विराटनगर । नेकपा एमाले कोशी प्रदेश सभामा प्रमुख सचेतक विदुर लिंथेपले मुलुकमा राजतन्त्र फर्किन असम्भव रहेको बताएका छन् । उनले जनताको बलिदानीबाट संविधान लेखेर राजसंस्था हटाएका कारण यही संविधान भित्रबाट सबैले अधिकारको प्रयोग गर्नुपर्ने बताएका हुन् ।
गणतन्त्र दिवसको अवसरका बुधबार कोशी प्रदेश सभामा एमालेको तर्फबाट विशेष समय लिएर बोलेका प्रमुख सचेतक लिंथेपले अहिले कुनाकाप्चामा राजतन्त्रको गीत गाउन थालिएको टिप्पणी गरे ।
उनले गणतन्त्रमा गलत काम गर्नेलाई कानुनी दायरामा ल्याउने व्यवस्था रहेको तर कानुन बाहिरका गतिविधि गर्ने राजपरिवारका सदस्यहरूलाई कानुनी कठघरामा लैजाने व्यवस्था नभएको स्मरण गराए । तर, गणतन्त्रवादी दलहरूले पनि समयमै सच्चिनु पर्ने आवश्यकता भने रहेको उनले बताए ।
‘नेपालीको आन्दोलनले सदाका लागि राजसंस्था फ्यालेको छ, अव राजा फर्काउन सम्भव छैन । देश अघि बढिसक्यो’ प्रमुख सचेतक लिंथेपलले भने, ‘तर यो व्यवस्थाभित्र हामी पनि सच्चिनु पर्ने कुरा चैं राख्नैपर्छ, हामी सबै सार्वजनिक व्यक्तिहरु, निजामति राष्ट्रसेवक सच्चिनु आवश्यक छ, आफैं सच्चिंदै सच्याउँदै अघि बढ्नुको कुनै विकल्प छैन ।’
उनले राजाको नाममा ‘क्यारेक्टर’ का कारण पनि राजा आउने सम्भावना नरहेको बताए । विश्वका ठूला देशमा १९ औं शताब्दी अघि नै राजतन्त्र अन्त्य भएको उनले दाबी गरे ।
गणतान्त्रिक व्यवस्थामा गलत गर्नेलाई कानुनी दायरामा ल्याउने व्यवस्था गरिएकाले गणतन्त्र नै बलियो व्यवस्था भएको बताए । साथै पुरुषवादी सोच स्थापना भएको राजतन्त्रमा महिला राजाको भूमिकामा रहनै नसक्ने गरी परिकल्पना गरिएको बताए ।
लिंथेपले गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त गर्नुपर्ने, भूमिहीन सुकुम्बासी समस्या समाधान गर्नुपर्ने सुझाव दिए । यी काम संविधानभित्रै रहेर गर्नुपर्ने उनले बताए ।
View : 86
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved