यो । त्यो पत्रिकाको हरेक अंकमा शरदचन्द्र शाहको बारेमा केही न केही लेखेको हुन्थ्यो । भित्री कुरो बुझेकाहरूले भन्थे, शरदचन्द्रले पैसा दिएर चक्षुमा आयना विरूद्धमा लेख्न लगाउँछ ।
बहुदलीय व्यवस्था आइसकेपछि काठमाडौंको डिल्ली बजारस्थित उनको पैत्रिक घरमा ान्दोलनकारीहरूले आगो लगाइदिए । त्यो आगोबाट घरसँगै उनको बहुमूल्य सम्पत्ति डढेर नष्ट भयो । उनले देशै छाड्नु पर्ने अवस्था आयो । उनी सिंगापुर गएर उतै बसे । सिंगापुरमै उनको मृत्यु भयो ।
मैले यी प्रसंगहरूलाई किन कोट्याएको हो भने कोही चर्चामा आउनलाई बोल्छन् । कोही नजानेर बोल्छन् । ती दुईमध्ये हाम्रा मुख्यमन्त्री कुन कित्तामा पर्छन् ? पाठकहरूले नै छुट्याउनु होला । बढी बोल्ने मान्छेको आलोचना हुन्छ नै । मुख्यमन्त्रीज्यूले भने कुराको हेक्का राख्नु पर्यो ।
View : 165
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved